News 24 Television
ओलीको आन्दोलन हुंकार, महेशको सत्ता ढाल्ने चेतावनी !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । ओलीले आन्दोलन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदा बस्नेतले नयाँ वर्षसम्म सरकारलाई टिक्न दिन नहुने चेतावनी दिएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको गुम्दै गएको राजनीतिक प्रभाव पुनःस्थापित गर्न कार्यकर्तालाई आन्दोलन र निर्वाचन दुवै मोर्चामा तयार रहन निर्देशन दिएका छन् । पार्टीभित्रै संगठन कमजोर हुँदै गएको स्वीकार गर्दै उनले कार्यकर्ताको निष्ठा र एकतामाथि प्रश्न उठाएका छन् । 

अर्कोतर्फ आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको दाबी गर्दै उनले स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म पार्टीलाई केन्द्रित गर्न निर्देशन दिएका हुन् । 

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा अध्यक्ष ओलीले एमाले देशको सही विचार बोकेको, संगठित र उज्ज्वल भविष्य भएको पार्टीका रूपमा स्थापित हुनुपर्ने बताए । केन्द्रीय कमिटीले आन्दोलन र निर्वाचनलाई मुख्य कार्यभार बनाएको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनलाई सक्रिय बनाउन निर्देशन दिए । 

विशेषगरी बागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर रहेको स्वीकार गर्दै ओलीले त्यसलाई सुधार्नुपर्ने बताए । जनताले उम्मेदवारको पृष्ठभूमि, इतिहास, विचार र चरित्रको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको आरोप लगाउँदै उनले जनतालाई सचेत गराउने जिम्मेवारी कार्यकर्ताको भएको बताए । युवालाई पार्टीमा संगठित गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन हुने उनको तर्क थियो ।

यसैबीच ओलीले वर्तमान सरकारमाथि प्रहरी संगठनमा हस्तक्षेप गरेको र राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रहरी संगठन अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको ओलीको आरोप छ ।  कर्मचारी, उद्यमी र व्यवसायीसमेत सरकारको कार्यशैलीप्रति सन्तुष्ट नरहेको उनले दाबी गरे । आफूलाई सरकार बनेकै दिन पक्राउ गरेर प्रतिशोध साँधिएको आरोप लगाउँदै ओलीले गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको दाबी गरे । 

प्रहरी संगठनको सेवा, सुविधा, पोसाक र कार्यवातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेको उल्लेख गर्दै उनले अहिले प्रहरीको व्यवहार देखेर आश्चर्य लागेको बताए । यसैगरी उनले इनम सापकोटा प्रकरणलाई समेत जोड्दै उनको सम्बन्ध र भूमिकामाथि प्रश्न उठाए । इनम सापकोटालाई विभिन्न व्यक्तिको सम्पर्क, सम्बन्ध र कारोबारसँग जोडेर प्रचार गरिएको भन्दै ओलीले सरकारले नै उनलाई बिचौलियाका रूपमा प्रयोग गरेको आरोप लगाए । 

त्यसो त आगामी निर्वाचन एमालेका लागि प्रतिनिधिसभाको निर्वाचनभन्दा अनुकूल बन्दै गएको ओलीको दाबी छ । पार्टीभित्रको एकता अभावले निर्वाचनमा धक्का लागेको स्वीकार गर्दै ओलीले चुनावमा असहयोग गर्ने कार्यकर्तालाई वडा तहबाटै कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।

महेश बस्नेत पनि आक्रामक 

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताएका छन् । सरकारको आयु लामो नरहेको दाबी गर्दै सरकारविरुद्ध राजनीतिक आन्दोलन चर्काउनुपर्ने उनले बताए ।

आन्दोलनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गर्ने उनको भनाइ छ । सरकारले गरेका भनिएका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट जनतामाझ पु¥याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत उनले लगाए ।

बस्नेतले स्थानीय कमिटीलाई बलियो बनाउँदै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने गरी संगठन परिचालन गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update