काठमाडौँ । नेपालमा हरेक नयाँ प्रधानमन्त्री नियुक्त हुँदा उनीहरुले कुन देशबाट विदेश भ्रमणको थालनी गर्लान ? भन्ने चर्चा सँधै केन्द्रमा रहन्छ । विगतमा काँग्रेस एमाले तथा नेकपाको नेतृत्वमा सरकार गठन हुँदा नै यस्तो विषय चर्चाको केन्द्रमा हुन्थ्यो । अहिले नयाँ शक्ति रास्वपाको सरकार बन्दा प्रधानमन्त्रीको विदेश भ्रमण कहाँबाट सुरु होला ? भन्ने चर्चा र चासो अझै बढेको छ । हाल प्रधानमन्त्री रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहले अझै भारत चीनजस्ता ठूला र शक्ति सम्पन्न छिमेकी मुलुकसँगको परराष्ट्र नीतिलाई कसरी सन्तुलित गार्लन् भन्ने आम कौतुहलता बढेको छ ।
यस्तोमा प्रधानमन्त्री बालेन शाहले आफ्नो पहिलो विदेश भ्रमण भने भातरबाटै गर्नसक्ने संभावना बढेको छ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता भइसकेको छ । यो अवधिसम्ममा उनले कुनै विदेश भ्रमण गरेका छैनन्, भने कुनै भ्रमणको मिति तय पनि भइसकेको छैन । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीले भने प्रधानमन्त्री शाहलाई बधाईसँगै भारत भ्रमणको निम्तो पनि दिएको खुलेको छ । भारत भ्रमणबारे नेपालले पनि सैद्धान्तिम सहमति जनाइसकेको तर मिति भने तय भइनसकेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।
प्रधानमन्त्री शाह विगतमा छिमेकी मुलुक भारतसँग कडा रुपमै प्रस्तुत हुँदै आएकाले पनि भारतसँगको उनको कुटनीति कस्तो होला भन्ने आम चासो बढेको छ । यसअघि काठमाडौं महानगरको मेयर रहँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । जुन विषयले भारतमा हल्लीखल्ली मच्चिएको थियो । मुख्यतः नेपाल भारतबीच अझैपनि सीमा विवादको मुद्धा सतहमै छ ।
कालापानी–लिपुलेक क्षेत्र तथा दक्षिण नेपालका तराईका सीमाहरुमा भारतको एकतर्फी बल मिचाइ छ । अन्तर्राष्ट्रिय सीमाजस्तो संवेदनशील मुद्धामा नेपालको शक्तिशाली र युवा पुस्ताका प्रधानमन्त्री बालेनले भारत कुटनीतिलाई कसरी अघि बढाउँलान् भन्ने राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा विशेष चासो देखिन्छ । र, बालेनले आफ्नो पहिलो विदेश भ्रमण कहाँबाट सुरु गर्छन् भन्ने विषय पनि अहिले चर्चाको विषयबनेको छ ।
विगतका प्रधानमन्त्रीहरुको विदेश भ्रमण कस्तो ?
राणा शासनपछिको अवस्था र २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएयताका धेरैजसो प्रधानमन्त्रीले भारतबाटै पहिलो विदेश भ्रमण गरेको देखिनछ । यद्यपि केहीले भने अन्य देशलाई पनि पहलो विदेश भ्रमण बनाएका छन् । तर गणतन्त्र स्थापना भएपछि बनेको २०६५ को पहिलो सरकारमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भने पहिलो विदेश भ्रमण चीनबाट सुरु गरे । यस्तै २०६७ मा प्रधानमन्त्री बनेका झलनाथ खनालले पनि पहिलो विदेश भ्रमण कम्बोडियाबाट गरे । यद्यपि कम्बोडियापछि भने खनाल भारत भ्रमणमा गएका थिए ।
उता प्रचण्डले पनि पछिल्लो पटक प्रधानमन्त्री बन्दा भने भारतबाट नै पहिलो विदेश भ्रमण गरेका छन् । प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा २०८० चैतमा भारतबाटै पहिलो विदेश भ्रमण गरे । उता एमाले अध्यक्ष केपी शर्मा ओलले पनि २०७४ मा प्रधानमन्त्री बन्दा पहिलो विदेश भ्रमण भारतबाटै गरे । उनले २०७४ चैत २३ देखि २५ गतेसम्म तीन दिने भारत भ्रमण गरेका थिए ।
त्यसपछि २०७८ सालमा शेरबहादुर देउवाले स्कटल्याण्डबाट पहिलो विदेश भ्रमण गरेका थिए । तर स्कटल्याण्डमै मोदीसँग भेट गरेका देउवा पछि फर्किएर भारत भ्रमणमै गएका थिए । देउवा मोदीको निमन्त्रणामा २०७८ चैतमा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएका थिए ।
राजीतिक इतिहासमै नेपालका प्रधानमन्त्रीहरुले धेरैजसो पहिलो विदेश भ्रमण भारतबाट नै गरेका छन् । वर्तमान प्रधानमन्त्री बालेन शाहले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्ने चर्चा शुरु भएको छ । तर सरकार पक्षबाटै भने यो भ्रमणको मिति तय भइसकेको देखिँदैन ।
