काठमाडौं । रसुवाको भोटेकोशी बाढीले विश्वकै सञ्चारमाध्यमको ध्यान खिचेको छ । सीएनएनका एण्डरसन कुपरदेखि भारतीय पत्रकार श्वेता सिंह र बर्खा दत्तसम्म प्रभावित क्षेत्रमा पुगेर विपत्तिको भयावह दृश्य विश्वसामु प्रस्तुत गरिरहेका छन् ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई मात्रै स्तब्ध बनाएन । विश्वको ध्यानसमेत यो हिमाली विपत्तितर्फ खिचेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङका बस्ती, सडक, पुल तथा जलविद्युत् संरचनामा ठूलो क्षति पु¥याएपछि विश्वका ठूला सञ्चारमाध्यमले यो घटनालाई प्राथमिकताका साथ कभर गरिरहेका छन् ।
कतिपय विश्व चर्चित अन्तर्राष्ट्रिय पत्रकार आफैं प्रभावित क्षेत्रमा पुगेर नेपालको विपत्तिको कथा संसारलाई सुनाइरहेका छन्, दृश्य देखाइरहेका छन् । यसमा सबैभन्दा चर्चित नाम हो—सीएनएनका प्राइम टाइम एंकर एन्डरसन कुपर । सीएनएनको एण्डरसन कुपर ३६० डिग्रीका एंकर कुपर आफैं रसुवा पुगे ।
भदौ १० गते विहानसम्म व्यापारिक चहलपहलले भरिएको स्याफ्रुबेस् िबजार अहिले बाढीको लेदो, ढुंगा र भग्नावशेषमा परिणत भएको दृश्य उनले विश्वसामु प्रस्तुत गरे । उनले बाढीले बजारदेखि तिब्बततर्फ जाने महत्वपूर्ण सडकसम्म कसरी बगाएको छ भन्ने प्रत्यक्ष देखाए । यहाँका स्थानीयदेखि व्यवसायी र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत सम्वाद गरे ।
नेपालको विपत्तिलाई विश्वसामु पु¥याउने अर्को चर्चित अन्तराष्ट्रिय पत्रकार हुन द गार्डियनकी दक्षिण एसिया संवाददाता हन्ना एलिस–पिटरसन । उनले बिदुर र प्रभावित क्षेत्रमा पुगेर बाढीबाट घरबार गुमाएका परिवार, हराइरहेका आफन्त र उद्धारको कठिन अवस्थाबारे रिपोर्टिङ गरेकी छन् ।
उनका रिपोर्टहरुले विपत्तिको तथ्यांकभन्दा पर पुगेर पीडितको मानवीय कथा संसारसामु ल्याएको छ । भारतबाट पनि चर्चित पत्रकारहरूको रसुवा बाढी प्रभावित क्षेत्रमा पुगे । आजतककी श्वेता सिंह नेपाल आएर बैरनी, धादिङ हँुदै ग्राउन्ड रिपोर्टिङ गरिन् । उनले रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रलाई बाढीले पारेको भयावह क्षति आफ्नो रिपोर्टमार्फत देखाएकी छन् ।
त्यस्तै अर्की चर्चित भारतीय पत्रकार बर्खा दत्त पनि नेपाल आएर प्रभावित क्षेत्रबाट रिपोर्टिङ गरिरहेकी छन् । द मोजो स्टोरीका लागि उनले त्रिशूली हुँदै रसुवातर्फको कठिन यात्रा, ध्वस्त सडक तथा जलविद्युत् क्षेत्रको अवस्थालाई नजिकबाट देखाएकी छन् ।
यी बाहेक द न्युयोर्क टाइम्सका अनुप्रिता दास, द इन्डिपेन्डेन्टकी अलिषा रहमान सरकार, द वासिङ्टन पोस्ट तथा चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी र सिन्ह्वाले पनि यस विपद्लाई विश्वभर व्यापक रूपमा आ–आफ्नो सञ्चारमाध्यमबाट व्यापक सम्प्रेशण गरेका छन् । भारतीय सञ्चारमाध्यमहरु एनडीटीभी, आजतक, टाइम्स अफ इन्डियाले पनि बाढी प्रभावित क्षेत्रमै पुगेर रिपोर्टिङ गरिरहेका छन् ।
त्यसैगरी टाइम्स अफ इन्डियाले भने कैलाश मानसरोवर यात्रामा आएका भारतीय तीर्थयात्री तथा पर्यटकको सुरक्षा र भौतिक क्षतिलाई मुख्य प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरेको थियो ।
जलवायू परिवर्तनको असरका कारण आएको रसुवाको विनाशकारी बाढीलाई विश्वकै लागि चेतावनीका रुपमा लिदै संसारभरका टेलिभिजन, अखबार र डिजिटल मिडियाहरुले स्याफ्रुबेसीका भग्नावशेषदेखि सुरुङभित्र हराइरहेका कामदारसम्मको दृश्य विश्व समुदायलाई देखाइरहेका छन् ।
विश्वका चर्चित पत्रकारहरू प्रभावित क्षेत्रमा पुगेर देखाइरहेको साझा दृश्यले नेपालले भोगेको यो विपत्ति कति ठूलो छ भन्ने मात्र होइन, हिमाली क्षेत्रमा जलवायुजन्य विपत्तिको जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने विषयलाई पनि अन्तराष्ट्रियकरण गरेका छन् ।


