
काठमाडौं । काठमाडौं विमानस्थल परिसर सोमबार शोकमय बन्यो । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी दुई वर्ष १३ दिनपछि नेपाल आइपुगे, तर, शव बनेर । विपिनलाई प्रतिक्षा गरिरहेका नेपालीहरुले उनको शव देख्नु पर्दा परिस्थिति दुखद् बन्यो । विपिनको शवलाई सोमबार नै कञ्चनपुर पु¥याइएको छ ।
विपिन जोशी, जसलाई स्वागत गर्न नेपालीहरुले दुई वर्षदेखि कुरिरहेका थिए, अन्तत उनी शव बनेर फर्किए । फ्लाइ दुबईको विमानबाट ल्याइएको विपिनको पार्थिव शरीरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक वाहिनी परिसरमा आयोजित ‘शोक सभा’मा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरिन् ।
दुई वर्षअघि कृषिशास्त्रको भविष्य लिएर इजरायल पुगेका विपिन राष्ट्रिय झण्डामुनि सपनासँगै तर निःशब्द फर्किएको दृष्यले सबैलाई नमिठो क्षण देखायो ।
विपिनप्रति श्रद्धाञ्जलि अर्पण गर्न मन्त्रीहरू, उच्च पदस्थ सरकारी अधिकारी, सैनिक प्रतिनिधि तथा मृतकका आफन्तजन पनि उपस्थित थिए । प्रधानमन्त्री कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पणसँगै शोकसंतप्त परिवारजनमा समवेदना जनाइन् ।
अध्ययनबाट बन्धक
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायमा अध्ययनरत थिए । उनी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए ।
विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा प्रायोगिक अध्ययनका लागि पुगेका थिए । तर, इजरायल पुगेको तीन हप्तामै उनी सम्पर्कविहीन भए । सो आक्रमणमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु, ४ जना घाइते र २ जना मात्र सकुशल रहेका थिए ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाट प्रक्रियामा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक परीक्षणपछि शव विपिनकै भएको पुष्टि भएको थियो । नेपाल ल्याउनुअघि तेल अवीवस्थित खटिभा ८ स्मारक र बेन गुरिओन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
के भएको थियो त्यो दिन ?
सन् २०२३ अक्टोबर ७ मा हमासले गाजाबाट इजरायलतर्फ अकल्पनीय आक्रमण ग¥यो । दक्षिणी इजरायलका किबुत्ज क्षेत्रहरूमा भएका ती आक्रमणहरूमा हजारौँ सर्वसाधारण मारिए। त्यसै क्रममा एक कृषि फार्ममा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि फँसे । इजरायली सेनाले घटनापछि तत्कालै उद्धार अभियान चलाएको थियो । तर विपिन जोशीको कुनै अत्ता–पत्ता लागेन । लामो समयसम्म उनी जीवित छन् वा मृत, भन्ने अन्योल रह्यो । अन्ततः असोज २७ मा इजरायली अधिकारीहरूले उनको मृत्युको पुष्टि गरे । फरेन्सिक रिपोर्टका अनुसार विपिनको अपहरण भएपछि तुरुन्तै मृत्यु भएको थियो ।
कूटनीतिक असफलता
विपिन जोशीको मृत्यु केवल व्यक्तिगत क्षति होइन नेपालको कूटनीतिक असफलतामाको परिणाम पनि हो । हमासद्वारा बन्धक बनाइएका आफ्ना नागरिकहरूलाई उद्धार गर्न नेपालले प्रारम्भिक चरणमै ठोस र संगठित प्रयास गर्न सकेन ।
तत्कालीन प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र परराष्ट्रमन्त्रीले छुट्टा–छुट्टै रूपमा अन्तर्राष्ट्रिय निकाय र मित्र राष्ट्रहरूलाई सहयोगको गुहार गरे पनि ती प्रयासहरू असंलग्न, ढिला र असंगठित देखिए । नेपालले कतार, इरान र टर्कीमार्फत पहल गरेको भए पनि ती देशहरूसँग नेपालको कूटनीतिक सम्बन्ध कमजोर भएकाले परिणामदायी प्रगति हुन सकेन ।
कूटनीतिक विश्लेषकहरूका अनुसार नेपालको परराष्ट्र नीति सदैव प्रतिक्रियात्मक रहँदै आएको छ । संकट आउँदा मात्र सक्रिय हुने प्रवृत्तिका कारण नागरिक सुरक्षामा सरकार असफल देखिन्छ ।
कसको जिम्मेवारी ?
विदेशी भूमिमा आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न राज्य नै जिम्मेवार हुन्छ । तर विपिन जोशीको केसमा राज्यको उपस्थिति केवल बयान र प्रतीकात्मक भेटघाटसम्म सीमित रह्यो । विपिनका परिवारजनले लामो समयसम्म सरकारसँग निरन्तर अपिल गरे । तर सरकारी संयन्त्रले कूटनीतिक नक्सामा ठोस कदम चाल्न सकेन । आज विपिनको शव फर्किएको छ । तर, त्योसँगै फर्किएको छ राष्ट्रको मौन कूटनीतिक कमजोरी ।
पहिले मध्यपूर्वका युद्ध क्षेत्रमा रहेका श्रमिकहरू अहिले अध्ययनका लागि पठाइएका विद्यार्थीहरू पनि असुरक्षित छन् । नेपालले आफ्नो नागरिकलाई विदेश पठाउँछ, तर संकटकालीन सुरक्षा नीति र बचाउ संयन्त्र तयार गरेको देखिदैँन । आफ्ना नागरिक बन्धक बनाइन्छन्, नेपाल किन प्रभावकारी रूपमा हस्तक्षेप गर्न सक्दैन ?
किन हाम्रो परराष्ट्र नीति संकटमा परेपछि मात्र जाग्छ ? र, जब विपिन जोशीजस्ता युवाहरूले आफ्ना सपनासहित परदेश यात्रा गर्छन्, राज्य किन उनीहरूको सुरक्षामा ग्यारेन्टी दिन सक्दैन ? सिंगो नेपाली समाजले प्रश्न गरिरहेको छ ।
दुई वर्षअघि कृषिशास्त्रको भविष्य लिएर इजरायल पुगेका विपिन राष्ट्रिय झण्डामुनि सपनासँगै तर निःशब्द फर्किएका छन् । यसले नपालीलाई मात्र होइन सम्पूर्ण मानव समूदायलाई स्तब्ध बनाएको छ ।