काठमाडौँ । नेपालको पुँजीबजार (शेयर बजार) विगत केही वर्षयता लगातार मन्दी, अनिश्चितता र लगानीकर्ताको निराशाबाट गुजरिरहेको छ । विगतमा एमाले–काँग्रेस लगायतको सरकारले समेत यो निराशा चिर्न नसकी झनै नीतिगत अन्यौलको भुमरीमा बजार फस्यो । गत फागुनको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने स्थिर सरकार र चुनावी घोषणापत्र अनुसारका पुँजीबजारमैत्री नीति आउने अपेक्षामा लगानीकर्ताहरूले ठूलो आशा राखेका थिए । अर्थशास्त्रका विज्ञ डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि बजारले नयाँ गति लिने विश्वास गरिएको थियो । तर सरकार गठन भएको ५ महिना बितिसक्दा बजारमा चरम निराशा, विश्वासको संकट र पुँजी पलायनको स्थिति देखिएको छ । सरकार बनेयता पुँजीबजारमा करिब ६ खर्ब रुपैयाँ सम्पत्ति घटिसकेको छ भने अघिल्लो साउनको तुलनामा यस साउन महिनामा सरकारले पाउने पुँजीगत लाभकर समेत डेढ अर्बले घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र इतिहासकै सस्तो ब्याजद हुँदाहुँदै पनि लगानीकर्ता र व्यवसायीमा लगानी गर्ने हिम्मत देखिएको छैन । यही चरम निराशा र अविश्वास अहिले नेता सांसदहरुले उठाइरहेका छन् ।
आफ्नै देश चिन्न नसकेका अर्थमन्त्री
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्र्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेट पहिलो महिनामै असफल साबित भएको दाबी गरिन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरूले ऋण लिएर लगानी गर्न नचाहनु सरकारप्रतिको चरम अविश्वास भएको उनको टिप्पणी छ । अर्थमन्त्रीले ३६ वटा देशलाई चिनेको भनेर सत्तापक्षका सांसदले भन्ने गरेको सन्दर्भ निकाल्दै उनले ३६ देशलाई चिनेर आफ्नै देशलाई अर्थमन्त्री वाग्लेले चिन्न नसकेको बताइन् । वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबिसक्दा पनि गम्भीर नदेखिएको तर चिठ्ठा खेलाउनमा रमाइरहेको उनको आरोप छ ।
पुँजी पलायन तीव्र
रास्वपाको सरकार बनेदेखि उद्योगी व्यवसायी र समग्र निजी क्षेत्रमा एकप्रकारको त्रास र अन्यौल देखापरेको छ । नेपालबाट दुबई लगायत देशमा पुँजी पलायन तीव्र भइरहेको चर्चा छ । यसै क्रममा संसदको पूर्वाधार विकास समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर नभएको र उद्योगी–व्यवसायीहरूलाई अनावश्यक धरपकड गरी थुन्ने तथा धरौटी माग्ने कामले लगानीकर्ता निरुत्साहित भएको बताएका छन् । उद्योगीहरूलाई कमिसनको झन्झट र एकद्वार प्रणालीको अभावले पलायन हुनुपरेको उनको भनाइ छ । उनका अनुसार अहिले नेपालमा एकद्वार प्रणाली नभएका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता पलायन भइरहेका छन् । एउटा उद्योग स्थापना गर्दा ढोका–ढोकामा कमिसन बुझाउँदा बुझाउँदा उद्योगीहरू टाट पल्टिने अवस्था छ । तमाम उद्योगीहरूलाई ल्याएर पक्रिने, थुन्ने, बिनाआधार कठघरामा राख्ने र करोडौँ धरौटीमा छाड्ने परिवेशमा कसैले लगानी नगर्ने उनको टिप्पणी छ ।
‘चुनावपछि गति लिने अपेक्षा थियो, तर भएन’
कांग्रेस सभापति गगन थापाले गत फागुनको चुनावपछि पुँजीबजारमा ठूलो सुधार आउने धेरैको अपेक्षा रहे पनि सरकारका गतिविधिकै कारण त्यसअनुसार सुधार हुन नसकेको बताएका छन् । आइतबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘नेपालको पुँजीबजार : आर्थिक लगानी आधार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संसद्मा प्रतिपक्षको भूमिकामा रहेर पुँजीबजारका समस्या र सुधारका विषयमा सशक्त आवाज उठाउने प्रतिबद्धता समेत जनाए । उनले भने– ‘पुँजीबजारको सन्दर्भमा अहिलेको चुनावपछि सबैभन्दा राम्रोसँग जाला भनेर अनुमान गरिएको थियो । सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो । तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी जान सकेको छैन ।’ उनले आफूहरु प्रतिपक्षमा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताए ।
रास्वपा नेतृत्वको सरकार र अर्थविद् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आएपछि पुँजीबजारले नयाँ उचाइ लिने अपेक्षा गरेका लाखौँ साना तथा ठूला लगानीकर्ताहरू यतिबेला झन् ठूलो निराशा र अन्योलमा फसेका छन् । बजारमा ६ खर्बभन्दा बढीको सम्पत्ति स्वाहा हुनु र सरकारी राजस्वमै डेढ अर्बको घाटा लाग्नुले नीतिगत स्थायित्व र लगानीकर्ताको मनोबलमा गम्भीर धक्का लागेको स्पष्ट पार्छ । निजी क्षेत्र र लगानीकर्तालाई विश्वासमा लिएर बेलैमा समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्छ ।
