News 24 Television
नगर अस्पतालको सक्रियताः निःशुल्क डायलाइसिस सेवा सेवाबाट सर्वसाधारणलाई लाभ

सर्लाही । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका सर्लाहीका स्थानीयले ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । नगर अस्पतालमै डायलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको छ । डायलासिस सेवा सुरु भएसगै यस क्षेत्रका मिर्गौला रोगीलाई अब डायलासिस गराउन जनकपुर, वीरगन्ज, भरतपुर तथा काठमाडौँ लगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको छ । 

सर्लाहीमा मिर्गौला (किड्नी) डायलासिस सेवा सुरु भएको छ । ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित ईश्वरपुर नगर अस्पतालमा सर्लाही जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरिएको हो । 

बैशाख १८ गते मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गलीलाल रायल डायलासिस सेवाको उद्घाटन गरेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि त्यसले गर्ने कामलाई यथावत् राख्ने उपचार विधि डायलाइसिस हो । यसले काम गर्न छाडेपछि फाल्नुपर्ने पदार्थ शरीरमा जम्मा भइराख्छ । त्यो फोहोर पदार्थ डायलाइसिसले निकाल्छ । यो मिर्गौलाले काम गर्न नसक्दा त्यसको कामलाई सघाउ पु¥याउने र शरीरलाई हुनसक्ने जोखिमबाट बचाउने अस्थायी विकल्प हो ।

सङ्घीय सरकारबाट आवश्यक प्राविधिक तथा सञ्चालन खर्च प्राप्त गर्न कम्तीमा पाँचवटा डायलासिस मेसिन सञ्चालनमा हुनुपर्ने प्रावधान छ । तर हाल दुईवटा मेसिनबाट दैनिक दुई जनालाई मात्र डायलासिस सेवा प्रदान भइरहेको छ । त्यसैले  प्रदेश सरकारसँग थप मेसिन उपलब्ध गराउन पहल भैरहेको जनाइएको छ  । 

स्वास्थ्य शाखाका अनुसार ईश्वरपुर नगरपालिकावासीलाई डायलासिस सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य पालिकाका सेवाग्राहीबाट प्रति पटक दुई हजार ५०० रुपैँयाँ शुल्क लिइने छ ।

डायलासिसका क्रममा आवश्यक पर्ने रगतका लागि प्रादेशिक अस्पताल मलङ्गवास्थित ब्लड बैंकसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ । आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीका लागी यो सेवाले धेरै सहज भएको छ । 

सर्लाही जिल्लाकै ईश्वरपुर नगर अस्पतालमा यो सेवा सुरु भएपछि जिल्ला भित्रका मिर्गौला पीडितहरूले राहत पाउन थालेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update