News 24 Television
गगनको राजीनामाले ओली–प्रचण्डमाथि नैतिक दवाब

काठमाडौँ । गत पुष अन्तिम साता सम्पन्न काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पदबाट राजीनामा दिएपछि नेपाली राजनीति तरंगित भएको छ । निर्वाचनमा पार्टी र आफैले लज्जास्पद हार व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै सभापतिबाट राजीनामा दिएको अवस्था छ । उनको यो राजीनामा अपेक्षित भएपनि नैतिक रुपमा वर्तमान नेपाली राजनीतिमा अर्थपूर्ण बनेको छ । गगनले यसअघि नै राजीनमा दिने तयारी गरेपनि विभिन्न तहका नेताहरुले उनलाई राजीनामा नदिन सुझाव दिएका थिए । यद्यपि उनले बुधबार भने नैतिकताको आधारमा राजीनमा दिएका हुन् । फागुन २१ को निर्वाचनमा नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोरेको थियो भने, गगन थापा आँफै पनि सर्लाही – ४ मा रास्वपा उम्मेदवार डा. अमरेश सिंहसँग पराजित भएका थिए ।

गगनको नैतिकताले दवावमा कम्युनिष्ट नेतृत्व 

नेपाली काँग्रेस अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको थियो । यो बेला नै दोस्रो ठूलो दल एमालेसँग मिलेर सरकार निर्माण हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर यहीबखत भएको जेनजी आन्दोलनकै कारण पूराना दलहरु निशानामा परे । प्रतिफलस्वरुप फागुन २१ को निर्वाचनमा एमाले, काँग्रेस र नेकपा कृनाराकृत भए । उता निर्वाचनपछि झण्डै दुई तिहाइको शक्तिसहित पहिलो दल बनेको रास्वपा भने अब परिस्कृत र सुस्कृत बन्नतर्फ केन्द्रीत छ । 

उता गगन थापाले पनि पार्टी हारेको कारण नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको विषयले ठूला कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको खडेरी परेको छ । एमाले २०७९ सालको निर्वाचनको तुलनामा ३ गुणाले खुम्चिएको छ । स्वयम पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि झापामा बालेन शाहसँग लज्जास्पद हार व्यहोरे । तर ओलीले राजीनामा दिने तरखर गरेका छैनन् । 

उता प्रचण्ड नेतृत्वको पार्टी २०६४ सालदेखि निरन्तर उधोगतिमा छ । यो निर्वाचनमा पनि नेकपाले लज्जास्पद हार व्यहो¥यो । तर प्रचण्डले पनि पार्टी नेतृत्व त्याग्ने कल्पनासमेत पनि गरेका छैनन् । यसरी रास्वपा ४ वर्षअघि मात्रै स्थापना भएरपनि शक्तिशाली बन्दै एकल सरकार निर्माण गरेको अवस्था छ । उता २ महिनाअघि मात्रै पार्टी सभापति भएका गगनले पार्टी हारको जिम्मेवारी लिँदै राजीनामा दिएका छन । नेपाली राजनीतिमा यहाँसम्मको संस्कार स्थापित हुँदै गर्दा ओली र प्रचण्ड भने अझै पार्टी नेतृत्वमा हैकम जमाइरहनुले उनीहरुमा चरम नैतिकताको अभाव झल्काएको छ । 

गगनमाथि स्टन्टको आरोप !

एमाले र नेकपाको नेतृत्वमाथि नैतिक प्रश्न उठिरहेका बेला एमाले नेता एवं पूर्वसांसद सूर्य थापाले भने गगनमाथि स्टन्ट, फण्डा र मिडिया ट्रायलको आरोप लगाएका छन् । गगनको राजीनामाबारे समाचार सम्प्रेषण भएलगत्तै सूर्य थापाले राजीनामाको औपचारिक पत्रसमेत सार्वजनिक नभइ गुटगत मिलोमतोमा मिडिया ट्रायल गरिएको भन्दै आक्रोश पोखेका छन् । सूर्य थापाले गगनमाथि टिप्पणी गर्दै फेसबुकमा लेखेका छन्, ‘७८ बर्ष लामो इतिहास बोकेको ‘सुधारिएको काँग्रेस पार्टी’मा अभ्यास गरिएको यो प्रकरण बचकनापनको भद्दा मजाक प्रदर्शनबाहेक केही होइन । यदि राजीनामा दिएको सही सत्य हो भने बिहान ८ बजेसम्म केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत त देखाउनु प¥यो नि । सभापतिको सचिवालय र ४० ओैं ठाउँका स्मार्ट अफिस सर्लाही –४ को पराजयसँगै खारेज भइसकेको हो र ?’ 
 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update