काठमाडौँ । फागुन २१ को निर्वाचन अघिदेखि नै खटपटमा रहेको काँग्रेसको दुई पक्षबीच अझै समझदारी हुन सकेको छैन । गत पुसमा विशेष महाधिवेशन गरेर गगन थापा पार्टी सभापतिमा निर्वाचति भएयता दुई पक्षले समानन्तर गतिविधि गरिरहेका छन् । तर यो विवाद अहिले क्रियाशील सदस्यता वितरणको चरणसम्म आइपुग्दा अझै चर्को बनेको छ । निर्वाचनअघिसम्म सुस्त रहेको काँग्रेस शेरबहादुर देउवा पक्ष निर्वाचन मत परिणामपछि भने थप सक्रिय बनेको छ । सम्भवतः सर्वोच्च अदालतले पार्टी आधिकारितकताको विषय टुंगो नलगाइञ्जेलसम्म समानान्तर गविविधि गरिरहने दाउवा देउवा पक्ष देखिन्छ । उता निर्वाचनको पराजयको नैतिकताका आधारमा राजीनामा दिएका गगन पनि पार्टीले राजीनामा अस्वीकृत गरेपछि अझै सक्रिय भएका छन् ।
विज्ञप्ति र क्रियाशील सदस्यताको लफडा !
हुनत काँग्रेसका दुई पक्षबीचको टकराब नयाँ थिएन, तर दुई पक्षबीचको अस्थित्व र क्रियाशील सदस्यताको विषयले विवादलाई थप मलजल गरेको छ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका छन् । सभापति थापाले चैत १० र ११ गतेको बैठकको निर्णय अनुसार अब पुराना सदस्यता खारेज भएको भन्दै नयाँ सदस्यता लिन आह्वान गरेका थिए । गगनले बुधबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै पुराना पद्धति र शैलीबाट लिइएको क्रियाशील सदस्यता खारेज हुने र बैशाख १ गतेदेखि काँग्रेसले नायँ सदस्यता वितरणको अभियान संचालन गर्ने भनेका थिए । यस्तैमा १ गतेदेखि नयाँ सदस्यता वितरणको अभियान सुभारम्भ भइसकेको छ । यो कार्यक्रममार्फत पनि गगनले पुरानो क्रियाशील सदस्यता खारेज भइसकेकाले आफ्नो वडामा गएर नयाँ सदस्यता लिनुपर्ने विषयलाई दोहोर्याए ।
तर देउवा पक्ष भने गगनको यो निर्णय र अभिव्यक्तिले थप आक्रोशित बनेको छ । सभापति गगन थापाले क्रियाशील सदस्यता खारेजी भएको घोषणा गरेलगत्तै गत बुधबार कार्यावाहक सभापति पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका थिए । जबकी गगनपक्षले यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्दा नै विज्ञप्ति जारी गरेको विषयलाई लिएर अर्कोपटक नेपाली काँग्रेसको लेटरप्याडको दुरुपयोग नगर्न चेतावनी दिएको थियो । चैत १८ गते बसेको बैठकले लेटरप्याडको फेरि दुरुपयोग गरे पार्टी विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो थियो । तर उक्त चेतावनीविपरित पूर्णबहादुरले बुधबार कार्यावाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेका हुन् । यसपछि पनि काँग्रेसभित्रको विवाद थप उत्कर्षमा पुगेको हो ।
औपचारिक विभाजनउन्मुख काँग्रेस
काँग्रेस विशेष महाधिवेशन पक्षधरले देउवा पक्षको गतिविधिलाई नियाल्दै केन्द्रीय अनुशासन समितिको बैठक बसाल्यो । बुधाबार नै कार्यसम्पादन समितिको बैठक बस्दैछ । यी बैठकहरुले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने वा क्रियाशील सदस्यता नै नविकरण नगर्ने निर्णय गर्ने तयारी गरेको थियो । यद्यपि बैठकले ७ बुँदे स्पष्टिकरण मात्रै सोधेको छ । यो अवस्थाले पनि काँग्रेस अब विभाजनको निर्णायक मोडतर्फउन्मुख भएको देखिन्छ । पछिल्ला दिनहरुमा देखिएको काँग्रेसको किचलो समाधानभन्दा पनि विवादतर्फ नै उन्मुख बन्दै गएको छ । अहिलेसम्म दुवै पक्ष आफ्नो अडानमै रहनु र एकअर्कालाई कारवाहीकै अवस्थामा पुग्दा काँग्रेस औपचारिक विभाजनको नजिक पुगेको देखिन्छ ।
