कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले स्वर्गीय हिज हाइनेस फादर अमिर शेख हमद बिन खलिफा अल थानीप्रति श्रद्धाञ्जली अर्पण गर्न शोकसभा आयोजना गरेको छ।
कार्यक्रममा उनको दूरदर्शी नेतृत्व तथा कतारको समृद्धि, विकास र विश्वमञ्चमा स्थापित गराउन पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गरिएको थियो।
कार्यक्रममा कतारस्थित नेपाली राजदूतावासका कूटनीतिज्ञ प्रेमप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै कतारमा क्रियाशील विभिन्न नेपाली सामाजिक तथा कल्याणकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शोकको यस घडीमा नेपाली समुदायले एकता र ऐक्यबद्धता प्रदर्शन गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुआत पवित्र कुरआनको तिलावतबाट भएको थियो भने मौलाना गुलाम नबी रजबीले स्वर्गीय फादर अमिरको आत्माको चिरशान्तिको कामना गर्दै कतार राज्यको शान्ति, स्थायित्व र समृद्धिका लागि विशेष दुआ गरेका थिए।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य दिँदै स्वर्गीय फादर अमिरको निधनप्रति गहिरो दुःख व्यक्त गरे।
उनले कतारका अमिर, राजपरिवार, सरकार तथा सम्पूर्ण कतारी जनताप्रति समवेदना व्यक्त गर्दै स्वर्गीय फादर अमिरको दूरदर्शी नेतृत्व, राष्ट्र निर्माणमा खेलेको ऐतिहासिक भूमिका र उनले छोडेको प्रेरणादायी विरासतको प्रशंसा गरे। पन्थीले कतारलाई विश्वकै सम्मानित र समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न फादर अमिरको योगदान अविस्मरणीय रहेको बताए।
कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक मोहम्मद रमजान अली मियाँले नेपाल–कतारबीचको लामो समयदेखिको मित्रवत सम्बन्ध र बढ्दो सहकार्यबारे चर्चा गरे। उनले स्वर्गीय फादर अमिरको नेतृत्वमा कतारले आर्थिक विविधीकरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय कूटनीतिमा उल्लेखनीय प्रगति हासिल गरेको बताए। साथै कतारले हजारौँ नेपालीलाई रोजगारी तथा अवसर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे।
कतारस्थित नेपाली दूतावासका तर्फबाट बोल्दै कूटनीतिज्ञ प्रेमप्रसाद पोखरेलले स्वर्गीय फादर अमिरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको उच्च प्रशंसा गरे।
उनले नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहयोग र मित्रतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले पनि शोक मन्तव्य व्यक्त गर्दै कतारले नेपाली समुदायलाई प्रदान गरेको अवसरप्रति आभार प्रकट गरे। साथै कठिन घडीमा कतारका नेतृत्व र जनताप्रति ऐक्यबद्धता तथा सम्मान व्यक्त गरे।
श्रद्धाञ्जली सभा अन्त्यमा स्वर्गीय हिज हाइनेस शेख हमद बिन खलिफा अल थानीको सम्मानमा सामूहिक प्रार्थना तथा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उनको दूरदर्शी नेतृत्व र योगदानले आगामी पुस्तालाई पनि प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका थिए।
