बारा । बाराको निजगढ नगरपालिका–८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा तीन दिनदेखि जारी सरकार र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनको निर्णायक वार्ता अब राजधानी काठमाडौंमा हुने भएको छ । मिटरब्याज पीडित सरकारसँग वार्ता गर्न जहाजबाट काठमाडौं आएका छन् ।
जनकपुरबाट काठमाडौंतर्फ पैदल न्याय मार्चमा रहेका मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालका प्रतिनिधिहरूसँग गृहमन्त्री सुधन गुरुङले बुधबार करिब पाँच घण्टा लामो छलफल गरेका थिए । छलफलका क्रममा आन्दोलनकारीहरूले उठाएका छ बुँदे मागबारे विस्तृत रूपमा कुराकानी भएको थियो ।
आन्दोलन पक्षका अनुसार सरकारले उनीहरूले अघि सारेका सम्पूर्ण माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । बुधबार राति निष्कर्षविहीन बनेको वार्तापछि नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले आन्दोलनकारीलाई वार्ता टोली गठन गरी सिंहदरबारस्थित गृह मन्त्रालयमा आउन आग्रह गरेका थिए ।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले सहमतिपत्रमा रहेका केही शब्द तथा भाषागत विषयमा संशोधन गर्न आवश्यक रहेको बताएका थिए । कानुनी तथा प्राविधिक पक्षसमेत मिलाउनुपर्ने भएकाले तत्काल हस्ताक्षर गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।
त्यसपछि गृहमन्त्रीको पटक–पटकको आग्रह र आन्दोलनकारी पक्षको आन्तरिक छलफलपछि मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले पाँच सदस्यीय वार्ता टोली गठन गरी बिहीबार काठमाडौं प्रस्थान गरेको हो । अन्य आन्दोलनकारी भने वार्ताको नतिजा नआएसम्म बाराको निजगढमै रहने जनाइएको छ ।
काठमाडौं प्रस्थान आएको पाँच सदस्यीय वार्ता टोलीको संयोजकमा केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा रहेका छन् । टोलीमा केन्द्रीय महासचिव मनोज कुमार पासवान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे तथा केन्द्रीय हेडक्वाटर सदस्य किरण परियार सदस्य रहेका छन् । वार्ता टोलीको रोहबरमा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन लगायतका प्रतिनिधिहरू पनि काठमाडौं आएका छन् ।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहाले सरकारले माग पूरा गर्न सकारात्मक प्रतिबद्धता जनाएको भए पनि त्यसलाई कानुनी रूपमा स्पष्ट र लिखित रूपमा सुनिश्चित गर्नुपर्ने बताए ।
उनले आन्दोलनकारीको उद्देश्य सहमतिपत्रमा हस्ताक्षर मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको उल््लेख गर्दै वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
