काठमाडौँ । नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपाजस्ता पुराना र विरासत बोकेका दलहरुले निर्वाचनमा अनपेक्षित पराजय व्यहोरेपछि पार्टी नेतृत्वको विषयलाई लिएर गम्भीर प्रश्न उठेका छन् । विगतमा ठूलो मतसहित पहिलो, दोस्रो र तेस्रो बन्दै आएका यी दलहरु यो पटकको निर्वाचनमा थोरै संख्यामा खुम्चिएका छन् । यहाँसम्मकी अहिलेको संसदमा काँग्रेस, एमाले र नेकपाको जम्मा सिट संख्या जोड्दा पनि ८० सिट मात्रै हुन्छ । यहाँसम्मको हार व्यहोरेपछि काँग्रेस, एमाले तथा नेकपाको नेतृत्वको विषयलाई लिएर पार्टीभित्र आन्तरिक किचलो बढेको छ ।
कुनकुन दलमा के भइरहेका छन् ?
नेपाली काँग्रेस
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसमा त निर्वाचन अघि देखि नै समानान्तर गतिविधि शुरु भएको थियो । तर निर्वाचन मत परिणामपछि काँग्रेसभित्रको यो विवाद झनै चर्किएको छ। गत पुषमा दोस्रो विशेष महाधिवेशन गरेर काँग्रेसले गगन थापालाई सभापति बनाएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्ष केही नरम बन्यो । तर निर्वाचनमा गगनसहित काँग्रेसले नराम्रोसँग पराजय व्यहोरेपछि देउवा पक्ष हौसिएर समानान्तर गतिविधिलाई फेरि तीव्र बनाएको छ । पछिल्लो समय आ–आफ्नै पक्षको छलफल चलिरँहदा थापा पक्षले सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक गर्दै समानान्तर गतिविधि नगर्न देउवा पक्षलाई चेतावनी दियो । उता देउवा पक्षले भने गत मंगलबार मात्रै धुमबाराहीमा १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कमिटिको बैठक बोलाएको थियो । सो बैठकले गगनलाई सभापनि नमान्ने निर्णय गरेको थियो ।
त्यसअघि सो पक्षले नवनिर्वाचित सांसदहरुलाई सुभकामना दिने कार्यक्रमकोसमेत आयोजना गरेको थियो । जबकी थापा पक्षले भने यसअघि नै सानेपामा एक कार्यक्रम गरेर नयाँ सांसदहरुलाई प्रशिक्षणसमेत दिएको अवस्था छ । उता पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विषयमासमेत काँग्रेसका दुवै समूहले फरक फरक धारणा सार्वजनिक गरेका छन् । काँग्रेसभित्रको आन्तरिक विवादकै कारण अहिलेसम्म संसदीय दलको नेतासमेत चयन हुन सकेको छैन ।
नेकपा एमाले
नेकपा एमालेमा पनि पार्टीको पराजयपछि नेतृत्वमाथि असन्तुष्टि बढेको छ । निर्वाचनअघि मात्रै पार्टीको ११औँ महाधिवेशन भएपनि अहिले विशेष महाधिवेशनको माग बढेको छ । संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियानसमेत थाल्ने तयारी गरेको छ । अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल गर्ने र पार्टीलाई पुनर्जीवित गराउन केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन आवश्यक रहेको इतर पक्षले निश्कर्ष निकालेको छ । यदी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त नगरे विशेष महाधिवेशनमा माग गर्ने इतर पक्षको तयारी छ ।
नेकपाको पनि महाधिवेशन
जनमतमा निरन्तर ओरालो यात्रमा रहेको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि अहिले नैतिक दवाब बढेको छ । निर्वाचनमा पार्टी पराजय भएपछि पार्टी पुनगरगठन र नेतृत्वबाट प्रचण्डले मार्ग प्रशस्त गर्नुपर्ने माग आन्तरिक रुपमा उठेका छन् । यस्तोमा प्रचण्डले भने आगामी ६ महिनाभित्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्न ६ महिने समयसीमासहितको १० बुँदे ठोस कार्ययोजना प्रस्ताव गरेका छन् । प्रचण्डले बैठकमा अबको एक महिनाभित्रै स्थानीय तहसम्मको सङ्गठन समायोजन गर्ने र तीन महिनाभित्र सबै वडाहरूमा सङ्गठन निर्माण गरिसक्ने प्रस्ताव गरेका हुन् । प्रचण्डको यो प्रस्तावले केही हदसम्म नैतिकता बोध गर्दै पार्टी पुनरगठनको तैयारी गरेको देखिन्छ । तर यो प्रस्ताव र कार्ययोजनामार्फत प्रचण्डले पार्टीलाई नयाँ स्वरुपमा लैजान नेतृत्व अरुलाई नै सुम्पन्छन् वा फेरि नेतृत्वका लागि आँफै अघि बढ्छन् यो भने अहिले नै नि¥क्यौल छैन ।
