News 24 Television
जनताले भरोसा गरेका छन्, जिम्मेवार बनौँ : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताए । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उनको भनाई छ ।

जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउँदै वाग्लेले त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको बताए । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टीलाई नभएको उनले बताए । उनले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताए । त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाए पनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उनको भनाई छ ।

हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै वाग्लेले यसलाई अभूतपूर्व जनादेश भएको बताए । उनले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याए । २०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उनको भनाई छ ।

२०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उनले स्मरण गराए ।

उपसभापति वाग्ले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रश्तुत हुन पनि सुझाव दिए । उनले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गरे । कानुन तथा नेपालको संविधानलाई गहिरोसँग अध्ययन गर्न पनि सांसदहरुलाई सुझाव दिए । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update