काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रतिवद्ध हुन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा आह्वान गरेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दे उनीहरुले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै एकतावद्ध भएर देश निर्माणको संकल्प गर्न आह्वान गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि सङ्कल्प गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए ।
नववर्ष नेपाली समाजमा विगतको समीक्षा गर्दै भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परासँग जोडिएको उनको भनाई छ । हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै उनले जनताले विधिको शासन, दिगो शान्ति, सुशासन तथा सामाजिक न्यायसहितको विकासको चाहना राखेकोले त्यसलाई पुरा गर्नतिर लाग्नुपर्ने बताए । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति निष्ठावान् रहँदै सुशासन, समावेशिता र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । साथै, राष्ट्रिय एकता, पारस्परिक विश्वास र सहिष्णुतालाई अझ सुदृढ बनाउन नयाँ वर्षले प्रेरणा दिने उनको भनाई छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे । सामाजिक सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणजस्ता क्षेत्रमा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरे । तराई–मधेसमा मनाइने सतुवाइन, जुडशीतल, सिरुवा पावनी तथा काठमाडौँ उपत्यकाको बिस्का जात्रालगायत पर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सुदृढ बनाउने उल्लेख गर्दै उनले ती पर्वहरुको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहले नयाँ वर्षको अवसरमा सम्पूर्ण नागरिकको सुख, शान्ति र आरोग्यको कामना गरेका छन् । उनले संस्कृत श्लोक उद्धृत गर्दै सबैको जीवनमा दुःखको अन्त्य र कल्याणको भावना स्थापित होस् भन्ने शुभेच्छा व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग भवेत्।’ उल्लेख गरेका छन्।
नेपालीहरुको नयाँ वर्षको पहिलो दिन मंगलवार देशका विभिन्न राजनीतिक प्रमुख, नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिँदै राष्ट्रिय एकता, समृद्धि र विकासका लागि सहकार्य गर्न आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा पुर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुले शुभकामना सन्देश जारी गरेका छन् । बैशाख १ गते नेपालीहरुको नयाँ बर्ष मनाउँदै आएका छन् ।
