भैरहवा । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ठूलो संख्याका नेपालीहरुको उद्धार गरिएको छ । त्याहाँबाट उद्धार गरि रुपन्देहीको बेलहिया नाका हुँदै ४ सय ५३ जनालाई नेपाल ल्याइएको हो ।
भारत उत्तर प्रदेशको कुशीनगरबाट ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो । बन्धक भएका नेपालीलाई उद्धार गर्नुका साथै बन्धक बनाउनेलाई समेत पक्राउ गरी शनिबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीको सहयोगमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाट उनीहरुको उद्धार गरेको थियो । आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरुकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाइरहेको सूचना नेपाली दूताबास नयाँ दिल्ली र रुपन्देही प्रहरीलाई आएको थियो ।
पछिल्लोपटक बन्धक बनाइएको स्थानबाट केही नेपाली भागेर दिल्ली दूताबासको सम्पर्कमा पुगेका थिए भने केहीका परिवारले रुपन्देही प्रहरीका उजुरी दिएका थिए । उक्त सूचनापछि दूताबाससहितको टोली कुशीनगर पुगको थियो । नेपाली राजदूताबास नयाँ दिल्लीका प्रमुख कन्सुलर अम्बिका जोशीले सबैको साथले उद्धार गर्न सकिएको बताए ।
बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रुपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेका थिए ।
कुशीनगरमा बन्धक बनाएर नेपालमा आफन्तलाई फोन गरी फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो । दिल्ली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले नेपालीहरुले नै सेल्टर खोलेर नेपालबाट युवायुवती लगेर जवरजस्ती नेटवर्किङ काममा लगाउने गरेको सुनाए ।
किन इण्डियाका प्रमुख नवीन जोशीले जागिरको प्रलोभनमा कुशीनगर लगिएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तार गरी नेटवर्किङको काम गर्ने गरेको सुनाए । काम नगर्ने र नेटवर्क विस्तार गर्न नसक्नेलाई बन्धक बनाएर नेपालमा फिरौती माग्ने गरिएको जोशीको भनाई छ ।
प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको हो । सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ । तीमध्ये बन्धक बनाउनेको मुख्य गिरोह पहिचान गरेपछि बन्धक बनेकाहरुलाई परिवारको जिम्मा लगाएर थप अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले सबैजनाको एक–एक गरी स्क्रिनिङ पनि गरेको छ ।
