काठमाडौं । ‘हिजो गल्ती भयो, अब समाजसेवामा लाग्छु’ भनी करिब तीन वर्षअघि कारागारबाट छुट्दा अभिषेक गिरीले दिएको सन्देशले धेरैलाई उनी बदलिएको विश्वास दिलाएको थियो । तर, समाजसेवाको आवरणमा पुरानै आपराधिक सञ्जाल सञ्चालन गरेको आरोपमा अहिले उनी फेरि प्रहरी नियन्त्रणमा छन् । मोरङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेका छन् ।
२०७९ चैत ५ गते नौ वर्ष जेल सजाय भुक्तान गरेर कारागारबाट निस्कँदा अभिषेक गिरी साधु भएको आभाष दिलाएका थिए । विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाउँदै उनले समाजसेवामा समर्पित हुने घोषणा गरेका थिए ।
त्यसपछि उनले ‘गिरी फाउन्डेसन’ स्थापना गरे, सामाजिक कार्यक्रममा सक्रिय देखिए र आर्थिक रूपमा विपन्नलाई सहयोग गर्न थाले । तर, प्रहरी अनुसन्धानले अभिषेक समाजसेवाको आडमा आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै गम्भीर प्रश्न उठाएको छ ।
गिरीमाथि लागेको आरोप के हो ?
अहिले सीआईबीले अनुसन्धानका लागि मोरङबाट काठमाडौं ल्याएका गिरीलाई यसअघि जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको थियो । उनी पक्राउ परेको विषय पनि निकै रोचक छ । कारागार बाहिरका मान्छेको कारागारभित्र कुनै पहुँच हुँदैन ।
कुनै कैदीबन्दीलाई भेट्न जानु प¥यो भने पनि भेटघाटको कारण खुलाउँदै प्रशासनको अनुमति लिएर सुरक्षा जाँच पार गर्नुपर्ने हुन्छ । अझ कारागारभित्रको प्रशासनको बाहिर कुनै साइनो नै हुँदैन । यति सुरक्षित रहने कारागारको शासन भने गिरीले बाहिरै बसेर चलाउँथे ।
कैदीबन्दीको रासन भत्तामा समेत कब्जा जमाएर असुल्ने गरेको भन्दै गिरीविरुद्ध कैदीबन्दीले नै आवाज उठाएका थिए ।
कैदीबन्दीले बनाएको मुढा र गलैँचाको पैसा गिरीले बुझ्ने गरेको आरोप छ । असार १२ गते कैदीबन्दीलाई बाँडेको १३ लाख ४० हजार रुपैयाँ असुल गरेको आरोप पनि गिरीमाथि छ ।
कारागारभित्रको खाद्यान्न र तरकारी आपूर्तिमा समेत उनको सिन्डिकेट चल्ने गरेको कैदीबन्दीको गुनासो थियो । प्रहरीका अनुसार, गिरीमाथि अहिले दुई फरक प्रकृतिका आरोपमा अनुसन्धान भइरहेको छ ।
मोरङमा कारागारभित्र हुने आर्थिक गतिविधिमा बाहिरबाट प्रभाव पार्दै कैदीबन्दीको रासन भत्ता, उनीहरूले उत्पादन गरेका सामग्रीको रकम तथा आपूर्ति व्यवस्थामा अवैध हस्तक्षेप गरेको आरोपका आधारमा असार १३ गते मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको घरमा गरिएको खानतलासीका क्रममा नगद गन्ने मेसिनसमेत फेला परेको प्रहरीले जनाएको छ ।
उच्च अदालत विराटनगरको आदेशपछि उनी मोरङबाट छुटे पनि त्यही दिन सीआईबीले पुनः नियन्त्रणमा लियो । यसपटक भने निर्माण व्यवसायी सुवास श्रेष्ठको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
पहुँचका आधारमा ठेक्का दिलाइदिने आश्वासन दिएर ठगी गरेको, निर्माण उपकरण नियन्त्रणमा लिएको तथा जबर्जस्ती सम्पत्ति हस्तान्तरण गराएको आरोपमा आपराधिक विश्वासघात र ठगीसम्बन्धी अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ । प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन र बयान लिने काम जारी रहेको जनाएको छ ।
अभिषेक गिरीको आपराधिक पृष्ठभूमि
अभिषेक गिरीको आपराधिक पृष्ठभूमि भने लामो छ । प्रहरीको अभिलेखअनुसार उनी पहिलो पटक २०५८ सालमा पक्राउ परेका थिए । त्यसयता कुटपिट, सार्वजनिक अपराध, डाँका चोरी, ज्यान मार्ने उद्योग र अन्ततः अपहरण तथा शरीर बन्धकजस्ता विभिन्न मुद्दामा उनी ११ पटकसम्म पक्राउ परिसकेका छन् ।
२०७१ सालमा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएपछि उनले लामो जेल सजाय भुक्तान गरेका थिए । कारागारबाट छुटेपछि उनी सामाजिक र राजनीतिक गतिविधिमा समेत सक्रिय बने । तर, पछिल्ला घटनाक्रमले उनको पुनः आपराधिक गतिविधिसँग सम्बन्ध रहेको आरोपलाई प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अझै जारी रहेकाले उनीमाथि लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको अवस्था भने होइन । अब प्रहरी अनुसन्धान र अदालतको अन्तिम निर्णयले अभिषेक गिरीको कर्तुतको नयाँ पर्दाफास हुनेछ ।
