काठमाडौँ । आजदेखि उच्च पदस्थहरुको शपथ लगातार ३ दिनसम्म हुँदैछ । अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गराएपछिको मत परिणाम अनुसार अब नयाँ सरकार गठन हुँदैछ । र, त्यसबाहेक सांसदहरु र उच्च पददस्थहरु पनि नियुक्ति हुने हुँदा उनीहरुको शपथ लगातार ३ दिनसम्म हुने कार्यतालिलका सार्वजनिक भएका छन् ।
सर्वप्रथम संसदमा निर्वाचित २७५ जनामध्ये काँग्रेस सांसद अर्जुननरसिंह केसीले आज जेष्ठ सदस्यको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत शपथग्रहगण गरे । उनलाई बिहान ११ः१५ बजे शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ गराइयो ।
यस्तैगरी भोलि अर्थात, विहीबार भने केसी आँफैले जेष्ठ सांससदको हैसियतले अन्य २७४ सांसदहरुलाई शथप गराउँदैछन् । कार्यतालिका अनुसार केसीबाट चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा अन्य सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् । त्यस्तै सांसदहरुको शपथ सकिएपछि शुक्रबार रास्वपा संसदीय दलका नेता बालेन शाहले प्रधानमन्त्रीको रुपमा शपथ लिँदैछन् ।
संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्तिसम्बन्धी व्यवस्था उल्लेख छ । जुन धाराको उपधारमा (१) मा संसदमा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने उल्लेख छ । यही धारा अनुसार सांसदहरुको शपथपछि बालेन प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।
बालेनको तयारी के छ ?
बालेनले शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएलगत्त एकैपटक पूर्णमन्त्रिपरिषद गठन गर्नेछन् । सम्भवतः बालेन सरकारमा जम्मा १८ सदस्सीय मन्त्रिमण्डल हुने जनाएको छ । यद्यपि बालेन र रविबीच कति मन्त्रालय राख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
मन्त्रिमण्डल सदस्यको विषयमा बालेन १६ मन्त्रालय राख्ने अडानमा छन् । तर रविले भने १८ सम्म बनाउनुपर्ने तर्क सारेको बताइन्छ । विगतमा संसदको शपथअघि नै प्रधानमन्त्रीको शपथ लिने प्रचलन थियो । तर यो पटक बालेनले त्यो चलनलाई तोडेका छन् । उनी पहिले संसदको शपथ र अनिमात्रै प्रधानमन्त्रीमा नियुक्त हुने तयारीमा छन् ।
यस्तै कुन कुन मन्त्रालयको जिम्मेवारी कस्लाई दिने भन्ने विषयमा रास्वपाभित्र व्यापक छलफल भइरहेको छ । पछिल्लो दावी अनुसार गृहमन्त्रीमा डीपी आर्याल र सुनील लम्साल, स्वास्थ्यमा लेखजङ थापा र तोसिमा कार्कीमध्ये एक र परराष्ट्रमा शिशिर खनाल पक्काजस्तै भएका छन् । उता कानूनमन्त्रीमा सोविता गौतमको नाम चर्चामा छ । त्यस्ते इन्दीरा रानालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा अघि बढाइने संभावना देखिन्छ ।
सभामुखका लागि यी नाम चर्चामा
रास्वपाभित्र सभामुखका लागि विभिन्न नाम चर्चामा छन् । जसमा पार्टी सचिवालय सदस्य दीपक बोहराको नाम पनि चर्चामा छ । उनी पत्रकारितामा हुँदैपनि रवि निकट रहेर काम गर्दै आएका पात्र हुन् । उनी हालै सम्पन्न निर्वाचनमा कञ्चनपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यस्तै पार्टी सहप्रवक्ता प्रतिभा रावलको नाम पनि सभामुखको चर्चामा छ ।
समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमासमेत रहेर काम गरेकी नेतृ हुन् । उनको पृष्ठभूमी पनि पत्रकारितामै जोडिएको छ ।
यस्तै पूर्व संचारमन्त्री जिगदिश खरेलको नाम पनि सभामुखका लागि चर्चामा छ । खरेल ललितपुर – २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । रास्वपाले मन्त्री छनौट र सभामुख चयनका लागि भित्रि रुपमा गहन छलफल गरिरहँदा केही व्यक्तिहरुको नाम दावी गरिएपनि अन्तिम निर्णय भने रास्वपाको हातमै रहनेछ । तर जेहोस् रास्वपा नयाँ सरकार गठनपछि नयाँ र परिस्कृत ढंगले अघि बढ्ने तैयारीमा लागिरहेको देखिन्छ ।
