काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन् । साथै उनले २०७९ को निर्वाचनले नै मूलधारका दलहरूलाई ‘खतराको घण्टी’ बजाइसकेको भए पनि त्यसलाई बुझ्न र आफूलाई बदल्न नसक्दा अहिलेको परिणाम भोग्नुपरेको बताए ।
शर्माले फागुन २१ को निर्वाचन परिणामलाई मात्रै हेरेर समीक्षा गर्दा अधुरो हुने बताए । उनका अनुसार त्यो बेलाको जनमतले दलहरूलाई ‘नेतृत्व बदल, सरकार बदल, शैली बदल’ भन्ने प्रष्ट सन्देश दिएको बताए । दलहरूले आफूलाई रूपान्तरण गर्न नसकेकै मौका छोपेर नागरिकको असन्तुष्टिलाई मतमा बदल्न नयाँ दलको जन्म भएको उनको विश्लेषण छ । स्थानीय निर्वाचनलगत्तै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ महिनामै प्रत्यक्षतर्फ ७ र समग्रमा २१–२२ सिट जितेर संसदमा पुग्नु सोही असन्तुष्टिको परिणाम भएको उनले बताए ।
शर्माले भने, ‘सम्झिनुपर्ने हुन्छ ७९ सालको स्थानीय तहको निर्वाचन । जुन निर्वाचनमा धरान, धनगढी र काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले विजयी गराएर खतराको संकेत दिइसक्नुभएको थियो, साइरन बजिसकेको थियो । त्यसरी बदल्न सक्यो भने ठीक छ, बदल्न सकेनौँ भने हाम्रो मन बदलिँदै छ भनेर ७९ सालकै निर्वाचनले संकेत दिएको थियो । तर त्यो संकेत बमोजिम हामीले रूपान्तरण गर्न सकेनौँ ।’
नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर काँग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको पनि उनले स्वीकार गरेका छन् । जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको शुरुवात काँग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उनको भनाइ छ ।
रास्वपाले देशमा निराशा मात्रै छ र आफूहरू आएपछि सबै कुरा गर्न सकिन्छ भनेर स्थापित गर्न खोजेको लोकरिझ्याँइको भाष्यलाई चिर्न नसक्नु काँग्रेसको अर्को ठूलो कमजोरी भएको शर्माले बताए ।
उनले भने, ‘संसारमा दुई वटा कुरा एकदमै निश्चित हुन्छ, मृत्यु र परिवर्तन । मान्छे परिवर्तन रोजिरहन चाहन्छ । यो पटक निर्वाचनमा जाँदै गर्दा जेन–जी मुभमेण्टले चाहे पछाडि को–कोमा र के–केमा परिवर्तन भयो भन्नेकुरा मतदाता समक्ष स्थापित गर्न सकिएन । निराशा मात्रै छ र हामी आयौँ भने सबै कुरा गर्नसक्छौँ भनेर स्थापित गर्न खोजिएको जुन भाष्य साथीहरूले गर्नुभयो, त्यसलाई चिर्न सकिएन । नेपाली काँग्रेस पार्टी रूपान्तरित भएको छ र नयाँ अनुहारहरू थुप्रै लिएर गएको छ भन्ने स्थापित गर्न सकिएन ।’
देशमा केही राम्रा कामहरू पनि भइरहेका छन् भन्ने यथार्थलाई स्थापित गर्न नसक्दा नयाँ दलहरूले त्यसको फाइदा उठाएको उनको दाबी छ ।
