News 24 Television
संसद भवन नबनेपछि प्रतिनिधि सभा बैठक बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी

काठमाडौँ । निर्माणाधिन नयाँ संसद भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो ।

संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको बैठक नयाँ निर्माणाधीन संसद भवन परिसरमै बस्ने भएपनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए । सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए । शहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको उनले बताए ।

प्रवक्ता गिरीका अनुसार उक्त हलमा प्रतिनिधि सभा सदस्यहरूको सपथ ग्रहण गराउने र केही प्रारम्भिक बैठकहरू सञ्चालन गर्नेगरी व्यवस्थापन भइरहेको छ । प्रतिनिधि सभाको सभाकक्ष निर्माण सम्पन्न भएपछि बैठकहरू सोही सभाकक्षमा बस्ने छ । बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक काम मात्र बाँकी रहेकोले ती कार्य शिघ्र सम्पन्न गर्नेगरी काम भइरहेको उनले जानकारी दिए ।

सचिवालयले नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको छ । बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने उनले स्पष्ट पारे । यसअघि संसद बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद भवन जेन-जी आन्दोलनका क्रममा आगजानी भएपछि बैठक बस्नको लागि समस्या भएको हो । राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ । 

सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरि २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो । तर २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

संसद भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिसकेको छ । संसद भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन । 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update