मोरङ । उद्घाटन भएको करिब ३ वर्षपछि विराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवा पुनः शुरु भएको छ । पारवहन सन्धीको प्रोटोकल संसोधन पछि विराटनगरको एकीकृत जाँच चौकीस्थित नेपालको कस्टम यार्डसम्म कार्गो रेल आएको हो ।
विराटनगर स्थित एकिकृत जाँच चौकीसम्म कार्गो रेलको सेवा पुनः शुरु भएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० साल जेठ १८ गते उद्घाटन गरेयता कार्गो रेल आउन सकेको थिएन ।
मोरङको नेमुवास्थित स्वस्तिक आयल इण्डष्ट्रिजले मगाएको तोरी बोकेका ४० वटा कन्टेनरसहितको कार्गो रेल नेपाल भंसार यार्डसम्म आएको हो । रेल आएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।
कार्गो रेलबाट ढुवानी गर्दा ढुवानी लागत २५ देखि ३० प्रतिशत घट्ने, कोलकाता बन्दरगाहबाट विराटनगरसम्म २४ घण्टामा सामान आईपुग्ने र बाटोमा सामान चोरी हुने समस्या निराकरण हुने भएकाले अन्य क्षेत्रका उद्योगहरुसँग प्रतिस्पर्धा गर्न सहज हुने उद्योगी व्यवसायीहरुले बताएका छन् ।
भारत सरकार अन्र्तर्गतको कन्कोर अर्थात कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेडको कार्गाे रेलबाट सोमवार एनसिवाई अर्थात नेपाल कस्टम यार्ड सम्म मालवाहक रेल आएको हो ।
कन्कोरका प्रतिनिधि संजिव साहले हप्तामा दुई दिन कोलकाताबाट विराटनगरसम्म कार्गो रेल संचालन गर्ने र यसलाई आवश्यकता अनुसार बढाउदै लैजाने जानकारी दिए ।
पारवहन सन्धीको प्रोटोकल संसोधनपछि विराटनगरको एकीकृत जाँच चौकीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल आएको हो । कार्गो रेल संचालन पछि विराटनगर आएको कन्टेनर खाली फर्कने भएकाले यहाँबाट वस्तु निर्यातमा पनि सहजता आउने उद्योगी व्यवसायीहरुले बताएका छन् ।
