
काठमाडौं । तीन वर्षको वारेन्टीसहित विभिन्न सुविधा दिने भन्दै बेचिएका फोर्स गाडीले व्यवसायीको बिल्लीबाठ पारेको भन्दै आवाज उठेको छ । व्यवसायीले पत्रकार सम्मेलन नै गरेर यस्तो आरोप लगाउदै गर्दा फोर्स गाडी नेपालमा कसले भित्र्यायो र कसले यसको बिक्री वितरण गर्दैछ, यसको समेत खोजी भइरहेको छ । तर, फोर्स गाडीका लागि नेपालको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल नाडाका पूर्वअध्यक्ष ध्रुब थापाको रहेको भएपनि किन व्यवसायीले दुख झेल्ने स्थिति आइलाग्यो ? के व्यवसायीले भनेजस्तै स्थिति आइलागेको हो ?
व्यवसायको सपना देखेर फोर्स गाडी किनेका व्यवसायीहरु तनावमा पर्ने स्थिति बनेको छ । तीन वर्षको वारेन्टीसहित अनेक सेवा सुविधादेखि मर्मत सम्हारको समेत अपेक्षा गरेका व्वयसायीहरु फोर्स गाडी धनीहरु बिल्लीबाठमा परे ।
सवारी साधनमा समस्या देखिनु सामान्य हो । मेसिनरी वस्तुमा समस्या देखिन सक्छ । तर, आधिकारिक बिक्रेताले लिने जिम्मेवारी कस्तो हुने ? सेवा सुविधा कसरी दिने ? व्वयसायीक धर्म के हुने जस्ता कुराहरु भुल्दा व्यवसायीहरु पत्रकार सम्मेलन गर्ने स्थितिमा आइपुगे । यी आवाज तीनै प्रतिनिधि पात्रहरुका हुन् ।
आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता हो । आधिकारिक बिक्रेताको अर्थ हो, यो कम्पनीले उत्पादन गर्ने सवारीको खरिदबिक्रीको अधिकार लिनु र त्यसका अनेक समस्यासंग जुध्दै व्यवसाय गर्नु ।
नेपालमा धेरै किसिमका सवारी साधान आयात गरिन्छन् । जसमा आधिकारिक बिक्रेताले नै यसको मर्मतसम्हारदेखि वारेन्टी लगायतका सुविधा प्रदान गर्ने गर्छन् । तर, शक्तिशाली व्यक्तिको कम्पनीले व्यवसायी अर्थात ग्राहकको ढाड सेकेको यो घटनाले फोर्स गाडी नै नेपालमा बद्नामित बन्ने बाटोमा देखिन्छ ।
पीडा दिने आरोप लाग्ने कम्पनी र मालिक को ?
आयाम इन्टरकन्टिनेन्टल प्रालिका मालिक हुन्, ध्रुब थापा । थापा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष हुन् । थापा नेपालको अटो क्षेत्रलाई नै नेतृत्व गरिसकेका व्यक्ति पनि भएकाले व्यवसायीले विश्वास गर्ने कुरा सामान्य नै हुने भयो ।
थापा नेपालको अटो क्षेत्र कहलिएकै कारण नाडाको नेतृत्वमा पुगे भन्ने विश्वास जो कोहिले गर्न सक्छ । तर, थापाको यो कम्पनीले भने र सोचेजस्तो व्यवहार भने गर्न सकेन् । व्वयसायीहरुले लगाएका यस्ता आरोपको चर्को खण्डन गर्दै आएका थापाले आफूलाई प्रमाणित गर्न सक्ने स्थिति भने देखिन्न । तर, थापाले भनिरहेका छन्, बाटोका कारण गाडी बिग्रिएको हो । मेसिनरी सामानमा गुणस्तरको विषय भन्न नसकिने भनिरहेका छन् ।
थापाले दाबी आफ्नै किसिमले गरेपनि व्यवसायीहरु उपभोक्ता अदालत पुगिसकेका छन् । अदालतले के निर्णय गर्छ, त्यो अदालतकै विषय रह्यो तर, फोर्स गाडीका कारण विल्लीबाठमा परेका व्यवसायीहरु भने न्यायका निम्ति संघर्षमा होमिएका छन् ।
व्यवसायीका पीडा कस्ता छन् ?
गामा गाडी किनेका महेश तामाङका अनुसार फोर ह्वील गाडीमा एक महिनामै इन्जिन सिज हुने समस्या देखियो । यो बाहेक फोर ह्वील र टु ह्वील दुवै गाडीको जति मर्मत गर्दा पनि पटक पटक गुड्दागुड्दै टायर फुत्किने अर्को डरलाग्दो समस्या थियो । टायर फुत्किने भएकै कारण देवान राईको गाडी खोटाङको कदुवामा गाडी भित्तामा ठोक्कियो अनि १३ यात्रु घाइते भए । हरिबहादुर राईको गाडी सिन्धुलीको सुलिभञ्ज्याङमा टायर फुत्किँदा १३ जना घाइते भए ।
जिवा श्रेष्ठको गाडीको पनि सिन्धुलीमै टायर फुत्किएर सुनकोशीमा खस्यो, भाग्यले गाडी भित्तामा अड्कियो तर १३ जना यात्रु घाइते भए । यस्ता धेरै घटनाहरु भएको र नेपाल भरीका फोर्सका गामा र क्रुज गाडी किनेका व्यवसायीहरुले यो समस्या भोगेको तामाङको दाबी छ । गाडीका पार्टपुर्जाहरू छिटो बिग्रने मात्र होइन, बजारमा अन्य कम्पनीको तुलनामा अत्याधिक महँगो पनि भएकाले गाडी मर्मतमा नै धेरै खर्च गर्नु पर्ने अवस्था रहेको गुनासो छ ।
गाडीले धोका दिन थालेपछि आम्दानी गुम्यो, बैंकको किस्तादेखि सास्ती भने कहिल्यै घटेन । व्यवसायीले मार व्यहोरिरहे ।
के भन्छन् व्यवसायी ?
कम्पनीको ग्यारेजमा थन्किएका गाडीको सम्पूर्ण हरहिसाब गरी आजसम्मको बैंकको साँवा–ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउनु पर्नेमा पीडित व्यवसायीको माग छ ।
फोर्स कम्पनीका गाडी खरिद गरी पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीहरूको पहिचान गरी व्यवसायीले भोगेको आर्थिक तथा मानसिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति प्रदान गर्न, कम्पनीले आफ्ना कमसल गाडीहरूमा देखिएको प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको उचित व्यवस्थापन गर्न र यातायात व्यवस्था विभाग, वाणिज्य विभाग, र उपभोक्ता हित संरक्षण मञ्चले यस विषयमा गम्भीर छानबिन गरी दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।
व्यवसायीले कसरी खाए धोका ?
आयाम इन्टरकन्टिनेन्टलले बिक्री गरेको फोर्स कम्पनीको गाडीहरूमा देखिएका समस्याहरू सबैका प्रायः एकै किसिमका छन् । गाडीको गुणस्तरमा गम्भीर त्रुटि भएका कारण यस्तो समस्या आएको व्यवसायीको आरोप छ । गाडीमा समस्या आइसकेपछि कम्पनीले बाँकी गाडीहरु बेच्न नहुने उनीहरु गुनासो गर्छन् । तर कम्पनीले गाडीमा समस्या छ भन्ने जान्दाजान्दै पनि झुक्याएर गाडी बेचेको उनीहरुको आरोप छ ।