काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिएका दलहरुले उपसभामुख पदमा भने सशक्त जोड गरिरहेका छन् । सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सभामुखको उम्मेदवारी दिने कार्यतालिका रहेपनि निर्धारित समयभित्र डीपी अर्यालयको एकल उम्मेदवारी परेको थियो । त्यसपछि डीपी नै निर्विरोध निर्वाचत भए । तर अब उपसभामुख पदका लागि हुने निर्वाचनमा भने रास्वपाबाहेकका सबै दलहरुको दावी रहने देखिन्छ ।
संविधानतको धारा ९१ (१)ले संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने उल्लेख गरेको छ । यो अनुसार पनि अबको १० दिनभित्र उपसभामुखको निर्वाचन भइसक्नुपर्नेछ । यस्तोमा अहिले दलहरु उपसभामुखका लागि तीव्र छलफलमा छन् । हालसम्म श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख दावी गरेका छन् । उता नेपाली काँग्रस प्रमुख प्रतिपक्षी दल भएको हिसाबले पनि उसको दावी गर्ने प्रमुख हक रहन्छ । त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा एमालेले पनि यो पदमा दावी गर्ने देखिन्छ । यसअघि सभामुखमा पनि एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । यद्यपि अन्तिममा आएर उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
३ दलको सशक्त दावी
संविधातः उपसभामुख र सभामुख फरक दल र फरक लिंगको हुनपर्दछ । सभामुख रास्वपाबाट भइसक्दा अब उपसभामुख रास्वपा बाहेकको दल र महिला नै हुनुपर्ने छ । यदी अन्य दलको उम्मेदवारी नभएको अवस्थामा भने रास्वपाबाटै उसभामुख हुने संभावना छ । तर अहिलेसम्म ३ दलले उसभामुखमा सशक्त दावी गरेका छन् । जसमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुखको चयन लगत्तै उपसभामुखमा आफूहरुले उम्मेदवारी दिने घोषणा गरेका छन् । हर्कले फेसबुकमा भनेका छन्, ‘अब उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’
उता राप्रपाले पनि उपसभामुखका लागि रास्वपासँग लविङ गरेको छ । राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही आँफैले सत्तारुढ दल रास्वपा नेता रवि लामिछानेलाई भेटर उपसभामुको माग गरेका छन्। शाही शनिबार रविको नीजि निवास पुगेका थिए । यसपछि ज्ञानेन्द्रले फेसबुकमा भनेका छन्, ‘विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा–अभियानमा अघि बढिरहेका छौं ।’ उता नेकपाले पनि सभामुख चयन भएलगत्तै उपसभामुखमा दावी गरेको छ । डीपी अर्याललाई सभामुखमा समर्थन गर्दै नेकपाले दलहरुसँग छलफल गरेरै उपसभामुखमा उम्मेदवारी दिने घोषणा गरेको छ ।
उपसभामुखमा रास्वपा नै निर्णायक
संसदमा करिब दुई तिहाईँको नजिक रहेको रास्वपा नै उपसभामुख चयनका लागि निर्णायक दल रहने छ । यस्तोमा रास्वपाले जुन दललाई दिन चाहन्छ । त्यो दलले उपसभामुख प्राप्त गर्नेछ । काँग्रेस, एमाले र नेकपासहित ५ दलले आकांक्षा राखेपनि उपसभामुख राप्रपा वा श्रम संस्कृति पार्टीले पाउने सम्भावना बढी छ । आईतबार नै प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेबीच उपसभामुख कस्लाई दिने भन्ने विषयमा छलफल भएको थियो । जसमा बालेनले श्रम संस्कृति पार्टीलाई दिनुपर्ने राय राखेको बताइएको छ भने, रवि राप्रपालाई दिने पक्षमा उभिएको जनाइएको छ ।
यद्यपि उपसभामुखको बारेमा अझैसम्म निर्णायक सहमति भइसकेको छैन । तर संवैधानिक हिसाबले पनि अबको १० दिन भित्र उपसभामुख चयन भइसक्नुपर्नेछ । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ । यसकारण भविष्यमा सरकारी नियुक्तिको निर्णयमा बाधा आउनसक्ने पक्षलाई पनि ख्याल गर्दै रास्वपाले उचित निर्णय गर्नुपर्नेछ ।
