काठमाडौं । बाढीका कारण राजमार्ग अवरुद्ध बनिरहेका छन्। रसुवा क्षेत्रको सडक पूर्वाधारमा ठूलो क्षति भएको छ भने बाढीकै बहावका कारण कृष्णभीरमा सडक बगेको छ। राष्ट्रिय राजमार्ग नै बन्द हुँदा धेरै विषय प्रभावित बनेको छ भने अन्य क्षेत्रका सडकमा भएको क्षतिले सरकारलाई अतिरिक्त तनाव थपिदिएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ ।
सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताएका छन्।
यता, सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको गएको बताएका छन् । उनकाअनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ । सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणवद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने देखिएको बताइएको छ ।
कृष्णभीरको पहिरो पन्छाएर अहिलेलाई सिंगल लेनको बाटो बनाउन सकिने र सडकको भित्तो कटिङ गरेर केही माथीबाट सडक खुलाउन सकिने प्राविधिकहरुको भनाई छ ।
बाढीको क्षति कति ?
स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहका अनुसार कुल क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका (वास आउट) छन् भने २० वटा सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ ।
बाढीले पुल बगाएपछि विच्छेद भएको जनजीवन र दुई बस्तीबीचको आवागमनलाई सहज बनाउन विभागले तत्काल पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने कार्य शुरु गरेको छ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ ।
स्थानीय पूर्वाधारको पुनस्र्थापनाका लागि विभागले प्रारम्भिक लागत अनुमान समेत सार्वजनिक गरेको छ । जसअनुसार झोलुङ्गे पुल मर्मतका लागि १५ करोड रुपैयाँ, झोलुङ्गे पुल पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ, अवरुद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्गका लागि ४० करोड रुपैयाँ अनुमान गरिएको जनाइएको छ।
सडक पूर्वाधारको क्षति कस्तो ?
भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले बाढी र पहिरोले विशेषगरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ । महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।
यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो, जसलाई विभागले चुनौतीपूर्ण अवस्थाका बीच पन्छाएर यातायात सुचारु गरेको छ । धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको छ । त्यसैगरी, काठमाडौंबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।
सप्लाई चेनको अवस्था के हुन्छ ?
दशैँ नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभूवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ । वीपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ ।
सडक विभागका अनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ । वर्षात्को मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ ।


