News 24 Television
मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाइने

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उनले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको  बताए ।

पूर्वसूचना प्रणालीलाई सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाई छ । जल, मौसम, जलवायु र हिमसम्बन्धी अवलोकन तथा तथ्यांक संकलनमा गरिने लगानीले भविष्यमा अध्ययन, अनुसन्धान, विपद् न्युनिकरण र पूर्वतयारीमा सहयोग गर्ने बताए । विकासका हरेक आयामसँग मौसमसम्बन्धी सूचनाको प्रत्यक्ष सम्बन्ध रहेको उनको भनाई छ ।

सीमित स्रोतसाधनका बाबजुद पनि विभागले मौसमसम्बन्धि जानकारी समयमा नै उपलब्ध गराएको बताउनु भयो । नेपालको भौगोलिक संरचनाका कारण पनि यहाँको मौसम प्रणाली अत्यन्त संवेदनशील रहेको छ । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लिने दरमा वृद्धि तथा हिमताल विस्फोटजस्ता जोखिमहरू तिब्र बन्दै गएको उनले बताए । यस्ता घटनाले जनजीवन, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उनको भनाई छ । 

मन्त्री सिन्हाले विपद्सम्बन्धि जानकारीको लागी स्थानीय तहमा तालिम सञ्चालन गर्ने, स्थानीय भाषामा मौसमसम्बन्धी जानकारी उपलब्ध गराउने कार्य गर्नुपर्नेमा जोड दिए । विशेषगरी महिला र बालबालिकामा भाषाको समस्याका कारण पूर्वसूचनाको पहुँच नपुग्ने गरेको उनले बताए । मन्त्री सिन्हाले प्रभावकारी सूचना प्रणालीमार्फत विपद् जोखिम न्युनिकरण र सुरक्षित भविष्य निर्माणमा लागि सरकारले प्राथमिकता दिएर काम गरिहेको बताउनु भयो । त्यसको लागि आवश्यक निति नियमको बनाउने तयारी थालिएको पनि जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update