सप्तरी । सप्तरीको विष्णुपुर–६ मा माय जलपा बचत तथा ऋण सहकारीका अध्यक्षले ऋणीहरूको धितो जग्गा फिर्ता नगरी आफ्नै परिवारको नाममा नामसारी गरेर बैंकमा धितो राखेको आरोप लागेको छ । बैंकले लिलामी सूचना प्रकाशित गरेपछि पीडितहरू ठगीको तथ्य थाहा पाएसँगै जग्गा फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै न्यायको खोजीमा भौतारीरहेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरकी रेणु देवी दासले २०७२ सालमा माय जलपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट छोरीको विवाहका लागि दुई लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले ब्याजसहित पटक–पटक गरेर करिब १४ लाख रुपैयाँ तिरेर तीन वर्षअघि नै ऋण चुक्ता गरिन् । तर सहकारीका अध्यक्ष दिलिप यादवले घरको लालपुर्जा फिर्ता दिन आलटाल गर्दै आएका छन् ।
अहिले मल्टीपर्पस् फाइनान्स बैंकले उक्त घरजग्गा लिलामीको सूचना प्रकाशित गरेपछि सहकारी अध्यक्षको कर्तुत सार्वजनिक भएको छ भने पीडित परिवार न्यायको खोजीमा भौतारिएको छ । अनुसन्धानका क्रममा सहकारीका अध्यक्ष यादवले जग्गा आफ्नो पत्नी सुनिता यादवको नाममा नामसारी गराई सोही जग्गा धितो राखेर बैंकबाट ऋण लिएको आरोप लागेको छ । बैंकले लिलामी सूचना जारी गरेपछि मात्रै पीडितले आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएका हुन् ।
लिलामी सूचना देखेपछि रेणु दास बैंक पुगेर आफ्नो जग्गाबारे जानकारी मागेकी थिइन् । बैंकले ऋण बराबरको रकम तिरेपछि मात्रै जग्गा फिर्ता गर्न सकिने जनाएको उनको भनाइ छ । त्यसपछि उनले सहकारी अध्यक्षलाई बैंक जान आग्रह गरे पनि उनले अस्वीकार गर्दै सम्पर्कबाट टाढिएका छन् ।
यस्तै स्थानीय पुलकित मुखियाले पनि ५० हजार रुपैयाँ ऋण लिएर धितो राखेको एक कठ्ठा जग्गा ऋण चुक्ता गर्दा समेत फिर्ता नपाएको र आफ्नो नामबाटै नामसारी गरिएको आरोप लगाएका छन् ।
पीडितहरू सहकारीका सञ्चालकले सम्पत्ति बेचेर फरार हुने आशंकामा छन् । उनीहरू आफ्नो जग्गा फिर्ता गराइ दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग न्यायको माग गरिरहेका छन् ।
