काठमाडौँ । नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । फागुन २१ को निर्वाचनमा एक ढिक्का हुन नसकेको नेपाली काँग्रेस निर्वाचनपछि पनि एक हुन सकेको छैन। निर्वाचन परिणामलाई लिएर फरक फरक निश्कर्ष र समानान्तर गतिविधि बढ्दा पार्टी फुटको जोखिम बढेको हो । बुधबार गगन पक्षिय नेपाली काँग्रेसले सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गरिरहँदा उता देउवा पक्षले पनि पुरानै केन्द्रीय कमिटिको बैठक बोलाउने तयारी गरेको छ । काँग्रेसभित्रको यो तहको शक्ति संघर्षले पार्टीलाई संकटतर्फ डोहो¥याएको हो ।
गगन र विश्व ‘बाइकट’
आईतबार नै पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बसेको थियो । सोही बैठकले छिटै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ। यसबारे आवश्यक परामर्श गरी समय र मिति तय गर्ने देउवा पक्षको तयारी छ । उता पूर्वसभापति शेरबहादुर देउवा पनि सिंगापुरबाट हङ्कङ हुँदै नेपाल फर्किने तयारीमा छन् । यस्तोमा काँग्रेसको देउवा पक्ष गगन समूहविरुद्ध सक्रिय भएको देखिन्छ । देउवा पक्षले बोलाउन लागेको केन्द्रीय कार्यसमिति बैठकमा कारवाहीमा परेका विश्वप्रकाश शर्मा र गगन थापालाई भने नबोलाइने जनाइएको छ ।
पराजयमा फरक फरक व्याख्या
निर्वाचनका पराजयको कारणमाथि पनि गगन पक्ष र देउवा पक्षले फरक फरक व्याख्या गरिरहेका छन् । जुन व्याख्यामा एकअर्काप्रति नै आरोप प्रत्यारोप झल्किन्छ । निर्वाचन पराजयको विषयमा गगन पक्ष पार्टीमा देउवा पक्षले अन्तरर्घात गरेको भन्ने टिप्पणी गर्छ ।
उता देउवा पक्ष भने विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडाकै कारण काँग्रेस पराजय भएको बुझाइमा छ ।
देउवा पक्षका नेताहरु काँग्रेसको नेतृत्व विवादको मुद्धा अदालतमा रहेकाले यसको अन्तिम फैसला नहुञ्जेलसम्म समानन्तर गतिविधि गरिरहने रणनीतिमा छन् ।
दल विभाजनसम्बन्धी व्यवस्था के छ ?
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा (२) मा दल विभाजन सम्बन्धी व्यवस्था छ । जुन ऐनअनुसार कुनै पनि राजनीतिक दल फुटाउन केन्द्रीय समिति र संघीय संसद्मा ४०÷४० प्रतिशत संख्या चाहिन्छ ।
यस आधारले नेपाली काँग्रेस फुट्सक्ने आधारहरु प्रशस्तै देखिन्छन् । तरअहिलेसम्म पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस वा गगन थापा नेतृत्वको काँग्रेस कुन आधिकारिक हो ? विषय नै प्रष्ट भइसकेको छैन । यस्तोमा अब पार्टी कसरी अघि बढ्ला भन्ने प्रश्न झने गहन बनेको छ ।
