News 24 Television
सञ्जयको जिवितै उद्दारले घरपरिवारमा छायो खुशीयाली

सप्तरी । रसुवामा आएको बाढीपछि सप्तरीको संजय साहको परिवारले आज राहतको श्वास फेरेका छन् । दशौ दिन बिहान संजय टनेलबाट जिवित उद्धार भएपछि परिवारमा आशा जागेको छ । सञ्जयका बुबा छोराको उद्दारको खबर पाउने बित्तिकै काठमाडौँ आइपुगेका छन् भने आमा घरमा उनको बाटो कुरिरहेकी छन् ।  

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४स्थित संजय साहको परिवारमा शुक्रवार १० औं दिन खुसीको क्षण बनेको छ । शुक्रबार बिहान टनेलबाट संजयको जिवित उद्धार भएपछि परिवारमा आशा जागेको हो । 

रसुवामा बुधबार आएको बाढीले परिवारबाट सम्पर्क बिहिन भएका संजयको शुक्रबार उद्धार गरिएको खबर पाएपछि बुबा उनलाई भेटन काठमाडौं आइ पुगेका छन् भने आमा छोराको प्रतीक्षामा घरमै छिन् । 

शुक्रबार बिहान संचारमाध्यमबाट संजयको उद्धार भएको खबर पाएपछि उनको घरमा आफन्तको भीड लागेको छ । उद्धार भएपछि एक मिनेट मात्रै परिवारका सदस्यसँग संजयले कुरा गरेका छन्  । तर त्यो एक मिनेटले परिवारमा उत्साह थपेको छ । बिहान कल गरेर दाईले आफु ठीक रहेको सुनाएपछि उनका भाइ बबलु साहले दगुर्दै सबैलाई खुशीको खबर सुनाए ।

तीन सालदेखि त्यहाँ कार्यरत उनी बुधबार बिहान भिडियो कल गरेर काम गरिरहेको भिडियो देखाइरहँदा अचानक फोन काटिएको थियो । केहि समस्याले फोन काट्यो होला सोचेर परिवार थिए तर त्यसपछि बाढी आएको खबर पाएपछि उनीहरु ठूलो चिन्तामा परे । तर प्रहरीलाई जानकारी गराउन र समयलाई कुर्नुभन्दा उनीहरूसँग केही विकल्प थिएन । संजय उद्दार भएपछि उनीहरूले सरकारलाई धन्यवाद दिएका छन् भने अन्य पनि सुरङ्गमा जिवित रहेको व्यक्तिको उद्दार गर्न आग्रह गरेका छन् । 

रसुवा बाढीपछि सप्तरीबाट ५२ जना सम्पर्क बिहिन बनेको प्रहरीको तथ्यांक रहेको छ । जसमा संजयसहित पाँच जना सम्पर्कमा आएका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जना सकुशल भेटिएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update