News 24 Television
दीपक भट्टले सेयर कारोबार नै ब्रोकरमा थोपर्न खोजे, सुलभसंगको सम्बन्ध केलाउँदा जे देखियो...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच ठुला कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गरेको अभियोगमा हाई–प्रोफाइल व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल विगत दुई महिनादेखि प्रहरी हिरासतमा छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४० जनाभन्दा बढीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिसकेको छ। तर, हिरासतको कोठाभित्र सीआईबीका अनुसन्धान अधिकृतहरूसामू भट्ट र अग्रवालले के बयान दिए त ? 

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ परेको दुई महिना पुगेको छ। केन्द्रीय अनुसन्धान विभाग सीआईबीले गत चैत १९ गते व्यवसायी दीपक भट्ट र त्यसको २ दिनपछि व्यवसायी सुलभ अग्रवाललाई पक्राउ गरेको थियो। पक्राउपछि दीपक भट्ट ६० दिनदेखि र सुलभ अग्रवाल ५८ दिनदेखि नै प्रहरीको हिरासतमा छन । 

सम्पत्ति शुद्धीकरणको यो अनुसन्धानमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।तर उमेर तथा प्रमाण नष्ट गर्न नसक्ने भन्दै उनलाई भने हाजिरी जमानीमा छाडियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले धितोपत्रमा चलखेल गरेको र दीपक भट्टसँग मिलेमतो गरेर कृतिमरुपमा मूल्य बढाउने, कृत्रिम कारोबार गर्ने लगायतका कार्यमा संलग्न रहेको अभियोगमा व्यवसायी शेखर गोल्छालाई समेत भैरहवाबाट पक्राउ गरेको थियो । 

तर अदालतको आदेशबाट उनी थुनामुक्त भए पनि उनको हकमा समेत अनुसन्धान भइरहेको छ । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको यो प्रकरणमा बीमा,पुनर्बीमा, धितोपत्र बजार, पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग,बैंकिङ ट्रेल र त्यसमा पुराना व्यापारिक घरानासम्म मुछिएका छन । 

भट्ट र अग्रवालले सम्पत्ति शुद्धीकरणका लागि शंकास्पद वित्तीय कारोबार गरेको पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गरी सेयर बजार तथा अन्य लगानीका क्षेत्रमा घुमाएर स्रोत लुकाउने वा शुद्धीकरण गर्ने प्रयास गरेको आरोप लागेको छ । 

हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित ४० भन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुले सेयर बजारमा निश्चित कम्पनीको मूल्य बढाउने र घटाउने गरी सेयर खरिद–बिक्री गर्दै आएको प्रहरीको आरोप छ । 

जसमा सिआइबीले धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ। तर,हिरासतको कोठाभित्र सीआईबीका अनुसन्धान अधिकृतहरू सामु यी दुई हाइप्रोफाइल व्यवसायीले के बयान दिए त ?

सुरुमा हेरौ दीपक भट्टले बयानका क्रममा के के भने ?

व्यवसायी दीपक भट्टले सेयर बजारमा आफ्नो नामबाट भएको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।हिमालयन रि इन्स्योरेन्सको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएर कम्पनीलाई हानी–नोक्सानी पु¥याएको आरोपमा सीआईबीले बिमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको क्रममा बयान दिँदै उनले भृकुटी स्टक ब्रोकिङ कम्पनी अर्थात ब्रोकर नं. ५५ मार्फत भएको सेयर कारोबारमा आफू संलग्न नरहेको र ब्रोकरले नै आफ्नो खाताको दुरुपयोग गरेको दाबी गरेका छन् । 

बयानका क्रममा भट्टले आफ्ना विभिन्न व्यावसायिक लगानीहरूको विवरण खुलाएका छन् । उनको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको र उक्त कम्पनीमार्फत हिमालयन रि इन्स्योरेन्समा ४.५ प्रतिशत सेयर रहेको उनले बताएका छन्।साथै, दुईवटा माइक्रो इन्स्योरेन्समा १५÷१५ प्रतिशत र हिमालयन एसेट म्यानेजमेन्टलगायतका कम्पनीमा आफ्नो लगानी रहेको उनले स्वीकार गरेका छन् ।दोस्रो बजारमा हुने नियमित सेयर कारोबारमा भने उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । 

मैले सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङमा एउटा मात्र खाता खोलेको र सम्झौता गरेको छु। तर, उक्त सम्झौता कार्यान्वयनमा आएको छैन । मैले हालसम्म कुनै कारोबार गरेको छैन बयानमा भट्टले भनेका छन्। भट्टले ब्रोकर कम्पनीले आफ्नो अनुमतिबिनै कारोबार गरेको आरोप लगाएका छन् ।

सेयर खरिदका लागि अनिवार्य हुनुपर्ने २५ प्रतिशत कोल्याटरल अर्थात धरौटी समेत आफूले नदिएको अवस्थामा कारोबार हुनुले नै आफू वास्तविक धनी नभएको उनको तर्क छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र मेरो खाता प्रयोग गरी कारोबार भएको थाहा पाएँ ।मेरो खातामा सेयरको मूल्य वृद्धि गरी डम्प गरिएको देखिन्छ । म यसको लाभग्राही होइन,उल्टै ममाथि जालसाँजी भएको छ, भट्टले बयानमा भनेका छन् ।

अनुसन्धानका क्रममा उनको र अन्य केही कम्पनीहरूको सेयर कारोबार गर्दा प्रयोग भएको टीएमएसको आईपी एड्रेस एउटै कार्यालयबाट सञ्चालन भएको पाइएको थियो ।यसले गर्दा अर्कै कुनै समूह वा कार्यालयबाट आफ्नो नाममा कारोबार भइरहेको हुनसक्ने तर्फ उनले संकेत गरेका छन् ।खाता दुरुपयोग भएको थाहा पाएपछि भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानसँग सोधपुछ गर्दा ब्रोकरले गल्ती स्वीकार गरेको बताएका छन् ।सन्दीप चाचानले आफ्नै गल्ती स्वीकार गर्दै माफी मागेका थिए र समस्या समाधान गर्ने बचन दिएका थिए, भट्टले बयानमा भनेका छन।

सोही आश्वासनका कारण आफूले सुरुमा कानुनी उपचार नचलाएको उनले बताएका छन। हाल हिरासतमा रहेका भट्टले आफू कुनै पनि कम्पनीको बोर्ड वा व्यवस्थापनमा नरहेको र सेयर बजारलाई प्रभाव पार्ने कुनै कार्य नगरेको भन्दै कसुरमा आफ्नो संलग्नता नरहेको बयानमा भनेका छन।हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप खेपिरहेका भट्टले सम्पूर्ण दोष भृकुटी स्टक ब्रोकिङ अर्थात् ब्रोकर नम्बर ५५ को थाप्लोमा  बयानका क्रमा थुपारिदिएका छन् ।

अब सुलभ अग्रवालले बयानमा के भनेका छन त ? 

हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवालले बिमा कम्पनीको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप अस्वीकार गरेका छन्।हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका कम्पनीहरूको रकम दुरुपयोग गरी सेयर किनेर व्यक्तिगत लाभ लिएको विषयमा बिमा ऐनसम्बन्धी कसुरमा सीआईबीको अनुसन्धानमा बयान दिँदै उनले आफूले बिमा ऐनविपरीत कुनै पनि कार्य नगरेको दाबी गरेका छन।

सुलभले दीपक भट्ट र उनका कर्मचारीहरु आफ्नो कार्यालयमा आइरहने हुनाले कार्यालयको फ्रि वाईफाई प्रयोग गरी सेयर किनबेच गरेको हुनाले भट्टको कारोबारमा आफ्नो कार्यालयको आइपी एड्रेस देखिएको हुनसक्ने बयान दिएका छन्।साढे दुई महिनाअघिसम्म हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहेको र उक्त कम्पनीमा आफ्नो व्यक्तिगत ३० करोड रुपैयाँ लगानी रहेको बयानमा उनले बताएका छन् ।उनले कम्पनीको सेयर खरिद–बिक्रीसम्बन्धी निर्णय व्यवस्थापन र लगानी समितिले गर्ने भन्दै त्यसमा आफ्नो संलग्नता नरहने दाबी गरेका छन् ।

बयानका क्रममा अग्रवालले श्रीमती सुभी अग्रवालले ५५ नम्बर ब्रोकर भृकुटी स्टक ब्रोकिङ मार्फत सेयर कारोबार गर्ने गरेको स्वीकार गरेका छन् ।उनले भनेका छन्, श्रीमतीले ५५ नम्बर ब्रोकरसँग विगतदेखि नै कारोबार गर्दै आएकी छिन् ।

हाल उनले उक्त ब्रोकरलाई करिब ६२ करोड रुपैयाँ तिर्न बाँकी छ ।सीआईबीसँगको बयानमा अग्रवालले भनेका छन्, उक्त रकम श्रीमतीले उधारो वा सापटीका रूपमा लिएको र सो रकम उनैले प्रयोग गरेको हो ।हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको हिमालयन लार्ज क्याप फण्ड को रकम योजनाबद्ध रूपमा ५५ नम्बर ब्रोकरको खातामा पठाई व्यक्तिगत लाभ लिएको भन्ने आरोपलाई उनले अस्वीकार गरेका छन् ।

मैले अध्यक्षको हैसियतमा कुनै प्रभाव प्रयोग गरी म्युचुअल फण्डको रकम ब्रोकर कहाँ पठाएको छैन ।म उक्त फण्डको कुनै पदमा पनि छैन र बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कुनै कसुर गरेको छैन।अग्रवालले आफ्नो नक्सालस्थित निजी कार्यालयको आईपी एड्रेस सेयर कारोबारमा प्रयोग भएको सम्बन्धमा कार्यालयमा फ्रि वाईफाई रहेको र त्यहाँ आफ्ना कर्मचारीका साथै व्यवसायी दीपक भट्ट वा उनका कर्मचारीहरू आउने–जाने क्रममा उक्त वाईफाई प्रयोग गरेको हुनसक्ने बताएका छन् ।

दीपक भट्ट र उनका कर्मचारीहरू मेरो कार्यालयमा आउने–जाने गर्दथे,त्यसैले मेरो कार्यालयको आईपी एड्रेस प्रयोग भएको हुनसक्छ।यसमा मेरो कुनै भूमिका छैन,अग्रवालले बयानमा भनेका छन् ।उनले दीपक भट्टसँग आफ्नो हाल कुनै लेनदेन नरहेको तर परिवारका अन्य सदस्यहरूको केही लेनदेन बाँकी रहेको बताएका छन् ।

हिमालयन रि इन्स्योरेन्सको कुनै जिम्मेवारीमा नरहेको तर आफू सेयरधनी रहेको अम्बर प्रो इन्भेष्टमेन्ट मार्फत त्यहाँ लगानी मात्र रहेको उनले बताएका छन्।साथै,जगदम्बा स्टिल्स आफ्नो कम्पनी नभएको समेत उनले बयानमा उल्लेख गरेका छन्।उनले आफूले अरू कसैको टीएमएस युजरनेम र पासवर्ड प्रयोग नगरेको र श्रीमतीको सेयर कारोबारमा कहिलेकाहीँ गाइड गर्ने वा अनुमति लिएर कर्मचारीमार्फत काम गरिदिने गरेको स्वीकार गरेका छन्।

एकातिर सरकारी अनुसन्धान निकाय सीआईबीले ३ अर्ब ७३ करोडको संगठित अपचलन र धितोपत्र बजारमा सेटिङ भएको बलियो प्रमाण दाबी गरिरहेको छ।अर्कोतिर, पक्राउ परेका दुई भीआईपी व्यवसायीहरू ब्रोकरले खाता दुरुपयोग गरेको र कार्यालयको वाईफाई अरूले प्रयोग गरेर फसाएको भन्दै पन्छिन खोजिरहेका छन।तर प्रश्न उठ्छ—अर्बौँको कारोबार हुँदा र आईपी एड्रेसहरू एउटै भेटिँदा के यो केवल संयोग मात्र हो त? बिमा र सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको रकममाथि भएको यो खेलबाडको फैसला अब अदालतले गर्नेछ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update