कैलाली । ‘लम्कीचुहाको सह–लगानी–कर्णालीको पानी’ आयोजनाको दोस्रो चरणको काम जारी रहेको छ । स्वच्छ खानेपानीको अभाव भएका क्षेत्रहरुमा स्वच्छ पानीको पहुँचका लागि शुरु गरिएको यो आयोजनाले १५ हजार घरधुरीका ४० हजार व्यक्तिलाई सुविधा प्रदान गर्नेछ ।
‘लम्कीचुहाको सह लगानी–कर्णालीको पानी’ आयोजना कैलालीको लम्कीचुहा क्षेत्रका लागि बहुप्रतिक्षीत आयोजना हो । स्वच्छ खानेपानीमा पहुँचका लागि शुरु गरिएको यो आयोजनामा अहिले दोस्रो चरणको काम भइरहेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा न.१ देखि वडा न.५ सम्मका ५ हजार घर धुरीका ४० हजार जनसंख्यालाई स्वच्छ खानेपानीको पहुचमा ल्याउने लक्ष्यका साथ आयोजनाको कामले तीव्रता पाएसँगै लम्कीचुहा नगरबासीमा खुसी छाएको छ ।
यस आयोनाका लागि लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले विशेष सक्रियताका साथ काम गरिरहेकी छन् । केन्द्रीय सरकारबाट बजेट विनियोजनमा ताकेतादेखि फिल्डको काममा तीव्रताका लागि उनी निरन्तर लागिपरेकी छन् ।
लम्कीचुहा क्षेत्रको खानेपानीमा चुनाको मात्रा बढी रहेको छ । तर, पनि चुनायुक्त पानी नै पिउनुपर्ने अवस्था रहेकाले यसको समाधानका लागि काम अघि बढेपछि चुनारहित स्वच्छ खाने पानी पिउन पाइनेमा ढुक्क छन्, यसक्षेत्रका वासिन्दाहरु ।
२०६२ सालमा स्थापना भएको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वमा २०७२ सालमा तेजबहादुर चलाउने आएका थिए । चलाउने खाने पानीको नेतृत्वमा आएपछि खानेपानीको क्षेत्रमा यो संस्थाले आमुल आयाम ल्याएको छ ।
हाल ५ हजारभन्दा बढी घरधुरीलाई डिप बोरिङ्गबाट पानी खुवाइरहेको यो संस्थाले पानीमा भएको अत्याधिक चुनाका कारण सबै ठाउँका पाइपलाइनहरु संगै उपभोक्तहरुका घरका पाइपलाइन समेत बन्द हुने अवस्था आएपछि चुनारहित स्वच्छ खानेपानी खुवाउन‘लम्कीचुहा सह लगानी–कर्णालीको पानी’ आयोजनाको सुरुवात गरिएको हो । २०८० सालको फागुन ९ गते १४ करोड ७७ लाख ९६ हजार १२७ रुपैयाँमा पहिलो चरणको आयोजनाको सुरुवात गरेको संस्थाले २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा दोस्रो चरणको आयोजनाको तत्कालिन खानेपानी मन्त्री प्रदीवकुमार यादवबाट शिलान्यस गरेको थियो ।
संघीय सरकारको ७० प्रतिशत अनुदान, लम्कीचुहा नगरपालिकाको ५ प्रतिशत अनुदार र नगरविकास कोष संग २५ प्रतिशत ऋण लिएर संस्थाले आयोजनाको सुरुवात गरेको हो ।
यो आयोजना अन्तरगत कर्णाली नदीमा बगीरहेको पानीको एक लेअर तलको पानी ५ वटा इनार हुदै प्रशोधित गरेर ओभर हेड ट्यांकीबाट उपभोक्तको धारासम्म पु¥याइने छ । खानेपानी संस्थाले निकट भविष्यमा लम्कीचुहाका सबै नागरिकहरुलाई कर्णालीको स्वच्छ पानी खुवाउने लक्ष्य राखेको छ ।
आयोजनाको पहिलो फेजमा ४ लाख ५० हजार लिटरको रिजर्भ ट्यांकी र सोही क्षमता बराबरको ओभरहेड ट्याँकी निर्माण गरिएको छ, भने ३५ सय मिटर पाइपलाईन विस्तार गरिएको छ ।
आयोजनाको दोस्रो फेजमा पानी प्रशोधन केन्द्रको निर्माण सहित ४ लाख ५० हजार लिटर क्षमताका ४ वटा ट्यांकी निर्माण हुदै छन । ८ किलोमिटर डिभाइन पाइप विस्तारको काम भइरहेको छ भने ३६ किलोमिटर एचडिपीइ पाईप बिछ्याइने छ ।
