News 24 Television
बाग्मतीमा फैलियो लम्पी स्किन संक्रमण, महामारीको डर

मकवानपुर । दुई वर्षअघि देशभर माहामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण यो वर्ष पनि विभिन्न स्थानहरुमा देखिन थालेको छ । क्याप्री पक्स भाइरसको संक्रमणबाट गाईभैंसीमा लाग्ने यो रोग दुईवर्ष पछि पुनः देखिन थालेको हो । यसको संक्रमण बागमती प्रदेशमा समेत देखिन थालेको छ । 

२०७७ सालको साउनमा मोरङमा पहिलो पटक देखिएको लम्पी स्किन रोग विस्तारै सबै जिल्लाहरुमा फैलियो । २०८० सालमा यसले महामारीकै रुप लियो । लम्पी स्किन रोगका कारण लाखौं गाईभैँसीको मरे । जसले गर्दा दूध उत्पादनमा पनि ह्रास आयो । माहामारीकै रुपमा लम्पी स्किन रोग फैलिएपछि तीनै तहका सरकारले यस रोग विरुद्धको खोप निर्यात गरेर लगाउन सुरु गरे ।  जसले यो रोग नियन्त्रणमा आएको थियो । 

अघिल्लो वर्ष लम्पी स्किनको संक्रमण पुष्टी भएको घटनाहरु धेरै नभएपनि २०८१ वैशाख यता बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा यो रोगको संक्रमण पुष्टि भएको तथ्यांक छ । जसमध्ये मकवानपुरका गाईभैंसीमा पनि यो रोगको संक्रमण पुष्टि भएको पाइएको छ । मकवानपुरमा हालसम्मको अवधिमा ४ सय १३ गाईभैंसीमा लम्पी स्किन संक्रमण भएको पाइएको छ भने सोही अवधिमा ३४ पशुधनको क्षति भएको छ । 

दुईवर्ष अघि लम्पी स्किन रोगको माहामारी खेपेर लाखौं घाटा व्यहोरेका दूग्ध उत्पादक किसानहरु फेरि यसको संक्रमण देखिन थालेपछि चिन्तित छन् । 

त्यसोत, १० स्थानीय तह रहेको मकवानपुरमा हालसम्मको अवधिमा हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै २ सय ५३ गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण भएको र २७ गाईभैंसीको मृत्यु भएको तथ्यांक छ । जिल्लामा सबैभन्दा पहिला हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा नै लम्पीको संक्रमण देखिएको थियो । 

यसरी केही समय अघि महामारीको रुप लिएको लम्पी स्किन रोगको संक्रमण देखिन थालेपछि स्थानीय तहका सरोकारवाला निकायहरु थप जिम्मेवार बनेर यसको नियन्त्रणमा जुटेका छन् । 

हेटौंडा उपमहानगरपालिका सहित जिल्लाको मनहरी, बकैया, मकवानपुरगढी र बागमती गाउँपालिकामा समेत यस रोगको संक्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ । 

त्यसोत, पछिल्लो समय मकवानपुरमा मात्रै होइन, बागमती प्रदेशका चितवन, काठमाडौं, काभ्रे लगायतका जिल्लाहरुमा पनि लम्पी स्किनको संक्रमण पुष्टि भएको छ । बाच्छाबाच्छी तथा पाडापाडी जन्मिएको तीन महिना पूरा नभएसम्म यो खोप लगाउन नहुने पशु चिकित्सकहरु बताउँछन् । जसका कारण सो अवधिमा छुटेका पशुहरुमा लम्पीको संक्रमण भएको आंकलन गरिएको छ । 

२०८० सालमा बागमती प्रदेशमा मात्रै २ लाख ६० हजार गाईभैंसी संक्रमित भएका थिए । जसमा १२ हजार बढीको मृत्यु भएको थियो । लम्पी स्किन रोग विशेष गरी गाई, गोरु, राँगा, भैंसी, पाडापाडी, बाच्छबाच्छीमा लाग्छ । पशु चिकित्सकहरुका अनुसार यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु बढी प्रभावित हुने गरेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update