News 24 Television
ओली थुनिदा ‘बादल’ एमालेमा सर्वेसर्वा, सुहाङ भए जिल्ल !

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहँदा पार्टीमा उपाध्यक्ष रामबहादुर थापा बादल सर्वेसर्बा भएका छन् । ओलीको अनुपस्थितिमा बादलकै नेतृत्वमा पार्टी बैठक संचालन भइरहेका छन् । बुधबारको संसदीय दलको बैठक पनि बादलकै अध्यक्षतामा बसेको थियो । सोही बैठकले बादललाई नै सर्वासम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ । 

यति मात्रै होइन, बादलले पार्टीको कार्यावहक अध्यक्षको जिम्मेवारीसमेत बुधबार नै प्राप्त गरेका छन् । बुधबार बसेको पार्टीको पादाधिकारी र संसदीय दलको बैठकले बादललाई कार्यावाहक अध्यक्षको जिम्मेवारी तोकेको हो । हुनतः यसअघि चैत १ गते पनि बादलकै अध्यक्षतामा एमाले सचिवालय बैठक बसेको थियो । यस्तै ओली पक्राउ परेपछि चैत १७ गते पनि उनकै अध्यक्षमा दोस्रो सचिवालय बैठक बस्यो । तरपनि उनलाई पार्टी अध्यक्षको हैसियत प्रदान गरिएको थिएन । तर बुधबारदेखि भने बादल औपचारिक रुपमै एमालेको कार्यावाहक अध्यक्ष भएका छन् ।

नेतृत्व परिवर्तनमा चुकेको एमाले  

नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग चर्को रुपमा उठेको छ । पार्टीको १०औँ र ११औँ महाधिवेशनमा पनि एमालेको नेतृत्व परिवर्तनको माग जोडतोडले उठ्यो । तर नेतृत्वमा ओलीको विकल्प कोही बन्न सकेनन् । ओली ११औँ महाधिवेशनमा पार्टीको विधान नै संशोधन गरेर तेस्रो पटक अध्यक्ष बने । तर यसलगत्तै फागुन २१ मा सम्पन्न निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएको छ । तर पनि एमालेले पार्टी नेतृत्व पुस्तान्तराणलाई केन्द्रमा राखेन । 

यसपछि पक्राउ पर्दासमेत ओलीले अध्यक्षबाट राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा पार्टीको तर्फबाट संसदीय दलको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने माग कार्यकर्ता तहमा उठेपनि ७० वर्षका नेता रामबहादुर थापा बादल नै दलको नेता बनेका छन् । संसदीय दलमा युवा नेता सुहाङ नेम्वाङले सशक्त दावी गरेका थिए । तर उनले उम्मेदवारीका लागि प्रस्तावक र समर्थक नै पाएनन् । यसपछि एमालेका परिवर्तकारी पक्ष थप निराश बनेका छन् । 

एमालेको नेतृत्व परिवर्तनप्रति नेताहरुको यो सम्मको अनुदारताले पार्टी नेतृत्व पुस्तान्तरण गर्ने ठूलो अवसर गुमेको छ । यसले एमालेलाई थप जोखिम बनाएको विश्लेषण गर्न थालिएको छ । 

प्रचण्डदेखि ओलीसम्मका प्यारा ‘बादल’ 

रामबहादुर थापा बादल पूर्व माओवादीको शीर्ष नेता हुन् । नेकपा माओवादीले १० वर्षसम्म गरेको सशस्त्र युद्धका कमाण्डरसमेत रहेका बादल पार्टीभित्र निर्णायक मानिन्थे । बादल सो बेला प्रचण्डको प्रिय पात्र थिए । तर शान्तिप्रकृयापछि कहिले वैद्य समूह त कहिले मुल पार्टी माओवादीमै फर्किने गरेका उनी २०७४ सालसम्म प्रचण्डकै दायाँ थिए ।

 त्यही कारण २०७४ सालकै आम निर्वाचनपछि एमाले र माओवादी मिलेर बनेको नेकपा सरकारमा बादललाई प्रचण्डले गृहमन्त्री बनाए । तर पछि नेकपा विभाजन हुँदा भने बादल माओवादीमा फर्किएनन् । बरु उनी ओलीलाई नै साथ दिँदै एमालेतिर लागे । यसछि लगातार ओलीको साथ पाएका बादल हाल एमालेको निर्णायक र प्रमुख शक्तिमा पुगेका छन् ।  ओलीले बादललाई १०औँ महाधिवशेनमा उपाध्यक्ष बनाए । त्यसपछि ११औँ महाधिवेशनमासमेत बादल उपाध्यक्षमा निर्वाचित भए । फागुन २१ को निर्वाचनमा एमालेले हार व्यहोरे पनि सामानुपातिकबाट सांसद बनेका उनी अब पार्टीमा मात्रै नभइ संसदमा समेत एमालेको नेतृत्व गर्नेछन् । 

बादलको विरोधमा एमाले नेता 

बादल संसदीय दलको नेता बनेकामा भने एमालेका अन्य नेताहरु सन्तुष्ट छैनन् । बुधबार एकाएक बादल नै दलको नेता बनेपछि एमालेको युवा पुस्तामा खैलाबैला मच्चियो । यतिमात्रै होइन, मुख्यतः एमालेको ११औँ महाधिवेशनमा ओली इतरको प्यानलबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे तथा योगेश भट्टराईले बादल दलको नेता चयन भएकामा विारोध प्रकट गरिरहेका छन् । 

सुरेन्द्र पाण्डेले फेसबुकमा स्टाटस लेख्दै एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर र संकुचित भइसकेको टिप्पणी गरेका छन् । उता  पार्टी उपमहासचिव योगेश भट्टराईले पनि पार्टीमा लोकतान्त्रिक पद्धति नअपनाइ सांसदलाई दवावमा पारेर दलको नेता चयन गरिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीमा दलको नेता चयनको विषयलाई लिएर अनेक विवाद र टिप्पणी भइरहेपनि सबै निर्णयहरु ओलीकै निर्देशनमा भइरहेको देखिन्छ । तसर्थ एमालेमा नेता चयनको विषयलाई लिएर अनेक टिप्पणी र विरोध भइरहेपनि ओलीको अडान रहेसम्म अन्य नेताको केही चल्ने देखिदैन । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update