News 24 Television
अपरेसन चार्लीबाट खुलेको रहस्य, नक्कली नोट छाप्ने गिरोह पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट, नोट छाप्न प्रयोग गरिएका उपकरण र त्यसमा संलग्न मानिसहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले उक्त कार्यमा संलग्नहरु बारे जानकारी दिएको हो । 

रुपन्देही प्रहरीले नक्कली नोट, छाप्ने मेसिनरी उपकरणसहित ६ जनालाई पक्राउ गरेको छ । असार २६ गते बुटवलमा चिनजानकै गंगा कुमारी पुर्वछानेले एक महिलालाई इसेवामार्फत् २ हजार १ सय रुपैयाँ ट्रान्सफर गर्न लगाएर दुईवटा हजारका नोट दिएकी थिइन् । 

पछि ती नोट नक्कली भएको थाहा पाएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी थिइन् । पूर्वछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नक्कली नोट, छाप्ने मेसिनरी उपकरणसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । 

अनुसन्धानका क्रममा बुटवल र पोखराका आरोपीहरुका घरबाट समेत नक्कली एक हजार दरका नोट प्रहरीले बरामद गरेको छ । 

डीएसपी चन्दका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको बुटवल 

उपमहानगरपालिका–११, सिर्जनानगर बस्ने बर्ष ३६ की गंगा कुमारी पुर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ बस्ने कृष्ण भन्ने किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा नगरपालालिका–२ बस्ने संजय थारु, दोलखाको सैलुङ गाउँपालिका–४ वस्ने वर्ष ३८ को पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलुगुढी भक्तिनगर थाना बस्ने वर्ष ४९ को बासुमित्र आनन्द रहेका छन् । 

उनीहरुको घर तथा शरीर खानतलासीको क्रममा तयार भएका सक्कली जस्तो देखिने एक हजार दरका नक्कली नेपाली नोट ६ सय २२ थान बरामद गरिएको डीएसपी चन्दले बताए । 

प्रहरी फोटोकपी मेसिन, डेल कम्पनीको ल्याप्टप, नक्कली नोट कटिङ गर्न प्रयोग हुने मेसिन,  नक्कली नोट प्रिन्ट गर्न प्रयोग हुने प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गर्ने पेपर १ कार्टुन पनि बरामद गरेको छ । 

यस्तै, नक्कली नोट बनाउन प्रयोग हुने केमिकल, लेमिलेसन मेसिन, प्लाष्टिक पेपर र ६ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । 

पीडित महिलाको निवेदनका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय र इलका प्रहरी कार्यालय बुटवलले ‘अपरेसन चार्ली’ नाम दिएर नक्कली नोट सम्बन्धी संयुक्त अनुसन्धान सुरु गरेका थिए । 

पक्राउ गरेमा ६ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीे जनाएको छ । रुपन्देहीमा यसअघि पनि लुम्बिनी, सालझण्डी र बुटवलमै नक्कली नोट बरामद भएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update