News 24 Television
बादलको निष्कर्ष : रास्वपा दुस्मन, पार्टी हार्दा ओलीलाई कैद !

काठमाडौँ । कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिले नेकपा एमाले थप तरंगित बनेको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा बादलले दिएको अभिव्यक्तिले एमाले र समग्र राजनीति नै तरंगित बनेको थियो । तर बादलले फेरि बुधबार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिले एमाले थप तरंगित बनेको हो । 

बादलको अभिव्यक्तिलाई नै लिएर गत साता एमालेले आकस्मिक सचिवालय बैठक बोलाएर उक्त अभिव्यक्ति सच्याउने निर्णय गरेको थियो । एमालेको सो सचिवालय बैठकले बादलले संसदमा रास्वपाको जितमा नेपाली सेना, कर्मचारीतन्त्र, एनजीओ लगायत निर्णायक रहेको भनेर टिप्पणी गरेको विषय एमालेको नीति विपरित भएको भनेर सच्याएको थियो । 

तर बादलले भने अझैसम्म यो विषयलाई स्वीकार गरेको  देखिँदैन । किनकी बादलले फेरि पार्टी अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउको विषय उठाउँदै रास्वपा नै एमालेको प्रमुख दुस्मन भएको व्याख्या गरेका छन् । उनले सार्वजनिक सम्बोधन मै प्रष्टसँग भनेका छन्, ‘हाम्रो दुस्मनहरुले समाजवादी परिवर्तनका नायक केपी शर्मा ओली र लोकतान्त्रिक पार्टीका नेता रमेश लेखकलाई कैद गरे ।’ उनको यो अभिव्यक्ति रास्वपा नेतृत्वको सरकार र उसको निति लक्षित आएको प्रष्ट छ  । 

संसदमा एमालेको तर्फबाट सुरुका दिन बोल्दा नै बादले रास्वपालाई फरक भाषाबाट यही सत्रुता र अवैधानिक जितको आरोप लगाउन खोजेका थिए । तर एमालेका अन्य नेताहरुले भने त्यसलाई अस्वीकार गर्दै बादलको अभिव्यक्ति एमालेको नीति र सिद्धान्तविपरित भनेको छन् ।  यद्यपि बादलले पार्टीको निर्णयभन्दा परै गएर फेरि पनि रास्वपा र सरकारलाई स्पष्ट रुपमै पार्टीको दुस्मनको संज्ञा दिएका हुन् । बादलको यो टिप्पणीले संसदमा गरेको सम्बोधन पनि एमालेकै नीति भएको प्रष्ट पार्न खोजेका छ ।  

विवादमै रुमलियो एमाले 

पछिल्लो समय एमालेभित्र विभिन्न विषयमा विवाद उत्पन्न भइरहेका छन् । एमाले संसदीय दलको नेता चयन, संसद तथा पोखरामा बादले गरेको सम्बोधन लगायतको विषयले पार्टीभित्र एक मत र एकरुपता नभएको प्रष्ट पारेको छ । अर्कोतर्फ पार्टीभित्रै निर्वाचनको पराजयको विषयलेसमेत नेतृत्व परिवर्तको बहस उठेको छ । कतिपय नेताहरुले त अहिले विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर अभियान नै संचालन गरिरहका छन् ।

 बादलको पछिल्लो अभिव्यक्तिपछि अन्य नेताहरु त ओलीसहितको नेतृत्वविरुद्ध प्रतिकारमै उत्रिएका छन् । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले फेसबुकमा स्टाटस लेखेर बादलको अभिव्यक्ति पार्टी विपरित भएको टिप्पणी गरेका छन् । उनले स्टाटसमा भनेका छन्, ‘कावा अध्यक्ष एवं संसदीय दलको नेताले पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्वोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलीङकाविरुद्ध छ । कब्जा, आक्रमण, दुश्मन आदि शब्दावलीहरु एमालेका होईनन् । जनताको वहुदलीय जनवादको मार्गदर्शन विलकुल यो होईन, हामी कब्जा होईन, जनताको मन जितेर प्रतिष्पर्धामा श्रेष्ठ हुन्छौँ ।’

त्यस्तै एमाले उपमहासचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्ति र टिप्पणीप्रति व्याङ्ग्य गर्दै कवितामार्फत कटाक्ष गरेका छन् । उनले लेखेका छन्,
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ ।

हुनतः बादलको अभिव्यक्तिहरु उनी स्वयम कार्यावाहक अध्यक्ष र दलको नेता भएको हिसाबले पार्टीकै आधिकारिक हुन् । उनको अभिव्यक्ति एमाले अध्यक्ष केपी ओलीसँगकै समन्वयमा प्रकट हुनेमा पनि शंका छैनन् । तर पछिल्ला उनको अभिव्यक्ति र ओलीसँगै पनि नेता कार्यकर्तारु रुष्ट बन्दै गएका छन् । 

यो अवस्थामा ओली–बादलसहितको नेतृत्वमाथि पूरै एमालेको पङ्ति खनिने र विद्रोह हुने खतरा बढेको छ । तर अब ओलीको रिहाइपछि भने एमाले  आफ्नै गतिमा फर्किने अपेक्षा पनि कार्यकर्ताले गरेका छन् । यद्यपि एमालेको अबको नेतृत्वमा ओली वा बादल नै सर्वमान्य रहिरहनेमा भने शंका पैदा हुन थालेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update