दोलखा । यतिबेला गाउँघरमा धमाधम पाकेको बाली भित्र्याउने चटारो छ । एक त दोलखा जिल्लामा निरन्तर परिरहने वर्षाका कारण बाली भिज्ने, कुहिने समस्या छ, अर्कोतिर खेतबारीमा काम गर्ने जनशक्तिको तीव्र अभाव ।
नेपालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेको समयदेखि नै मुङ्लान पस्नेको लर्को सुरु भएको इतिहास छ । त्यही लर्कोे झन् ठूलो महासागरजस्तै बन्दै गएको छ । राजा महेन्द्रले त्यसबेला गाउँमै फर्कन पहल गर्दै ‘गाउँ फर्क अभियान’ समेत चलाएका थिए, तर अहिले आएर त्यो समस्या झनै जटिल र भयावह रूप लिन थालेको छ ।
यो दोलखा जिल्लाको बैतेश्वर–८ हो । पहिले खेतबारीमा अर्म–पर्म गर्ने, रोपाइँ–बाउसेमा हाँसो–ठट्टा गुन्जिने, धान थन्क्याउने बेलामा युवाहरूको भीड लाग्ने ठाउँ । तर, आजभोलि त्यही गाउँ सुनसानजस्तै भएको छ ।
एकपछि अर्को गर्दै घरका छोराछोरी सहरतिर बस्न थाले ,जो सुके पनि विदेशिएका छन्। बचेका छन् त केवल बुढाबुबाआमाहरू, जसले कहिले काँध, कहिले कुटोकोदालोको भरमा खेत सम्हालिरहेका छन् ।
कार्तिक १२ गते देखि परेको लगातार भारी वर्षाले काटेर राखिएको धान भिजेर क्षति भयो। अहिले बाँकी बाली उठाउन पनि जनशक्ति अभावका कारण ति बुढा बा आमालाई धौ धौ छ ।
दोलखा भौगोलिक दृस्टिकोणले अधिकास भेग दुर्गम पर्दछ । दुर्गम भएकै कारणले पनि गाउँ छोड्नेहरुको लर्को छ ।
२०६८ सालको तथ्यांक अनुसार दोलखाको कुल जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो ,२०७८ सालमा १ लाख ७२ हजार ७ सय २६ पुगेको छ ।
जिल्लाको जनसंख्या पनि पछिल्लो १० वर्षको अवधिमा १३ हजार ८ सय ३१ ले घटेको केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार रहेको छ । गाउँका बुढापाका हामीले दिनभरी केही गर्न सक्दैनौं, हातगोडा थला बस्न थाली हाले, गाउँमा छोराछोरी फर्किएनन् भने यो माटोको सुगंध, यो खेतवारिमा अन्न फल्ने इतिहासका पानामा मात्र बाँकी रहने चिन्ता व्यक्त गर्छन् ।
गाउँघरमा जात्रा पुजा हुँदा रातभर केटाकेटीले नाचगान गर्दै उज्यालो बनाउथे बिहान भएको पनि पत्तै हुदैन थियोे । तर आजकल बुढापाका मात्रै भएकोले जात्रा पुजामा रात कटाउन मुस्किल पर्ने स्थानीय बताउछन् ।
यता स्थानीय सरकारले भने राज्यले नयाँ नयाँ अवधारणा ल्याएमा मात्र युवालाई विदेशीनबाट रोक्न सकिने बताउछन् । स्थानीय तहबाट गर्नुपर्ने सहयोग गरेको बताउदै राज्यकै तर्फ बाट युवालक्षित नया अवधारणा ल्याउन जरुरी छ ।
गाउँमा मानवस्रोतको कमीले खेतीयोग्य जमिन दिनदिनै बाझो बन्दै छ। युवाशक्ति सहर र विदेशतिर जाँदा गाउँमा न त उत्पादनशील हात बाँकी रहेका छन्, न त कृषि विस्तार हुने वातावरण आज जे स्थिति देखिन्छ, यसरी नै गाउँ रित्तिँदै गयो भने केही वर्षमै यहाँको गाउँ मात्र होइन, पुस्तौँले जोतेको उब्जाउ खेतहरू समेत बोरामा झाग उडेझैँ उराठलाग्दो खण्डहरमा परिणत हुने निश्चित जस्तै छ ।
