News 24 Television
२० वर्षको प्रयास सफल, दोलखाको बज्रयोगिनी (जोगिनदेउ) मन्दिरको जीर्णोद्धार सुरु

दोलखा । प्राचीन नगरी दोलखामा शताब्दी देखि जीर्ण अवस्थामा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बज्रयोगिनी (जोगिनदेउ) मन्दिरले अब पुनः जीवन पाउने भएको छ । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको यो मन्दिरको व्यक्तिगत लगानी जीर्णोद्धार प्रक्रिया सुरु गरिएको छ । 

भीमेश्वर नगरपालिका–२ पाखलतीमा अवस्थित मन्दिर दोलखाको प्रमुख व्यापारिक केन्द्रसँगै गौरिशंकर हिमश्रृङ्खलातर्फ जाने मार्गमा पर्ने भएकाले यसको धार्मिक मात्र होइन, पर्यटकीय महत्व पनि उत्तिकै रहेको छ । र्
 
काठमाडौं निवासी आनी रत्न प्रभा शाक्य र सम्पदा संरक्षण महाअभियानका संरक्षक रवि शाक्यको सक्रियता तथा आर्थिक सहयोगमा दोलखाको वज्रयोगिनी अर्थात जोगिनदेउ मन्दिर पुनर्निर्माणको पहल अघि बढाइएको हो । 

सोही क्रममा परम्पराअनुसार ‘क्षमा पूजा’ सम्पन्न गरिएको छ । क्षमापूजालाई जीर्णोद्धार कार्यको प्रारम्भको रूपमा लिइएको छ । स्थानीय संस्कृतविद् शान्त कृष्ण श्रेष्ठको पहल र आग्रहमा भीमेश्वर नगरपालिका–२ बाट सिफारिस भई पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिरको जीर्णोद्धार गरिने जनाइएको छ ।

विभागका प्राविधिकको प्रारम्भिक अनुमान अनुसार करिब ९ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने बताइएको छ । दाता आनी रत्न प्रभा शाक्यले दोलखा भ्रमणका क्रममा मञ्जुश्री र बज्रयोगिनीको ऐतिहासिक सम्बन्धबारे जानकारी पाएपछि मन्दिरको दयनीय अवस्था देखेर आफूलाई जीर्णोद्धार गर्ने प्रेरणा मिलेको बताइन् । 

उनका अनुसार संस्कृतविद् शान्त कृष्ण श्रेष्ठमार्फत सम्पदा अभियन्ता रवि शाक्यसँग सहकार्य भएपछि यो कार्य सम्भव भएको हो । 

यसैगरी, सम्पदा संरक्षण महाअभियानका संरक्षक रवि शाक्यले सांस्कृतिक सम्पदाको संरक्षणका निम्ती  आफू देश भरि घुमिरहेको र आफुले सकेको सहयोग गर्दै संक्षणमा साथ दिन पाउँदा खुसी लागेको बताए ।  

२० वर्षदेखि मन्दिरको जीर्णोद्धारका लागि पहल गर्दै आएका संस्कृतविद् शान्त कृष्ण श्रेष्ठले सरकारी निकाय, समाजसेवी तथा स्थानीयस्तरसम्म सहयोग माग्दा सफल नभए पनि अन्ततः आफ्नो २० वर्ष पछिको प्रयास दाताको सहयोगले पुरा हुन लागेकोमा खुशी व्यक्त गरेका छन्् ।  

भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले पनि मन्दिरको जीर्णोद्धारप्रति खुशी व्यक्त गर्दै जनप्रतिनिधिका रूपमा आफूले पहल गरिरहेको विषय आज साकार हुन लागेको बताए । स्थानीय तहबाट आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न पूर्ण रूपमा तयार रहेको जानकारी उनले दिएका छन् ।  

बज्राचार्य समुदायको कुलदेवताका रूपमा पूजिने यस मन्दिरमा सिठी नखः, बालाचतुर्दशी तथा जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गरेको छ । गुरुजु रामभक्त बज्राचार्यका अनुसार मन्दिरमा कुनै पनि बलि पूजा नचल्ने र विशेषगरी बालबालिकामा देखिने खटिरा रोग निको हुने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । 

दोलखाको प्राचीन सभ्यता र इतिहाससँग जोडिएको यस बज्रयोगिनी मन्दिरको संरक्षणले सम्पदा जोगाउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update