News 24 Television
टप ५ गुण्डा नाइके, डनगिरी र राजनीतिको अन्तरसम्बन्ध, नेता बन्ने दौडमा डनहरु

काठमाडौं । मुलुक गणतन्त्रमा प्रवेश गरेको झण्डै दुई दशक पुग्न लाग्दा पनि नेपालमा ‘गुण्डा राज’ को उपस्थिती हटेको छैन केवल रूप बदलिएको छ । जहाँ पहिले गुण्डाहरू प्रत्यक्ष सडकमा खुकुरी बोकेर आतंक मच्चाउँथे आज उनीहरू सूट–बुटमा राजनीतिक दलहरूका कार्यक्रममा उपस्थित हुन्छन् । अझ कति त स्थानीय तह वा प्रदेश सरकारसम्म पुगिसकेका छन् । 

राजधानी काठमाडौंलगायतका मुख्य सहरहरूमा पछिल्लो समय फेरि गुण्डा संस्कृति मौलाउन थालेको देखिन्छ । ‘चक्रे मिलन’ को जन्मोत्सवका क्रममा भएको पक्राउ ले यो प्रवृत्ति फेरि सतहमा ल्याएको छ । तर यो त सतहको झल्को मात्र हो । भित्री तहमा झाँक्दा अपराध र राजनीतिबीचको साँठगाँठ अझै पनि बलियो छ । 

केही दशकअघिसम्म काठमाडौँमा ‘गुण्डा राज’ एउटा अलग शासन जस्तै थियो । राजधानीमै अर्कै सत्ता संचालन झैं गर्ने यी डनहरूलाई देख्दा, भेट्नु त परको कुरा नाम सुन्नासाथ पनि सर्वसाधारण थर्कमान हुन्थे । 

सरकारको छायाँ जस्तो देखिने यस्ता समुहले राजधानीमा आफ्नो कानुन र शैलीमा राज्य चलाउँथे जुन भयरहित समाज र कानूनको शासनको पूर्णतः विपरीत थियो । त्यो बेलाका गुण्डाहरू उद्योगी, व्यवसायी, सर्वसाधारणदेखि प्रहरी–प्रशासनसम्मलाई आफ्नो वरिपरि नचाउँथे ।

कसैले उनको स्वार्थ प्रतिकूल बोले वा हिँडचाल गरे खुकुरी हान्नेदेखि ज्यान लिने सम्मका कार्य उनीहरूको लागि सामान्य हुन्थे । किनभने उनीहरूको पछाडि राज्यसत्ताकै संरक्षण थियो । कहिले राजतन्त्रको छायाँमा त कहिले राजनीतिक दलहरूको आडमा, गुण्डाहरुले आफ्नै किशिमको साम्राज्य चलाइरहे । 

गुण्डाहरू मौलाउने पछाडिको मूल कारण हो – राजनीति र अपराधबीचको गहिरिँदो गठजोड । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख दलहरूको संरक्षणमा केही गुण्डाहरू कानुनभन्दा माथि ठानिए । उनीहरूलाई कारबाही गर्न खोज्दा सम्बन्धित नेताबाट दबाब आउँछ भन्ने गुनासो प्रहरी वृत्तमै नसुनिएका होइनन् । 

नेपालमा इन्काउन्टरको सुरुवातको खास इतिहास छैन ।  २०३० सालतिर तराईतिर अत्याधिक डकैती हुन्थ्यो । यसैताका रुपन्देहीको मर्चवारमा स्थानीय डाकाहरुको साम्राज्य तोड्न प्रहरीले विशेष अभियान थालेको थियो । सोही क्रममा प्रहरी इन्काउन्टरमा ११ जना डाका मारिएपछि मर्चवारकाा स्थानीयले राहत महशुष गरेका थिए । 

यसरी शुरु भएको प्रहरी इन्काउन्टरपछि पछि राजनीतिक दबाबका कारण सेलाउँदा फेरि गुण्डाराज मौलाएको थियो । तर गुण्डा नाइके ‘चरी’ (दिनेश अधिकारी) र ‘घैँटे’ (कुमार श्रेष्ठ) को प्रहरी इन्काउन्टरपछि केही समय राजधानीमा डनहरूको त्रास कम भएको थियो । तर, त्यो त्रास कति दिगो रह्यो भन्ने प्रश्न फेरि उठ्न थालेको छ । किनभने पछिल्लो समय गुण्डाहरू फेरि निर्भिक रुपमा सक्रिय हुन थालेका छन् । जसको पछिल्लो उदाहरण हुन्, मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ ।

चक्रे मिलनको ‘शक्ति प्रदर्शन’ 

हालै चक्रे मिलनको जन्मदिन मनाउने शैलीले राजधानीलाई फेरि झस्कायो । महाराजगञ्जस्थित साम्बाला होटलमा आयोजित जन्मोत्सवमा देखिएको ‘गाडीको लावालस्कर’, भिडभाड, टिकटकमा सार्वजनिक दृश्यहरूले राजधानीमा गुण्डा संस्कृतिको पुनरागमनको संकेत दिएको छ । रातको १ बजे चक्रे मिलनसहित ४७ जना पक्राउ परे । 

उनीहरूकै गाडीहरूको भिड भक्तपुरमा सडक छेकेको भिडियोको आधारमा प्रहरीले निगरानी राखी अपरेसन अघि बढाएको थियो । पक्राउ परेकाहरूको साथबाट खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे जस्ता हतियारहरू समेत बरामद गरिएको छ । 

प्रहरीका अनुसार बिहानै पशुपतिनाथ मन्दिरमा पैसा बाँडेका चक्रे मिलन साँझमा ठमेलस्थित एलओडी क्लब जाने तयारीमा रहेका थिए । ठमेललाई अर्का गुण्डा दीपक मनाङेको प्रभाव क्षेत्र मानिन्छ । दुई डन समूहबीच मुठभेडको सम्भावनासमेत बढेको थियो । चक्रे मिलनको समूहले लगातार डर त्रास, अवैध असुली र सार्वजनिक शान्ति भंग गर्ने कार्य गर्दै आएको थियो । 

जनगुनासो बढ्दै गएपछि प्रहरीले यो अपरेसन अघि बढाएको हो । पक्राउ परेकाहरूको आपराधिक रेकर्ड खोतलिँदैछ र त्यही आधारमा थप कारबाही अघि बढाइने तयारी गरिएको छ ।

पहिले हेरौं मिलन गुरुङ उर्फ ‘चक्रेमिलन’ को ट्र्याक रेकर्ड :

मिलन गुरुङ, जो ’चक्रे मिलन’ नामले चिनिन्छन्, केवल राजधानीको एक कुख्यात डन मात्र होइनन्, उनी नेपाली राजनीतिमा समेत प्रवेश गर्ने प्रयास गरिसकेका व्यक्ति हुन् । 

नेकपा (एमाले) निकट मानिने चक्रे मिलनको आपराधिक पृष्ठभूमि लामो, जटिल र गम्भीर छ । २०७९ सालमा नेकपा एमालेको प्रदेश कमिटीले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उनको नाम सिफारिस गरेको थियो । 

– सन् २०१३ मा सरकारले उनलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याएको थियो ।

– पछि, विशेष अदालतले सन् २०१८ मा ‘प्रमाण अपर्याप्त’ भएको भन्दै उनलाई दोषमुक्त गरे पनि सरकार उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै मुद्दा दायर गरेको थियो ।  उक्त मुद्दा हालसम्म पनि विचाराधीन छ ।

– २०६१ साल वैशाखमा काठमाडौंको एक रेस्टुरेन्टमा चक्रे मिलनमाथि दीपक मनाङे समूहले खुकुरी प्रहार गरेको थियो । 

– उनको बायाँ हातनै छिनेको थियो । यो घटना ‘गुण्डा–गुण्डाबीचको प्रतिशोध’ को ठूलो उद्धाहरण मानिन्छ । 

– चक्रे मिलनको नाम काठमाडौंको ठमेल क्षेत्रमा सञ्चालन हुने होटल, रेष्टुरेन्ट र म्यानपावर कम्पनीहरूमा अवैध प्रभाव जमाउने, ‘हप्ता असुली’ गर्ने, तथा संगठित समूहमार्फत जनसुरक्षामा चुनौती दिने क्रियाकलापसँग जोडिएको छ ।

– सार्वजनिक राजनीतिक कार्यक्रममा सहभागी भएका थिए, जहाँ उनका सहयोगीमध्ये एक जना ‘एके–४७’ शैलीको हतियार बोकेका देखिएको भिडियो पनि भाइरल भएको थियो । 

– यसले राजनीतिक गतिविधिमा समेत आपराधिक शक्ति प्रदर्शन हुँदै आएको स्पष्ट पारेको छ । 

राजनीतिक छायाँमा फस्टाएको गुण्डा नेटवर्क ः कसलाई कुन दलको संरक्षण ?

२०६२\६३ को जनआन्दोलनपछि देशले गणतान्त्रिक संरचना त अंगालेको थियो, तर राजधानी काठमाडौंमा गुण्डा संस्कृतिको रूप परिवर्तन मात्र भयो, अन्त्य भने भएन । 

आन्दोलनपछिको संक्रमणकालीन समयमै राजधानीका विभिन्न क्षेत्रहरूमा आ–आफ्नै साम्राज्य चलाउने गुण्डा नाइकेहरू उदाए । जसलाई राजनीतिक संरक्षणको ‘छाता’ले अझ सबल बनायो ।

क्षेत्रगत प्रभुत्व र नाइकेहरूको उदयः

– महाराजगञ्जमा चक्रे मिलन (एमाले निकट)

– ठमेलमा दीपक मनाङे (पूर्व एमाले, पछि स्वतन्त्र)

– चाबहिलमा राजु गोर्खाली (राजनीतिक आडमा निर्भिक)

यी क्षेत्रीय नाइकेहरू पछि गणेश लामा, दावा लामा जस्ता अन्य शक्तिशाली ‘फिगर’हरूसँग जोडिए जसले उपत्यकामा संगठित गुण्डा सञ्जाल विस्तार गरे । 

गुण्डा नाइकेहरू केवल ग्याङ फाइट र अपराधमा मात्रै सीमित भएनन् । उनीहरू क्रमशः राजनीतिक संरक्षणको छायाँमा ढलिँदै सत्ता–सरोकारका हिस्सा बन्न थाले ।

चक्रे मिलन : नेकपा (एमाले) निकट मानिन्छन् । २०७९ मा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीबाट नाम सिफारिस समेत भएको थियो । उनीमाथि अवैध सम्पत्ति आर्जन, संगठित अपराध, शान्ति भंग तथा आक्रमण प्रयासका मुद्दाहरू छन् ।

दीपक मनाङे : एमाले निकट रहँदै राजनीतिमा प्रवेश गरेका मनाङे राजीव गुरुङ गण्डकी प्रदेशसभा सदस्य बने र मन्त्रीसम्म बनन पुगे । तर, २०६१ मा चक्रे मिलनमाथि तरवार प्रहार गरेको मुद्दामा २०८१ कात्तिकमा सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि अहिले डिल्लीबजार कारागारमा बन्दी छन् ।

गणेश लामा : सत्तारुढ नेपाली कांग्रेससँग निकटता राख्ने लामा अहिले पनि खुला राजनीतिमा सक्रिय छन् । विगतमा उनीमाथि आपराधिक संलग्नता र संगठित आपराधिक गिरोहमा आवद्धताको आरोप लाग्दै आएको थियो ।

दावा लामा : २०७५ सालसम्म प्रहरीको खोजी सूचिमा रहेका दावा लामा अहिले काभ्रेको भुम्लु गाउँपालिकाका उपाध्यक्ष छन् । 

अवैध चन्दा उठाउनेदेखि ठेक्कामा दबदबा जमाउनेसम्म, म्यानपावर, होटल, रेस्टुरेन्ट, निर्माण र रियल इस्टेटजस्ता आकर्षक तर अपारदर्शी क्षेत्रहरूमा कालो धनको लगानी गर्ने  यी सबै क्रियाकलाप गुण्डा नाइकेहरूको ’करियर प्लान’ जस्तै बनेको छ ।

 उनीहरू कानूनको घेराबाट उम्किन राजनीतिक शक्तिहरूको आड लिन्छन् र आफ्नो ’डन’ छविलाई पखाल्न समाजसेवा, व्यवसाय वा राजनीतिमा वैध पहिचान खोज्छन् । पैसा, प्रभुत्व र प्रतिष्ठाको यो त्रिकोणमै उनीहरूको ध्यान केन्द्रित हुने गरेको छ ।

top-5-1754104085.JPGजो इन्काउन्टरमा मारिए...

दिनेश अधिकारी ‘चरी’

रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर असफल भएपछि गुन्डा नाइकेहरूलाई राजनीतिक संरक्षण दिने नेतृत्वलाई कडा सन्देश दिन चाहेको प्रहरी नेतृत्वले दोस्रो चरणमा योजना बनाइसकेको थियो । त्यसै क्रममा ‘हाइ–प्रोफाइल’ टार्गेटमध्ये एक थिए दिनेश अधिकारी उर्फ ‘चरी’ ।

– २०७१ साल साउन २१ गते, एसएसपी पुष्कर कार्कीको नेतृत्वमा रहेको अपराध महाशाखाले चरीलाई काठमाडौं र धादिङको सिमानामा पर्ने भीमढुङ्गामा इन्काउन्टर ग¥यो । 

– मोटरसाइकलमा सवार चरीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी कारबाही प्रहरीको दाबी छ । 

कुमार श्रेष्ठ ‘घैँटे’

चरीको इन्काउन्टरसम्म प्रहरीको उद्देश्य प्रवृत्तिविरुद्ध सन्देश दिनु थियो । तर, घैँटेको इन्काउन्टरपछि प्रहरीले ‘पात्र’लाई नै टार्गेट गर्न थाल्यो ।

– चरीलाई एमाले नेताहरूले संरक्षण गरेका थिए भने, ब्यालेन्स गर्न कांग्रेसको संरक्षणमा रहेका कुमार श्रेष्ठ ‘घैँटे’लाई टार्गेट बनाइयो ।

– २०७२ भदौ ३ गते कपुरधारामा घैँटेमाथि ८ राउन्ड गोली प्रहार गरियो, उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको भनियो ।

– घैँटेले एक महिना अघि नै राष्ट्रिय मानव अधिकार आयोगमा हत्या षड्यन्त्रको उजुरी दिएका थिए  । 

– स्कुलबाट छोरी छोडेर फर्कंदै गरेका बेला गोली प्रहार गरियो ।

प्रवीण खत्री इन्काउन्टर 

घैँटेको इन्काउन्टरपछि प्रहरीको निशानामा अब राजनीतिक संरक्षण प्राप्त ‘हाइ–प्रोफाइल’ गुन्डामात्र होइन सामान्य तहका अपराधीहरू पनि पर्न थाले ।

– २०७४ साउन २३मा ललितपुरको कुसुन्तीमा प्रवीण खत्रीको इन्काउन्टर ।

– प्रहरीले खत्रीलाई लागू औषध कारोबारीको रूपमा चित्रित ग¥यो । तर उनी वास्तवमा शुरूमा सेवनकर्ता मात्रै थिए, पछि ललितपुरमा सानोतिनो कारोबारमा लागेका थिए ।

– अपराध अनुसन्धान शाखाका प्रमुख दिनेश अमात्यको नेतृत्वमा प्रहरीले खत्रीले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

– प्रत्यक्षदर्शी कोही नभएकाले घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

मनोज पुनको इन्काउन्टर 

– २०७४ असोज २३ गते निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको काठमाडौंमै गोली हानी हत्या गरियो ।

– घटनापछि केही दिनमै मनोज पुनलाई हत्या योजनाको मुख्य सूत्रधारको रूपमा प्रहरीले चिनायो ।
– पुन प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परे ।

– सोही वर्ष फागुनको एक बिहान, रुपन्देहीमा पुनको प्रहरीसँग ‘मुठभेडमा मृत्यु’ भएको सार्वजनिक गरियो ।

– १२ गोली पुनको शरीरमा लागेको थियो, अधिकांश कम्मरभन्दा माथि, विशेष गरी दाहिने छातीमा केन्द्रित थिए ।

कानुनको कमजोरी र दबाबमा परेको प्रहरी प्रणाली

नेपालमा संगठित अपराध र अपराधीहरूको पुनरागमन सामान्य संयोग होइन, यो राज्य संयन्त्रको कमजोरी, कानुनी अपारदर्शिता र राजनीतिक संलग्नताको मिलिजुली उपज हो । 

इन्काउन्टरहरूलाई ‘न्यायको विकल्प’ बनाएर अपराध नियन्त्रण गर्ने शैली तत्कालीन अवस्थाको प्रतिक्रिया त हुन सक्छ, तर यो दीर्घकालीन समाधान नभएको सावित भैसकेको छ । 

अपराधीहरू राजनैतिक शक्ति र पहुँचको बलमा खुलेआम घुमिरहेका छन् भने प्रहरी संगठन स्वयं निर्णायक कारबाही गर्न अप्ठ्यारो महसुस गरिरहेको छ । राजनीतिक दलहरूको संरक्षणमा फस्टाएको गुण्डा संस्कृति अहिले पनि जीवित छ । 

चक्रे मिलनको जन्मदिनलाई लिएर देखिएको दृश्य केवल एउटा उदाहरण हो । यस्ता थुप्रै समूह अझै पनि ‘अदृश्य’ रुपमा सक्रिय छन् । अफूलाइ डन भन्नेहरुलाई कानुनी दायरामा ल्याएर दण्डित गर्ने कि फेरि आँखा चिम्लेर अर्को संकटको बीउ बिछ्याउने ? यो राज्यको जिम्मेबारी हो ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update