News 24 Television
बाढीको एघारौं दिनमा पनि जिवित भेटिएपछि परिवारमा झिनो आशा

काठमाडौं । भोटेकोशीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युतको सुरुङ र बाढीले क्षति पु¥याएको घरबाट गरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ । दशौं दिनमा त्रिशुली ३ ए बाट दुई जनाको उद्धार भएको थियो भने शनिवार अप्पर त्रिशुली १ बाट एक विदेशी नागरिक र रसुवाको बेत्रावतीको पक्की घरबाट एक महिलाको जीवितै उद्धार गरिएको हो । 

भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीको एघारौं दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ । बाढीले ११ वटा जलविद्युत् आयोजनामा तथा हजारौं घरहरुमा क्षति पुर्याएको छ । बाढीले सयौँ श्रमिक कर्मचारी तथा आमम नागरिकहरुको अवस्था अझै अज्ञात छ । सुरुङ, भूमिगत विद्युत् गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । 

बाढीले ११ जलविद्युत् आयोजना र एक सौर्य आयोजनामा क्षति पुगेको छ भने आयोजनाबाट कर्मचारीसहित ९ सय ४१ जना सम्पर्कविहीन छन् । आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्राविधिकहरू खटिएका छन् । 

केही सुरुङमा चिनियाँ, कोरियन र भारतीय टोलीले उद्धारको काम गरिरहेका छन् । एघारौं दिनसम्म पनि नभेटिएपछि कतिपय बेपत्ता परिवारले कुशको शव बनाएर दाहसंस्कारको कार्य गरिसकेका छन् । तर बाढीको एघारौं दिन शनिवार अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिक र बेत्रावतीको एक पक्की घरबाट स्थानीय ५५ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ ।

बाढीको दशौं दिन शुक्रबार त्रिशुली ३ ए बाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । उद्धार गरिएका चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सुरङमा अझै धेरै मानिसहरू फसिरहेको हुन सक्ने भएकाले सुरक्षाकर्मी र प्राविधिकहरुले खोजी प्रक्रिया जारी राखेका छन् । सुरुङको जटिलताका कारण धेरै स्थानमा उद्धारकर्ताहरू अझै पुग्न सकेका छैनन् ।

त्रिशूली–थ्री ‘ए’ को अवस्था

नेपाली सेनाका अनुसार त्रिशूली–३ ए मा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी उद्धारको कार्य भइरहेको छ । टोलीले पाँचवटा एस्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरेर सुरुङको आउटलेटमा भरिएको लेदो, ढुंगा र बालुवा हटाउँदै करिब ३० मिटरभित्र प्रवेश गरेको थियो । सुरुङभित्र ठूलो ढुंगा भेटिएपछि त्यसलाई ब्लास्टिङ गरी बाटो खुलाउने र सुरुङ सफा गर्ने काम भइरहेको छ । 

यसअघि पनि सेनाको टोलीले सुरुङमा जमेको पानी, माटो तथा ढुंगा हटाउँदै भित्र पस्ने बाटो बनाएको थियो । दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै जोखिमपूर्ण छ । बाढीले ल्याएको लेदो, ढुंगा र बालुवाका कारण सुरुङका कतिपय भागमा मेसिन तथा उद्धार टोली पु¥याउनै कठिन भइरहेको छ । 

त्रिशुली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहिन रहेकोमा २ जनाको जीवितै उद्धार गरिएको छ भने १ जनाको शव फेला परेको छ । अझै ३९ जना सम्पर्कविहिन छन् ।

त्रिशूली–थ्री ‘बी’ को अवस्था 

निर्माणाधीन माथिल्लो त्रिशूली–३ बी आयोजनामा उद्धार टोलीलाई घटनास्थलसम्म पु¥याउने उपकरण र बाटो व्यवस्थापन मुख्य चुनौती बनेको छ । नेपाली सेनाका ८९ जना, तीन गैर सैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान गरेको छ । तर ती संरचनासम्म पुग्ने बाटो बाढीले तहसनहस पारेकाले एस्काभेटरबाट बाटो खन्ने र लेदो माटो तथा ढुंगा पन्छाउने काम भइरहेको छ । 

त्रिशूली–३ बी मा १९१ जना सम्पर्कविहीन छन् । जसमा फेवा कन्स्ट्रक्सनका १४१ जना, त्रिशूली जलविद्युत कम्पनीका २१ जना, कर्मचारी परिवार ७ जना, परामर्शदाता १२ जना, सुरक्षा गार्ड १ जना र काठमाडौं विश्वविद्यालयबाट इन्र्टनसिप गर्न गएका ३ जना विद्यार्थी रहेका छन् । सुरुङमा काम गरिरहेका २३ जना सुरुङभित्र धेरै हिलो तथा लेदो नपस्दै सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।

लाङटाङ खोला जलविद्युत् आयोजना

रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा भने सुरुङभित्रबाट दुई शव फेला परिसकेका छन् । नेपाली सेनाका अनुसार २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिसकेको छ । अर्को सेगमेन्टमा समेत प्रवेश गर्ने तयारी भइरहेको छ । 

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट बिहिवार दुई शव सुरुङभित्रैबाट निकालिएको थियो ।उद्धार टोलीले सुरुङभित्र थप व्यक्ति वा उनीहरूका अवस्थाबारे जानकारी लिन विभिन्न क्यामरा तथा उपकरण प्रयोग गरिरहेको छ ।सुरुङभित्रको संरचना, पानीको बहाव र ढुंगा–माटोको प्रभावका कारण खोजी अत्यन्त जोखिमपूर्ण बनेको छ । यो आयोजनाबाट अझै ३९ जना सम्पर्कविहीन छन् ।

माथिल्लो त्रिशूली–१ मा पनि खोजी जारी

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा पनि खोजी जारी छ ।नेपाली सेनाका अनुसार आयोजनाका तीन जना इन्जिनियरसहितको टोलीले पहुँच टनेलबाट रबर बोट प्रयोग गरी करिब २०० मिटरभित्र पुगेपछि टनेलको बन्द भाग फेला पारेको थियो। त्यहाँबाट एक शव समेत फेला परेको छ ।अडिट टनेल–३ मा भने करिब १.८ किलोमिटरसम्म पुगेर खोजी गरिएको छ ।

टनेलको कतिपय भागमा तीनदेखि चार मिटरसम्म लेदो जमेको थियो ।उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, कोरियाली, शेर्पा, ड्रोन टिम लगायतले विशेष क्यामेरा र तालिम प्राप्त कुकुर समेत लगेर खोजी कार्य जारी राखेको छ । आयोजनामा कार्यरत ५५७ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन् । 

बाढी आउनुअघिसम्म १ हजार ४ सय ३३ जना कार्यरत थिए । ति मध्ये बाँकीको उद्धार गरिसकिएको छ । एनडब्लूईडीसीका १५ जना, परामर्शदाता जेड कन्सल्टका ७ जना, मुख्य ठेकेदार डुसानका ५६ जना, सिभिल ठेकेदार पावर चाइनाका ३८५ जना र इलेक्ट्रोमेकालिकल ठेदार एन्ड्रिज हाइड्रोका ९४ जना रहेका छन् ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा पनि उद्धार जारी

२० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ । सुरुङको कतिपय भाग पूर्णरूपमा टालिएको अवस्थामा भेटिएकाले भित्र पस्ने काम चुनौतीपूर्ण बनेको छ ।नदीमा बालुवा, हिलो र लेदो थुप्रिँदा पानीको सतह १० मिटरसम्म बढेको छ ।

सञ्चालनमा रहेको चिलिमेबाट ६ जना सम्पर्कविहीन छन् ।उनीहरू भूमिगत विद्युत् गृहमा फसेको अनुमान गरिएको छ ।कठिनाइका कारण कसैको पनि उद्धार हुन सकेको छैन । साइट कार्यालयमा रहेका ७१ जना भागेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।

रसुवागढी जलविद्युत् आयोजनाको अवस्था

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा समेत खोजी जारी छ । आयोजनाका अनुसार ९३ जना सम्पर्कविहीन छन् । नदीमा पानीको सतह बढेर भूमिगत विद्युतगृहमा प्रवेश गर्ने सुरूङको मुख नजिकै हेलिकप्टर अवतरण गर्ने सुरक्षित स्थान नहुँदा विद्युतगृहभित्र फसेकाहरूको उद्धारमा कठिनाइ भइरहेको छ । 

सम्पर्कविहीन भएकाहरूमध्ये ३ देखि १४ जनासम्म भूमिगत विद्युतगृहभित्र पसेको अनुमान गरिएको छ । खोज तथा उद्धारमा मित्रराष्ट्रका विशेषज्ञ टोलीसहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको  छ । 

भोटेकोशी बाढी गएको एघारौं दिनसम्म आइपुग्दा कतिपय सुरुङभित्र प्रवेश गर्नसमेत नसकिएको अवस्था छ । त्रिशूली–३ ए बाट सञ्जय शाह र कबीर महर्जन र अपर त्रिशुली १ बाट एक चिनियाँ नागरिकको जीवितै उद्धार भएकाले सुरुङभित्र फसेका अन्य व्यक्तिका परिवारमा आशा जगाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update