रामेछाप । नेपालमा आयुर्वेद चिकित्सालयप्रति आकर्षण बढ्दो छ । देशका विभिन्न ठाउँमा जस्तै रामेछापमा पनि आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण उत्तिकै बढेको छ । सदरमुकाम मन्थलीसहित चिसापानी लगायत विभिन्न पालिकामा १÷१ वटा गरी अहिले कुल ९ स्थानमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र सञ्चालनमा छन् ।
जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्ला कार्यालयका साथै अन्य पालिकामा स्थापना भएका नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक सेवा लिनेहरुको भीड नै लाग्न थालेको छ ।
रामेछापमा रामेछापमा आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । आयुर्वेद तथा वैकल्पिक उपचार दीर्घकालीन र पुनः रोग नलाग्ने प्रकारका उपचारमा प्रभावकारी मानिने भएकाले स्थानीयको रुचि बढ्दै गएको हो ।
जिल्लाका विभिन्न पालिकामा १÷१ वटा गरी कुल ९ स्थानमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र सञ्चालनमा छन् । यी केन्द्रहरूले सञ्चालन गरिरहेको नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियोथेरापी, योग, पायल्स–फिसर तथा फिस्टुलाका लागि शल्य–उपचार, रक्त–दिशा–पिसाव परीक्षण लगायत अधिकांश सेवा निःशुल्क उपलब्ध भएकाले पनि आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति विपन्न समुदाय पनि आकर्षित छ ।
ठूलाठूला अस्पतालमा विपन्नका लागि उपचार प्रक्रिया महँगो पर्छ । तर यहाँको अधिकांश सेवा निःशुल्क छ । काठमाण्डौजस्तै ठूला शहर धाउनु नपर्ने तथा जिल्लामा राम्रो उपचार पाएकाले नियमित उपचार पश्चात सुधार भएको स्थानीय बताउछन् ।
पहिले निजी भवनमा सेवा दिँदा समस्या भए पनि अहिले खाली रहेको मन्थली अस्पताल भवनमा सेवा सुरु गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरे (पर्थिक) बताउँछन् ।
यसैगरी, मुख्यमन्त्री जनता सेवा कार्यक्रमअन्तर्गत स्तनपायी आमा तथा होलबडी रक्त परीक्षण निःशुल्क उपलब्ध गराउन थालेपछि सेवामा जनआकर्षण अझ बढेको कार्यालयले जनाएको छ । जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, सुत्केरी महिलालाई ६ महिनासम्म दूध बढाउने आयुर्वेदिक औषधि वितरण, योग सेवा, स्वास्थ्यकर आहार तथा जीवनशैली सम्बन्धी परामर्शजस्ता प्रवद्र्धनात्मक सेवाहरू पनि प्रदान गरिन्छ ।
आयुर्वेद तथा वैकल्पिक उपचार दीर्घकालीन र पुनःरोग नलाग्ने प्रकारका उपचारमा प्रभावकारी मानिने भएकाले स्थानीयको रुचि बढ्नु स्वाभाविक मानिन्छ । अन्य स्वास्थ्य सेवा झैँ स्थानीय तहले यस क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा प्रवद्र्धन गर्न सके अझ प्रभावकारी सेवा दिन सकिने चिकित्सकहरूको भनाइ छ ।
