काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा चैत १९ गते अर्थात बिहीबार प्रतिनिसिभाको पहिलो बैठक बस्दैछ । फागुन २१ को निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । चैत १२ गतेको मन्त्रिपरिषद बैठकले सरकारको सिफरिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आह्वान गरेका हुन् । प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।
सभामुख चयनको प्रकृया आरम्भ
कानूनतः संसदको पहिलो बैठक बोलाइएको दिनदेखि नै सभामुख र उपसभामुख चयनको प्रकृया आरम्भ हुने छ । संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्थाको उल्लेख गरिएको छ । यो आधारले पनि बिहीबारको पहिलो बैठक देखि नै सभामुख चयनको प्रकृया सुरु हुनेछ ।
यस्तै पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेका छन् । सम्भवतः बिहीबारको बैठक यीनै विषयको छलफलबाट आरम्भ हुने देखिन्छ ।
सभामुख र उपसभामुख को–को बन्दैछन् ?
यो पटकको सभामुख संसदको सबैभन्दा ठूलो दल रास्वपा स्वयमले राख्नेछ । हालको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाईँको मत प्राप्त गर्दा सभामुख पदका लागि कुनै दलसँग गठबन्धन वा समझादारी गर्नुपर्ने झण्जट रास्वपालाई छैन । त्यस कारणपनि संसद बैठक प्रारभ्म भएको १५ दिनभित्र रास्वापकैबाटै सभामुख चयन हुने निश्चित छ । यस्तोमा रास्वपाले सभामुखमा पार्टी उपसभापति एवं काठमाडौं– ९ बाट निर्वाचति प्रतिनिधिसभा सदस्य डीपी अर्याललाई अघि सार्ने तयारी गरेको छ ।
यस्तै उपसभामुखको विषयमा भने रास्वपाले कुनै छलफल नगरेको जनाइएको छ । संविधान अनुसार सभामुख र उपसभामुख चयन गर्दा फरक दल र फरक लिंगको हुनुपर्ने उल्लेख छ । यो आधारले उपसभामुख संसदमा प्रतिनिधित्व गर्ने रास्वपा बाहेकका कुनै दलले प्राप्त गर्ने देखिन्छ । यस्तोमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी वा राप्रपा मध्ये एक दलबाट उपसभामुख निर्वाचित हुनेछन् । यसमा पनि रास्वपाले कुन दललाई सहयोग गर्छ त्यसले नै जित निकाल्ने देखिन्छ । तसर्थ उपसभामुख को बन्ने ? भन्ने निर्णाय पनि रास्वपाकै हातमा छ ।
उपसभामुख रास्वपाकै हुनसक्ने सम्भावना पनि !
संविधानको धारा ९१ कै उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन हुँदा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भएपनि एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा भने एकै दलबाट सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भनि उल्लेख गरिएको छ ।
यदि रास्वपा बाहेकका अन्य दलले उपसभामुखमा उम्मेदवारी नदिएको अवस्थामा भने रास्वपाकै उम्मेदवारीबाट उपसभामुख चयन हुनेछन् । यो अवस्थामा भने उपसभामुख र सभामुख रास्वपाकै हुन बाधा पर्ने छैन । तर शक्ति र संसदीय गतिविधिलाई असन्तुलित हुने खतरा हुनसक्ने हुँदा एकै दलबाट सभामुख र उपसभामुख बनाइनु व्यवहारिक देखिँदैन । यद्यपि उपसभामुख पनि संवैधानिक परिषदको सदस्य हुने हुँदा यो पदको बाँडफाँड दलहरुले कसरी गर्लान् ? भन्ने आमचासो बढेको छ । उता सभामुख चयन नभइञ्जेलसम्म भने संसदको जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्नेछन् ।
