News 24 Television
पुराना पार्टीका प्रमुख नेतामध्ये प्रचण्ड जोगिए

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशभर रास्वपाको लहर देखिँदा प्रमुख पुराना पार्टीहरु किनारा लागेका छन् । काँग्रेस, एमालेका प्रमुख नेताहरु नै चुनावी मतपरिणाममा पछाडि रहेका बेला नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सुरक्षित देखिएका छन् ।

यस निर्वाचनमा रुकुम पूर्वबाट नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उहाँले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् ।  

सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पार्नुभयो ।

निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । 
 
रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत मात्र खसेको थियो ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update