News 24 Television
संकटमा मूल्य वृद्धि, सरकारी अधिकारी आफ्नै वचाउमाः विद्युत अनियमित हुँदा संकट गहिरिदै

काठमाडौं । नेपालमा आपूर्ति सहजता पछिल्लो समय गम्भीर बन्दै गएको छ। अत्यावश्यक सामाग्रीको बजारमा देखिने अभाव, मूल्यवृद्धि र सर्वसाधारणलाई पर्ने मर्कामा राज्यविहीनता जस्तो देखिने प्रवृत्तिले नागरिक आक्रान्त बन्न पुगेका छन्। बाढीअघि नै बजारमा चरम अभाव देखिएको ग्यास बाढीपछि भने भयावह नै बनिरहेको छ। व्यवसायीहरुले एकतर्फी मूल्य वबढाएका छन्। तर, सरकारले के गर्छ भन्न सकिने स्थिति देखिन्न। 

ग्यास अभावमा कारण धेरै होटेल व्यवसायहरु बन्दको अवस्थामा पुगेका छन्। ग्यास नभएपछि होटेल व्यवसायीहरुले व्यवसाय नै बन्द गर्न थालेका छन्। 

यसैपनि साढे २ सय सिलिण्डर राख्दा अपराधिकरण गर्ने सरकारी मानसिकताका कारण पनि त्रास व्यवसायीमा देखिन्छ। यस्तोमा पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढीका कारण कृष्णभीर लगायतको क्षेत्रको अवरुद्धले गर्दा व्यवसायीहरुले ग्यासको मूल्य बढाएको घोषणा गरे। तर, उनीहरुले सरकारसंग कुनै समन्वय भने गरेनन्। त्यसपछि चर्किएको बहसको केन्द्रमा छ, ग्यासको मूल्यवृद्धि किन, कसरी र के का लागि ? तर, सरकारी अधिकारीहरु भने मूल्यवृद्धिलाई स्वीकार गर्न तयार देखिन्नन्। उनीहरुले अन्य सामाग्रीको तुलनामा ग्यासको मूल्य सस्तो नै भएको दाबी गरिरहेका छन्।

सरकारी निकायले गर्ने दाबीभन्दा बरु व्यवसायीहरु नै सर्वसाधारणलाई धेरै मार पार्न नहुनेमा सचेत हुनुपर्नेमा जोड दिइरहेका छन्। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकमा देखिएको ग्यास र अन्य अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकार र सरोकारवाला निकायले विशेष कदम चाल्नुपर्ने देख्छन्।

सरकारी अधिकारीहरुबीच आफ्नो अभिव्यक्तिमा कसरी बलियो पेश हुने भन्ने होड जस्तो देखिने अवस्था पनि बनेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी भने संकटमा अभाव सिर्जना गराउने र गलत गर्नेमाथि कारबाही हुने चेतावनी दिन्छन्।

बजारमा देखिएको मूल्य वृद्धिबोर बोल्दै नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभई बाध्यात्मक परिस्थितिको उपज भएको दाबी गरिरहेका छन्।

मानव अधिकारकर्मी, व्यवसायीहरुको छाता संगठनका नेताहरुले भने सर्वसाधारणलाई संकटमा मर्का पार्न नहुनेमा जोड दिइरहेका छन्। सेवाभाव पनि राख्नुपर्नेमा उनीहरुको जोड देखिन्छ। 

ग्यासको मूल्य वृद्धिमात्रै भएको छैन, बजारमा ग्यासको हाहाकार समेत देखिएको छ। खाली सिलिण्डर बोकेर भौतारिनेहरुको कमी छैन्। यस्तोमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसद खुलेपछि देखाउने चेतावनी नै दिएका छन भने प्रमुख प्रतिपक्षी दलका सांसदले भने मूल्य वृद्धि आपत्तिजनक रहेको भनेका छन्। 

बजारमा ग्यासको अभाव चरम बनेको छ भने विद्युत समेत नियमित छैन्। यसैपनि बाढीका कारण रसुवा नुवाकोट क्षेत्रका विद्युत परियोजनाबाट ३५९ मेघावाट विद्युत प्रणालीबाहिर छ भने सञ्चालनमा आउने तयारीमा रहेका र अन्य गरेर ३४२ मेगावाट बढि विद्युत आयोजना प्रभावित बनेका छन्। यसले पनि विद्युतीय चुल्होको प्रयोग कठिन बनिरहेको छ। 

जसकारण बजारमा देखिएको ग्यास अभावलाई सकारले समयमै सन्तुलन कायम गर्ने योजना निर्माण गर्न नसक्दा संकट थप भयावह बन्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update