काठमाडौँ । बहुप्रतिक्षित बालेन सरकार आगामी साता गठन हुने भएको छ । निर्वाचन अघि नै रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । रास्वपाले बालेनकै आडमा संसदमा झण्डै दुई तिहाई बहुमतका साथ एकल सरकार निर्माण गर्ने जनमत प्राप्त गरेको छ ।
निर्वाचनपछिको झण्डै एक महिनापछि अर्थात चैत १३ गते शुक्रबार बालेन प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । फागुन २१ मा आम निर्वाचन सम्पन्न भएपनि प्रकृयागत चरण पार गर्दा आगामी शुक्राबार मात्रै बालेन प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । बिहीबार बालेनसहित रास्वपाको शीर्ष नेताहरुको बैठकले चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने मिति तय गरेका हुन् ।
संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरुलाई शपथ गराउने जनाएको छ । जुन शपथकै भोलिपल्ट अर्थात आगामी शुक्रबार बालेन मुलुकको ४३औँ प्रधानमन्त्रीमा नियक्त हुने भएका हुन् ।
एकैपटक पूरा मन्त्रिमण्डल
बालेन शाहले प्रधानमन्त्रीको सपथ लिएलगत्तै पूरै मन्त्रिमण्डल गठन गर्ने रास्वपाको तयारी छ । सरकार गठनको लामो प्रयास र कसरत हुँदा बालेन शाहसँगै अन्य मन्त्रीहरुको पनि शपथ हुने भएको हो । बालेन शाह जम्मा १५ मन्त्रालय राखेर सरकार हाक्ने तयारीमा छन् । संविधान अनुसार संघीय सरकार राज्यमन्त्रीसहति २५ सदस्यीय बनाउन सकिन्छ । तर बालेनले भने सानै टिममार्फत सरकार संचालन गर्ने नीति लिएका छन् । जसअनुसार नै उनले १५ सदस्सीय मन्त्रिमण्डलमात्रै खडा गर्ने भएका छन् ।
मन्त्री छान्ने जिम्मा रवि–बालेनलाई
अहिलेसम्म सरकार बन्ने मिति तय भइसकेपनि को–को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । यद्यपि सरकारमा सामेल हुने मन्त्री छनौँटको भने रवि र बालेनले नै गर्नेछन् । बालेन शाहले सुरुदेखि नै विज्ञताका आधारमा मन्त्री छनौँट गरिने भन्दै आएका छन् ।
रविसँग बालेनले सरकार संचालन आफ्नै ढंगले गर्ने र पार्टी संचालनमा रविलाई हस्तक्षेप नगर्ने भनेपनि मन्त्री छनौँटका विषयमा भने रवि पनि निर्णायक बन्ने पक्का छ । यसअघि रविले अभिमुखीकरणमा कस्को कति क्षमता छ भन्ने नेतृत्वले नियालीरहेको भन्दै मन्त्री बन्नका लागि कसैले लविङ नगर्न चेतावनी दिएका थिए । जसको अर्थ पनि मन्त्री आँफैले छान्ने हो भन्ने भन्ने नै देखिन्छ ।
बालेन सरकारमा को–को बन्दैछन् मन्त्री ?
बालेन नेतृत्वको नयाँ सरकारमा डीपी अर्याल र सुनील लम्साल मध्ये एक गृहमन्त्री बन्नेछन् । लेखजंग थापा र तोसिमा कार्कीमध्ये एकजना स्वास्थ्य मन्त्री बन्ने चर्चा छ । त्यस्तै अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निश्चितजस्तै छन् । शिशिर खनाल परराष्ट्रमन्त्री, सस्मित पोखरेल र महावीर पुनमध्ये एकले शिक्षा मन्त्री पाउने सम्भावना छ ।
यस्तै सभामुखमा मनिष झा र सोविता गौतमको नाम चर्चामा छ । पार्टीभित्र यी सांसदहरुको मन्त्री बन्ने चर्चा रहेपनि नाम फाइनल भने भएको छैन । सरकार गठन हुन अझै पूरै एकसाता बाँकी रहेकाले सांसदहरुको शपथ र प्रधानमन्त्रीको नियुक्तिसम्ममा सबै मन्त्रीहरुको नाम फाइनल गर्ने रास्वपा तयारी छ ।
