News 24 Television
बाढी प्रभावितको पुनस्र्थापनाका लागि मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र बतास फाउन्डेसनद्वारा सहकार्य घोषणा

कास्की । रसुवागढी नाकासहित विभिन्न क्षेत्रमा हालै गएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित परिवार तथा बालबालिकाको दीर्घकालीन पुनस्र्थापनाका लागि भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र नेपालको बतास फाउन्डेसनले एक महत्वपूर्ण मानवीय सहकार्यको घोषणा गरेका छन्। 

प्राकृतिक प्रकोपपछि उद्धार, खाना, औषधि र अस्थायी बासजस्ता तत्कालका आवश्यकताहरू पूरा भए पनि बाढीले बासस्थान, आम्दानीका स्रोत र बालबालिकाको शिक्षामा पुर्‍याएको दीर्घकालीन असरलाई मध्यनजर गर्दै यो पहल सुरु गरिएको हो।

यस सहकार्य अन्तर्गत प्रकोपका कारण आफ्ना अभिभावक गुमाएका र अत्यन्त कमजोर आर्थिक तथा सामाजिक अवस्थामा पुगेका १०० भन्दा बढी बालबालिकाको उच्च शिक्षा, आत्मनिर्भता र उज्ज्वल भविष्य सुनिश्चित गर्ने मुख्य लक्ष्य लिइएको छ। दुवै संस्थाको यो संयुक्त विश्वास छ कि राहतले तत्कालको पीडा मात्र कम गर्छ भने शिक्षाले जीवनको दिशा नै बदल्न सक्छ। त्यसैले आर्थिक कठिनािका कारण कुनै पनि बालबालिकाले विद्यालय वा उच्च शिक्षा छाड्नु नपरोस् भनी यो कार्यक्रमलाई छात्रवृत्तिभन्दा माथि उठेर एक दीर्घकालीन मानवीय लगानीको रूपमा डिजाइन गरिएको छ।

विश्वविख्यात भौतिकशास्त्री, लेजर वैज्ञानिक तथा परोपकारी डा। मणिलाल भौमिकको मानवीय दर्शनबाट प्रेरित डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन शिक्षा, स्वास्थ्य र प्रकोप व्यवस्थापनका क्षेत्रमा कार्यरत छ भने, बतास फाउन्डेसनले नेपालमा सीमान्तकृत समुदायको सशक्तिकरण र विपद् राहतमा सक्रिय भूमिका खेल्दै आएको छ। 

भारत र नेपालबीचको ऐतिहासिक मित्रता र साझा मानवीय भावना झल्काउने यो सहकार्यले सङ्कटमा सहयोग, पुनस्र्थापनामा सहकार्य, र भविष्य निर्माणप्रतिको प्रतिबद्धता भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै एउटा बालबालिकाको भविष्य सुरक्षित गरेर सम्पूर्ण पुस्ताको भविष्य बचाउने दृढ अङ्गीकार गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update