कैलाली । कैलालीका तीन वटा स्थानीय तहमा अपाङ्गता भएका बालबालिका सम्बन्धि स्थानीय नीति निर्माण भइरहेको छ । अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ अपाङ्गता नीति निर्माण गर्न थालिएको हो ।
कैलालीका तीन वटा स्थानीय तहमा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्ने प्रकृया अघि बढेको छ । लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ निर्माण गर्न लागेका हुन् ।
गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी प्रारम्भीक छलफल समेत भईसकेको छ । स्थानिय तहले निर्माण गर्ने नीतिले अपाङ्गता भएका बालबालिकाको हक, अधिकार र समानजनक जीवनयापनको अधिकारलाई कानुनी रूपमा संरक्षण गर्न, सुनिश्चित हुने स्थानिय तहको बिश्वास छ ।
पालिकामा अपाङ्गता बालबालिका सम्बन्धी नीति बनेपछि उनिहरूलाई राज्यका सार्वजनिक सेवा सुविधा र अवसरहरूमा समान पहुँच पुग्ने विश्वास लिइएको छ ।
स्थानिय तहहरुले निर्माण गर्न थालेको नीतिमा भएका कुराहरु पालिकाले सबै कार्यन्वयन गर्ने हो भने अपाङ्ग भएका बालबालिकाहरूलाई जीवनयापनमा केही सहज हुनेछ ।
सरकारले नीति राम्रो बनाएपनि कार्यान्वयनको पाटो भने फितलो हुदा अपाङ्गता भएका नागरिकहरुले दुःख पाईरहेको गुनासो छ । तिन वटा स्थानीय तहले ल्याउन लागेको सो नीति बालबालिकाहरुको दिगो विकासका लागी कार्यान्वयन होस् भन्ने अपाङ्गता क्षेत्रमा काम गर्नेहरुको भनाइ छ ।
नेपालको संविधानको धारा ४२ ले सामाजिक न्यायको हकमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायहरूमा सहभागी गराउनुपर्ने प्रावधानको सुनिश्चितता गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनले संरक्षण र प्रबद्र्वन गरेकाले स्थानीय तह यसमा सक्रिय बन्नु पर्ने दायित्व छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालमा कुल ६ लाख ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । यो कुल जनसंख्याको २.२ प्रतिशत हो । सुदूरपश्चिम प्रदेशमा ६९ हजार ६ सय ७७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन ।
जुन प्रादेशिक कुल जनसंख्याको २.६ प्रतिशत हो । कैलाली जिल्लामा मात्र २२ हजार ४ सय ६५ अपाङ्गता भएका व्यक्तिहरू रहेका छन । यो कैलाली जिल्लाको जम्मा जनसंख्याको २.५ प्रतिशत हो । अपाङ्गता बालबालिका सम्बन्धी नीति निर्माण हुन लागेकोे लम्कीचुहा नगरपालिकामा २ हजार ७ सय ४० जना अपाङ्गता भएका व्यक्तिहरू छन ।
जुन लम्कीचुहानगरपालिकाको कुल जनसंख्याको ३.१ प्रतिशत हो । टीकापुर नगरपालिकामा १हजार ९ सय २७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् जुन टीकापुर नगरपालिकाको कुल जनसंख्याको २.२ प्रतिशत हो ।
त्यसै गरी जानकी गाउँपालिकामा १हजार २ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् जुन जानकी गाउँपालिकाकोे कुल जनसंख्याको २.४ प्रतिशत हो ।
