कैलाली । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको रानीजमरा कुलरिया सिचाईं आयोजना कैलालीको पूर्वी क्षेत्रका नागरिकहरुको सपना सकार गर्ने एउटा आयोजना हो ।
पूर्वी कैलालीको लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका झण्डै २ लाख नागरिकहरु लाभांवित हुने भनिएको आयोजनामा पछिल्ला समयमा मृत्युको कारक बन्दै गएको छ ।
रानीजमरा कुलरिया सिंचाई आयोजना राष्ट्रिय गौरवको आयोजना हो । तर, अहिले यो आयोजना गोरवको विषय होइन, यहाँका नागरिकको ज्यानमारा जस्तै बन्न पुगेको छ ।
रानीजमरा कुलरिया सिंचाई आयोजना सुरु भएदेखि हालसम्म आयोजनाको नहरमा डुबेर ३५ जनाले ज्यान गुमाइ सकेका छन् । आयोजनाको लपरबाहीले विद्यार्थी बालबालिकासंगै युवायुवतीहरुले समेत अकालमै ज्यान गुमाइ रहेका छन ।
बल्चौरको बादी बस्तीका २ जना र चौधरी बस्तीका २ जना गरि आसपासका बस्तीका ४ जना र अन्य बाहिरका मानिसहरुको पनि आयोजनाको नहरमा डुबेर ज्यान गएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका झण्डै २ लाख नागरिकहरु लाभांवित हुने भनिएको आयोजना आर्थिक वर्ष २०६६÷२०६७ साल देखि सुरु भएको हो । तर, अहिले पनि अलपत्र छ र यहाँ डुबेर वर्षेनी मानिसहरुको मृत्यु भइरहेको छ । आयोजनाले बस्ती भएका ठाउँमा तारजाली नगर्दा मानविय क्षती बढी भएको स्थानीयको गुनासो छ ।
आयोजना बन्दा जस्तो प्रकारको खुशी छाएको थियो अहिले यहाँका नागरिकमा छैन । आयोजनाले तारजाली तत्काल नलगाए बादी बस्तीका बालबालिकाहरुलाई बचाउनै मुस्किल पर्ने देखिएको छ । त्यसैलेसबै ठाउँमा तारजाली नलगाए बादी समुदायले आन्दोलननै गर्ने तयारी गरेको छ ।
१४ वर्ष अघि देखि सुरु भएको आयोजना निमार्ण सम्पन्न हुनु भन्दा पहिले नै नहर छेउका बस्तीहरु कतै खालि त हुदैन्न भन्ने नागरिकहरुमा चासो र चिन्ता बढीरहेको छ । स्कुल गएका बालबालिकाहरु घर नआउदासम्म चिन्ता हुने गरेको अभिभावक बताउछन् ।
उता रानिजमरा कुलरिया सिचाई आयोजनाले बस्ती भएको र बढी जोखिम भएको ठाउँमा तारजाली गर्ने कार्यको सुरुवात गरेको बताएको छ । आयोजनाले नहरमा गाई बस्तु र बालबालिकाहरुको आवतजावत नहोस भनेर छेकवार गरेको र ४,५किलोमिटर थप तारवारको लागी वजेट छुट्याइ सकेको प्रतिक्रिया दिएको छ ।
रानीजमरा कुलरिया सिचाई आयोजनालाई कैलालीको कान्द्रा नदीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । पथरैया नदीसम्मको नहर विस्तारले करिब ६ हजार हेक्टर र कान्द्रा नदीसम्मको नहर विस्तारले १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनको लक्ष्य छ । ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा हुने यो नहर आर्थिक वर्ष २०८५÷०८६ साल सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
