News 24 Television
दुर्गम पालिकाको अस्पतालः सेवा–सुविधामा चकित पार्ने 

कैलाली । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा ३ सय ९६ वटा पालिकामा एकैपटक  ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने घोषणासहित भर्चुअल शिलान्यास गरेका थिए । तर आधारभूत अस्पतालको शिलान्यासको ५ वर्ष बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल सञ्चालनमा आउन सकेको छैन । 

केही पालिकाले त जग्गासमेत व्यवस्था गर्न सकेका छैनन् । केही पालिकामा भवन बने पनि अस्पताल सञ्चालनको सुरसार छैन । अधिकांश अस्पतालको काम अलपत्र छ । तर कैलालीको बर्दयोरियामा १५ शय्याको दोधरा अस्पताल सञ्चालनमा आएसंगै स्थानीयमा खुसी छाएको छ ।

नेपाल सरकारको एक स्थानीय तह, एक अस्पतालको नीति छ । सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दयोरियामा १५ शय्याको दोधारा अस्पताल सञ्चालनमा आएको छ । 

दुई जना एमबीबीएस चिकित्सकले ओपिडी सेवा दिदै आएका छन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिदै आएको छ । गाउँमै सस्तो सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि स्थानीयमा खुसी छाएको छ । 

न्युन आयस्रोत भएकाहरु बाहिर गएर उपचार गर्न नसकिने अवस्थामा घर नजिकै सस्तोमा उपचार पाउँदा सहज भएको स्थानीयको भनाई छ । अस्पतालको भौतिक निर्माणमा १८ करोड खर्च भएको हो । प्रयोगशालाका उपकरण लगाएतका सामाग्रीमा प्रदेश सरकारको सहयोगमा  २५ करोडसम्म अस्पतालमा खर्च भएको छ ।

छिमेकी घोडाघोडी र लम्की–चुहा नगरपालिका र चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको पूर्वी–दक्षिर्णी क्षेत्रका नागरिकलाई अस्पतालले स्वास्थ्य उपचार सेवा दिदै आएको छ । अस्पतालमा निःशुल्क औषधिको सुविधा रहेको छ । प्रयोगशाला परिक्षणका लागि मात्र न्यून शुल्क लिने गरिएको छ । अस्पतालमा प्रसूति सेवा तथा गर्भपतन सेवासमेत सञ्चालन गरिएको छ । औषधि बिक्री तथा फार्मेसी सेवासमेत अस्पतालमा छ । 

अस्पचालमा एक्सरे सेवा तथा भिडिओ एक्सरे सेवा समेत छ । बर्दगोरिया गाउँपालिकाको दोधारा अस्पतालबाट छिमेकी पालिकाका नागरिक समेत लाभान्वित भएका छन् । नेपालका ७ सय ५३ स्थानीय तहहरुमा पहिलो पटक बर्दगोरिया गाउँपालिकाले दोधरा अस्पताल सञ्चालन आएसगै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेको बर्दगोरीया गाउँपालिकाले जनाएको छ ।  

२४ सै घण्टा आकस्मिक सेवा दिदै आएको दोधरा अस्पतालले शल्यक्रिया सेवा समेत विस्तार गर्ने जनाएको छ । अस्पतालले आखाँ उपचार, निशुल्क रगत, स्वास्थ्य बीमाको कार्यक्रम, शव वहान, घरदेखी घाटसम्म लैजान र मृत्यु भएपछि हरेक नागरिकलाई दश हजार किरिया खर्च समेत दिने गरेको छ । गाउँपालिकाको आगामी योजना सेवा बिस्तार गरेर १५ बाट ५० शैयाको अस्पताल डाईलासिस, पित्तथैली, पत्थरी, एपेन्डिक्स जस्ता अप्रेशन र आइसियु समेत संचालनमा ल्याउने तयारीमा रहेको जनाएको छ । 

मेडिकल सुपरिटेन्डेन्ट किशोर कुमार अधिकारीले पछिल्लो समय दोधारा अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको बताए । अस्पतालमा अन्य आवश्यक सेवा सुविधा थप्न गाउँपालिका निरन्तर प्रयासरत रहेको उनको भनाई छ । 

चिकित्सकका अनुसार दोधारा अस्पतालमा नसर्ने रोगहरु प्रेसर, सुगर, कोल्डस्टोर, दम, निमोनिया, टिभी लगाएतका रोग भएका बिरामीहरु उपचारका लागि बढी आउने गरेका छन् । अस्पतालमा ४८ जनाको जनशक्ति रहेको छ भने निःशुल्क पोस्टमार्टम सेवा सुरु समेत गरिएको छ । साथै सर्पदंश उपचार सेवा, सिकलसेल एनिमिया रोगको समेत उपचार हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ शिलान्यास गरिएका ५३ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र अवस्थामा रहेको बेला कैलालीको बर्दगोरीयाले भने सुबिधा सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । अरु ठाउँमा भने जग्गा प्राप्तिमा ढिलाइ, ठेकेदारको लापर्बाही, बजेट अभाव लगायत विभिन्न कारणले अस्पताल निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको जनप्रतिनिधिले बताएका छन् । 


 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update