News 24 Television
राष्ट्रिय इन्जिनियर दिवस घोषणा गर्न इन्जिनियर्स एसोसियसनको माग

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रत्येक वर्ष साउन ३ गते मनाइने इन्जिनियर दिवसलाई सरकारले औपचारिक रूपमा ‘राष्ट्रिय इन्जिनियर दिवस’ घोषणा गरी सरकारी क्यालेन्डरमा समावेश गर्न आग्रह गरेका छन्।

एसोसियसनको ६४औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले पूर्वाधार र प्रविधि कुनै पनि राष्ट्रको आर्थिक विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै इन्जिनियरिङ क्षेत्रलाई प्राथमिकतामा राखेर राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने बताए।

उनका अनुसार नेपालमा दर्ता भएका करिब एक लाख इन्जिनियरमध्ये करिब ६० प्रतिशत युवा छन्। तर पर्याप्त रोजगारी र अवसरको अभावका कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको भन्दै उनले यसलाई रोक्न तत्काल प्रभावकारी नीति आवश्यक रहेको बताए।

‘युवा इन्जिनियरहरूको सीप, ज्ञान र दक्षताको उचित उपयोग गर्न राज्य, उद्योग र इन्जिनियरिङ समुदायबीच बलियो सहकार्य आवश्यक छ,’ उनले भने।

बरालले यस वर्षको इन्जिनियर दिवस 'Young Mind and Engineering: Shaping Better Nepal' भन्ने मूल नारासहित मनाइएको जानकारी दिँदै विकास निर्माणमा संलग्न प्राविधिकहरूले कार्यस्थलमा असुरक्षा, प्रशासनिक झन्झट र अनावश्यक दबाब झेल्नुपरेको गुनासो गरे। यस्तो अवस्थाले विकास आयोजनाको गति नै प्रभावित भएको उनको भनाइ थियो।

उनले प्राविधिकहरूको क्षमताको अधिकतम उपयोग गर्न पुरस्कार र दण्डको स्पष्ट प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याए। ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, सूचना प्रविधि, उद्योग तथा मानव संसाधनलगायत सबै क्षेत्रमा इन्जिनियरहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै बदलिँदो प्रविधिअनुसार सीप विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए।

सरकारसमक्ष एसोसियसनले इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत माग पनि अघि सारेको छ। 

अध्यक्ष बरालले विकास निर्माणमा खटिने इन्जिनियरका लागि सुरक्षित कार्य वातावरणको कानुनी प्रत्याभूति, रणनीतिक सरकारी निकायको नेतृत्व तहमा प्राविधिक पृष्ठभूमिका इन्जिनियरहरूको प्रतिनिधित्व, छुट्टै इन्जिनियरिङ सेवा आयोग गठन तथा नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान  स्थापना प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरे।

त्यसैगरी, युवा इन्जिनियरका लागि पर्याप्त रोजगारी सिर्जना, विकास आयोजनाको सुपरभिजन इन्जिनियरबाटै गराउने व्यवस्था, निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियरहरूको न्यूनतम मासिक पारिश्रमिक  ३७ हजार १३५ कार्यान्वयन तथा प्राविधिक त्रुटिलाई स्वतः भ्रष्टाचारको कसुर अन्तर्गत नराख्ने कानुनी व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरे।

अध्यक्ष बरालले नेपाल इन्जिनियर्स एसोसियसन इन्जिनियरहरूको पेशागत हकहितको संरक्षण, नवप्रवर्तनको प्रवर्द्धन र राज्यसँग इन्जिनियरिङ समुदायलाई जोड्ने साझा संस्थाका रूपमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टलाई पेशागत नैतिकता र इमान्दारितालाई सर्वोच्च प्राथमिकतामा राखेर समृद्ध नेपाल निर्माणमा योगदान दिन आह्वान गरे।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update