News 24 Television
राजनीतिमा बालेनको उत्कृष्ट छलाङ, प्रतिस्पर्धी हेरेको हेर्‍यै !

काठमाडौँ । नेपाली राजनीतिको आकाशमा बालेन शाहको उदय एउटा असाधारण परिघटना बनेको छ । २०७९ कोे स्थानीय तहको निर्वाचन अघि बालेन केवल एक स्वतन्त्र उम्मेदवार र र्‍यापरको पहिचानमा मात्रै थिए । तर, महानगरको मेयरमा निर्वाचित भएयता भने उनले छोटो समयमै स्थापित गरेका रेकर्डहरूले नेपाली राजनीतिका पुराना विरासतहरूलाई जरैदेखि हल्लाइदिएका छन् । अहिले उनी केवल एक सफल मेयर मात्र नभई, मुलुककै शक्तिशाली प्रधानमन्त्री बन्ने निश्चित मार्गमा उभिएका छन् । ५ वर्षको स्पष्ट म्याण्डेटसहित सत्ताको बागडोर सम्हाल्न लागेका बालेनको यो रेकर्डलाई भावी पुस्ताले समेत तोड्न मुस्किल हुनेछ ।

बालेनका अनेक निर्वाचन रेकर्ड 

बालेन शाहले यसपटकको संसदीय निर्वाचनमा जुन सफलता प्राप्त गरे, त्यो नेपालको लोकतान्त्रिक इतिहासमै अविश्मरणीय रहनेछ । उनले नेकपा (एमाले) का अध्यक्ष एवं पटक–पटक प्रधानमन्त्री भइसकेका चतुर राजनीतिज्ञ केपी शर्मा ओलीलाई झण्डै ५० हजारको फराकिलो मतान्तरले पराजित गरेर ऐतिहासिक रेकर्ड बनाएका छन् ।  बालेनले प्राप्त गरेको ६८,३४८ मत नेपालको निर्वाचन इतिहासकै आजसम्मको सबैभन्दा ठूलो व्यक्तिगत मत हो ।

यसअघि महानगरको मेयर बन्दा पनि ६१,७६७ मत ल्याएर उनले जुन लहर सिर्जना गरेका थिए, त्यसलाई अहिलेको संसदीय विजयले झनै उचाइमा पुर्‍याएको छ । अर्कोतर्फ बालेन गणतन्त्रपछि पहिलो पटक संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री पनि बन्दैछन् । जुन अवसर अहिलेसम्म कुनै नेताले प्राप्त गरेका थिएनन् । यसअघि कुनै दलको स्पष्ट बहुमत नआउँदा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुँदै गरिँदै आएको थियो । 

ओलीसँगै भिड्नुको रहस्य के थियो ? 

बालेन र ओलीबीचको चुनावी प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको लडाइँ मात्र थिएन, यो त दुई फरक राजनीतिक संस्कारबीचको टकराव पनि थियो । महानगर प्रमुखका रूपमा काम गर्दा बालेनले ओलीको कार्यशैलीबाट अप्रत्यक्ष रुपमा पटक–पटक अवरोधको सामना गर्नुपरेको थियो। 

विशेषगरी सुकुम्बासी बस्ती व्यवस्थापन, न्यूरोडको पार्किङ हटाउने योजना र धरहराको भूमिगत पार्किङ सञ्चालन गर्ने जस्ता जनपक्षीय काममा ओलीले तगारो हालेपछि बालेन उनीविरुद्ध आक्रामक बनेका थिए । देशमा व्याप्त भ्रष्टाचार र कुशासनको मूल कारक नै ओलीको नेतृत्व रहेको बालेनको ठम्याइ थियो । बालेनले उम्मेदवारी दिनु अघि नै ओलीलाई नै नहराई निर्वाचन जितेको मज्जा नै नहुने भनेर निकटस्थहरुलाई सुनाउने गर्दथे । अन्ततः निर्वाचनमा ओलीलाई नै हराएर बालेनले जितको स्वाद चाखेका छन् ।

मेयरबाट प्रधानमन्त्रीको यात्रा

रास्वपासँगको रणनीतिक निर्णयले बालेन शाह आगामी साताभित्रै प्रधानमन्त्रीको कुर्सीमा पुग्ने निश्चित भएको छ । निर्वाचन आयोगले अन्तिम प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सबैभन्दा ठूलो दलको हैसियतमा रास्वपालाई सरकार गठन गर्न आह्वान गर्नेछ । रास्वपाले बालेनलाई नै संसदीय दलको नेता चयन गर्ने सहमती गरेकाले उनी नै संसदीय दलको नेता बन्ने निश्चित छ । यो आधारले महानगरको मेयर त्यागेर संसदीय यात्रामा लागेका बालेन मेयरबाटै शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । 

तर बालेनलाई प्रधानमन्त्री बन्ने सौभाग्य मिलेपनि उनीसामु अनेकौँ राष्ट्रिय चुनौतीहरू भने प्रष्ट देखिँदैछन् । उनीसामु राज्यका पुराना र जरजर बनिसकेका नीति–थितिमा आमूल सुधार गर्नुपर्ने चुनौती छ । पार्टीभित्रको आन्तरिक व्यवस्थापनका साथै छिमेकी मुलुकहरू भारत र चीनसँगको कुटनीतिक सम्बन्धलाई शक्ति सन्तुलनका आधारमा अघि बढाउनु पनि उनको मुख्य चुनौती हुनेछन् । यस्तैगरी जनअपेक्षा अनुसारको सुशासन र समृद्धि बालेनप्रति आम तहबाट अपेक्षा गरिएको विषय हो । उनले यो अपेक्षालाई कतिसम्म पूरा गर्लान् ? यो प्रश्नको विषय बनेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update