News 24 Television
रास्वपाप्रति जनताको ठूलो अपेक्षा, सांसदहरूलाई जिम्मेवार बनाउन प्रशिक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि ‘क्लोज क्याम्प’ अर्थात् आवासीय बन्दसत्रमा प्रशिक्षण सुरु गरेको छ । दुईदिने अभिमुखीकरण नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम मंगलबार ललितपुरस्थित होटल रोयल टुलिपमा उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरे । यस कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका अधिकांश नयाँ सांसदहरूको सहभागिता रहेको जनाइएको छ । 

कुल १८२ सिट जितेको रास्वपामा धेरैजसो नयाँ अनुहार, युवाहरु र विविध क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका सांसदहरु रहेकाले उनीहरुलाई संसदीय मर्यादा एवं अभ्यासबारे प्रशिक्षित गरिन लागेको हो । यो कार्यक्रमको मुख्य उद्देश्य सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, बजेट निर्माण र सुशासनका मापदण्डबारे स्पष्ट दृष्टिकोण विकास गराउनु हो । प्रशिक्षणमा सांसदहरूलाई संवैधानिक व्यवस्था, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, पार्टीले अवलम्वन गर्नुपर्ने नीति र जनतासँगको प्रभावकारी सम्बन्ध कायम राख्ने लगायत विषयमा विस्तृत जानकारी दिइनेछ ।

मोबाइल बोक्न समेत निषेध गरिएको गोप्य प्रशिक्षणका लागि पार्टीका शीर्ष नेताहरूका साथै विभिन्न क्षेत्रका विज्ञहरूलाई आमन्त्रण गरिएको छ । जसमा डा. स्वर्णिम वाग्लेले सांसदको भूमिकाबारे, पूर्वसचिवहरूले संसदीय कार्यप्रणाली र कानुन निर्माणबारे, विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमता (एआई) र सुशासनको सम्बन्धमा प्रशिक्षण दिने कार्यतालिका रहेको छ । 

उद्घाटन सत्रमा बोल्दै उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वास जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको भन्दै उनले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने बताए । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टीलाई नभएको उनको भनाइ छ । वि.सं. २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताए । त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाए पनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उनको दाबी छ । हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै वाग्लेले यसलाई अभूतपूर्व जनादेश दाबी गरे । उनले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता समेत औंल्याए । 

अर्का उपसभापति डीपी अर्यालले आगामी निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताए । आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्दै जनताको मन जित्नुपर्नेमा उनको जोड छ । उक्त लक्ष्य हासिल गर्नका लागि भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उनले बताए । निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी नै रहेको अर्यालको भनाइ छ । तसर्थ पार्टीका सांसदहरुलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आग्रह गरे । 

नेपालमा आम निर्वाचनपछि संघीय संसद् सचिवालयले सबै निर्वाचित सांसदहरूका लागि संसदीय मर्यादा, नियमावली र कानुन निर्माण प्रक्रियाबारे संयुक्त अभिमुखीकरण आयोजना गर्ने परम्परा पुरानै हो । अहिले रास्वपाले आफ्नै पहलमा विज्ञहरू बोलाएर पाँचतारे होटलमा ‘क्लोज क्याम्प’ शैलीमा दिने विस्तृत प्रशिक्षणलाई एक परिष्कृत राजनीतिक अभ्यासका रूपमा हेरिएको छ । यस्ता कार्यक्रमहरूले विभिन्न क्षेत्रबाट आएका नयाँ सांसदहरूलाई संसदीय कार्यविधि, नीतिगत बहस र बजेट निर्माण जस्ता जटिल प्रक्रियामा पोख्त बनाउनुका साथै पहिलो दिनदेखि नै प्रभावकारी भूमिका खेल्न तयार पार्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update