काठमाडौँ । नेपाली काँग्रेसमा सानान्तर गतिविधि निरन्तर चलिरहेको छ । पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयको विवादका कारण विभाजित काँँग्रेसका दुवै पक्ष फागुन २१ को निर्वाचनपछि पनि लगातार समानान्तर गतिविधिमै छन् । काँग्रेसमै देउवाको नतृत्वप्रति असन्तुष्ट र महाधिवेशन चाँडै गर्नपर्ने पक्षमा मत राख्दै आएको गगन थापा समूहले गत पुसमै विशेष महाधिवेशन गरेर नयाँ कमिटि तय गरेको छ । तर देउवा पक्षले भने गगनको नेतृत्वमा बनेको नयाँ कमिटिलाई स्वीकार गरेको छैन । यसपछि अझ गम्भीर बनेको नेपाली काँग्रेसको संकट पछिल्लो समय समाधान भन्दा पनि झन समस्यातिरै मोडिएको छ ।
निर्वाचनपछि के–के भए ?
फागुन २१ मा गगनको नेतृत्वमा निर्वाचनमा होमिएको काँग्रेस नराम्रोसँग पराजित भयो । यसको दुई सातापछि सर्लाही – ४ बाट स्वयम पराजित सभापति थापाले पदबाट राजीनमा दिए । तर केन्द्रीय कमिटी बैठकले उनको राजीनामा अस्वीकृत गर्दै पुनः नेतृत्वमा गगनलाई नै फर्काएको छ । यो पक्षले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवशेन गर्ने निर्णय गरेको छ ।
तर पनि काँग्रेस धारणागत रुपमा भने एकमत हुन सकेको छैन । गगन पक्षको यो निर्णयलाई शेरबहादुर देउवा पक्षले कुनै वास्ता गरेको छैन । बरु पछिल्लो समय देउवा पक्ष अझै आक्रामक रुपमा समानान्तर गतिविधिमा सक्रिय भइरहेको छ । विशेषतः निर्वाचनमा काँग्रेसको पराजयपछि देउवा पक्ष सक्रिय बनेको देखिन्छ ।
लेखक–ओली पक्राउमा फरक–फरक धारणा !
गत शनिबार काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । यो सवालमा समेत काँग्रेसको देउवा पक्षले छुट्टै विज्ञप्ति निकाल्यो । निवर्तमान कार्यावाहक सभापति पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै काँग्रेस नेता लेखक र एमाले अध्यक्ष ओलीको पक्राउकोविरुद्ध भत्र्सना गरेको छन् । उनीहरुले एमालेसँगै मिलेर सडक संघर्ष गर्ने समेत चेतावनी दिएका छन् ।
खड्काले लेखक र ओलीको पक्राउ संविधान र कानूनविपरित भनेका छन् । तर यता गगन पक्षले भने लेखक र ओलीको पक्राउविरुद्ध कुनै सडक संघर्ष घोषणा गरेनन् । बरु विनाप्रतिशोध उनीहरुमाथि छानविन गर्न सरकारलाई आग्रह गरेको छन् । कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेकामा फेरि सक्रियता देखाएमा क्रियाशील सदस्यता नै खारेज गर्ने सम्मको चेतावनी दिएको छ ।
सांसदहरुसँग पनि छुट्टाछुटै छलफल
नेपाली काँग्रेसको देउवा पक्षले नवनिर्वाचन प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई बधाइका लागि अर्कै कार्यक्रम गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले सोमबार अपरान्ह धुम्बाराहीको स्मार्ट होटलमा सांसदहरुलाई बोलाएर बधाइ दिएको थियो । जबकि उता गगन पक्षले भने यसअघि नै सबै सांसदहरुलाई सानेपामा कार्यक्रम गरेर संसदीय सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम गरिसकेको छ ।
उता देउवा पक्ष अझै रोकिने मुडमा छैन, सो पक्षले काँग्रेसले १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि मंगलबार बस्नेगरी बोलाएको छ । यस्तै चैत १९ गते बस्नेगरी जिल्ला सभापतिहरुको बैठकसमेत बोलाइएको छ । अझै रोचक पक्ष त अब देउवा पक्षको काँग्रेसले अब गगन पक्षमाथि कस्तो एक्सन लिन्छ ? भन्ने नै नै देखिन्छ ।
अब के हुन्छ ?
देउवा पक्षले अदालतले कुनै पक्षलाई आधिकारिकता नदिएसम्म समानान्तर गतिविधि गरिरहने रणनीति अपनाएको छ । निर्वाचन आयोगले चुनावअघि गगन पक्षको केन्द्रीय कमिटिलाई आधिकारिकता दिएपनि अदालतले भने अझैसम्म कुनै पक्षलाई आधिकारिकता दिएको छैन । यस्तोमा अदालतले देउवा पक्षलाई अधिकारिकता दिए के हुन्छ ? भन्ने टुंगो छैन । तर गगन पक्षलाई आधिकारिकता दिए पार्टी विभाजन हुने खतरा देखन्छि । किनकी अझै सम्म देउवा पक्षले गगन नेतृत्वको काँग्रेसलाई स्वीकार गर्न चाहेको छैन ।
उता पूर्वसभापति देउवामाथि वर्तमान सरकारले सम्पत्ति सुद्धिकरणको मुद्धा चलाउने तयारी गरेको छ । गगन पक्षले यो मुद्धालाई विगतदेखि नै उठाउँदै आएको विषय हो । यो मुद्धाका कारण पनि काँग्रेमा तत्काल सहमति र एकता हुन संभावनमा न्यून देखिन्छ ।
