दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–४ सुन्द्रावतीमा व्यावसायिक चिया खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । बाँझो जमिन हरियो चिया बगानमा रूपान्तरण भएपछि महिला, ज्येष्ठ नागरिक र युवाले दैनिक १८ सय रुपैयाँसम्म आम्दानी गर्दै स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य टेवा पु¥याएका छन् ।
दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा व्यावसायिक चिया खेतीले गाउँको स्वरूप फेरिएको छ । रोजगारीको अभावका कारण हुने युवा पलायन र बाँदर आतंकजस्ता समस्याको समाधान गर्दै चिया खेती स्थानीयका लागि आयआर्जनको भरपर्दो माध्यम बनेको छ ।
पहिले उत्तिसको घारीले ढाकिएको र झुसुले किराको समस्याले विद्यालयका विद्यार्थीसमेत प्रभावित थिए । तर यो क्षेत्र वडा कार्यालयको पहलमा सफा गरी इलामबाट ल्याइएका २५ हजार चियाका बिरुवासहित हरियो चिया बगानमा रूपान्तरण गरिएको छ ।
प्रारम्भिक परीक्षण सफल भएपछि यसको व्यवस्थापनको जिम्मा स्थानीयको सहभागितामा बनेको सुन्द्रावती चिया विकास समूहलाई हस्तान्तरण गरिएको छ । ७–८ वर्षको अन्तरालमा यहाँ उत्पादित चियाले बजार पाउन थालेको छ ।
प्रति किलो १०० रुपैयाँका दरले चियाको मुना टिप्ने व्यवस्था भएपछि महिला, ज्येष्ठ नागरिक र परीक्षा दिएर बसेका विद्यार्थीले गाउँमै रोजगारी पाएका छन् । बिहानदेखि साँझसम्म काम गर्ने मजदुरले दैनिक १८ सय रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
वडा कार्यालयको बजेट र लगानीमा अघि बढाइएको यस योजनामा चालु आर्थिक वर्ष मात्रै ४ लाख रुपैयाँ थप लगानी गरिएको छ । चिया प्रशोधन सहज बनाउन ६ लाख रुपैयाँ लागतमा तीन प्रकारका आधुनिक प्रशोधन मेसिनसमेत सञ्चालनमा ल्याइएको छ ।
स्थानीय सरकारको सही योजना र निरन्तर लगानी भए बाँझो जमिनलाई पनि आम्दानीको स्रोत बनाउन सकिने उदाहरण सुन्द्रावतीको चिया खेतीले प्रस्तुत गरेको छ ।
